अमेरिका विचार

अमेरिकामा मेरा केहि दिनहरु – चन्द्रसिं भट्टराई

chandrasbhattraiमैले अमेरिका घुम्ने सपना देखेको थिइन । मेरो राजनीतिक यात्रामा नेपाल भित्र कै सपना थियो । घटनाक्रमले कान्छो छोरा प्रवीणको आमन्त्रणमा अमेरिकाको यात्रा एउटा सुखद आश्चर्यमा रुपान्तरित हुन गयो ।

टीकापुर, कैलालीबाट काठमाडौं हुदैअमेरिकाको कोलोराडो राज्यको डेनभर, नर्थग्लेन सम्मको यात्रालाई रोमान्चक भन्न सुहाउँछ , तर सुखद होइन । किनभने पट्यार लाग्दो प्लेनको बसाइ, चीनको ग्वान्झाओ र वुहान दुइ वटा एयरपोर्ट र अमेरिकाको सानफ्रान्सिस्को हुंदै डेनभरका लागि प्लेनमा स्थान्तरण हुन र त्यसका लागि विभिन्न अनिबार्य प्रकृयाहरुमा भाषागत समस्याले पनि सहज थिएन । भोजनको सन्दर्भमा आफ्नो शाकाहारी भएकोले काठमाडौंबाट हिडेको भोली पल्ट राति एक छाक मात्र केहि खान सकें । त्यही पनि प्रत्येक ठाउँमा संयोगले सहयोगी स्वभावका सहयात्री तथा एयरपोर्टका कर्मचरीहरुको मैत्रीपूर्ण व्यवहारले यात्राको असहजतालाई झर्को लाग्दो बनाएको थिएन । सानफ्रान्सिस्कोको एयरपोर्टबाट डेनभरका लागि प्रस्थान बिन्दुमा पुग्न पनि एउटा अमेरिकन महिलाको सहयोगले इलेट्रिक भर्‍याङ ओर्लन सहज भएको थियो । त्यस पछि दक्षिण भाषी कर्मचारीको सहयोगले गर्दा डेनभरका लागि बोर्डिङ पास पाउन सहज भएको थियो । सोही ठाउँमा धेरै थकाइ लागेकोले केहि पुनर्ताजगीका लागि चियाको अर्डर गरें। चिनी रहित चियाको सेवाशुल्क ३ डलर प्रतिकप तिर्नु पर्दा त्यो घटना अविष्मरणीय भएको छ ।

सान-फ्रान्सिस्कोबाट डेनभर आउँदा एउटा आकर्षक स्वर समेत भएकी तरुनी चिनियाँ महिला सहयात्रीको सामिप्य र तिनीको मैत्रीपूर्ण भलाकुसारीले लामो, उराठलाग्दो यात्राको सुखद समापनको अनुभूति अद्यापि छ । तिनकै फोनबाट प्रवीण छोरासंग सम्पर्क सम्भव भयो । कुनै सेमिनारमा सहभागी हुने उदेश्यले हिडेकी तिनी पेशाले शिक्षिका र अविबाहित पनि रहिछन्। डेनभर एयरपोर्टमा आफ्नो सामान बुझ्ने ठाउँमा पुग्नको लागि पनि एउटा ट्रेनको व्यवस्था भएको देख्दा पनि आश्चर्य नमानेको होइन । १०-१२ मिनेटमा गन्तव्यमा पुग्दा पनि एकजना विदेशी भलाद्मीले हामीलाई मद्धत गरेका थिए । तर ५०-६० पाइला हिड्दा स्वागतमा आएका छोरा प्रवीण र बुहारीलाई टाढैबाट हातमा फूलदस्ता लिएर उभिएको देख्दा सबै थकाई बिर्सिएर सम्पूर्ण शरीर पुलकित हुँदै रोमान्चित भयो । यसै क्रममा मध्य रातमा छोरा नै चालक भएर निजको गाडीमा सपत्नी गन्तव्यमा पुग्न पाउनु सुखद क्षण हुन्।

डेनभरको पश्चिमोत्तरमा रकी पर्बत श्रृखंला रहेको छ । यसैको दृश्यावलोकनको लागि पर्यटकीय क्षेत्रको रुपमा चर्चित रहेकोले हामी पनि गयौं । तर पनि अहिले पर्यटनको मौसम नरहेकोले त्यति घुइँचो थिएन । हामी स्वयं पनि आफ्नो देशमा मुस्ताङ जस्ता हिमाली क्षेत्रको भ्रमण गरि सकेका हुनाले बढी समय घुम्ने आकर्षण थिएन । त्यसैेले सामान्य दृश्यावलेकन मात्र भयो । पछि नेपाली मूलका धरानका भू.पू. सैनिकको होटलमा खाना खायौं । भोजन पछि होटल मालिकले आफ्नो फोटो संग्रह देखाउँदा थाहा भयो – कुनै समय ने.का.का पूर्ब सभापति तथा पूर्ब प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला, यसैगरी शुशील कोइराला, पूर्व उप प्र.म. रामचन्द्र पौडेल, पूर्ब सभामूख तारानाथ रानाभाट, पूर्व मन्त्री महेश आचार्य लगायतले त्यहाँ भोजन गरेका रहेछन्।

डेनवर आएको भोलि पल्ट नै संन्ध्यामा कैलाली झुंगा(बौनिया) निवासी गोविन्द श्रेष्ठको ८ वर्षको नाति आर्यन श्रेष्ठको जन्म दिनको सानो भोजमा सहभागी हुने अवसर जुर्‍यो। त्यसमा उल्लेखनीय कुरा २ जना सहभागी महिला कलाकार उषा किरण अधिकारी र शान्ता श्रेष्ठको सुमधुर स्वरमा नेपाली गीत सुन्न पाइयो । उहाँहरु स्वयं नै कीबोर्डबादनमा सिद्धदस्त हुनुहुदो रहेछ । एकजना स्थानीय कविको गजल र मुक्तक बाचनले भोजलाई साहित्यमयता प्रदान गरेको थियो । मेरो छोरा सहित अरु २ जना यूवाहरुको आधुनिक शैलीको गायनले एउटा रिक्तता सौँदर्यमय बनायो । लामो समयको अन्तरालमा मैले पनि २ वटा भजनहरु गाएँ । केहि समयका लागि हाम्रो कोठाको नेपालीमय वातावरणले हामी सात समूद्र पारी छैनौं भन्ने मीठो सपना देखाएको थियो ।

गत ८ नोभेम्बरमा अमेरिकाको राष्ट्रपतिको निर्वाचनको तिथि रहेछ । संयोगले यो अवस्थामा अमेरिकाको संचार माध्यमहरुले रिपब्लिकन र डेमोक्राट उम्मेदवारले गरेका आकर्षक आधुनिक प्रचार शैली मननशील थियो । तर उम्मेदवारका रुपमा डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनको पक्ष–विपक्षमा उठाइएका विषयहरु प्रकारान्तरले बुझ्नेहरुका लागि प्रयाप्त रहेछ । वरु यहाँको एउटा भित्ते लेखनले प्रेरणादायी सन्देश दिइरहेको छ – राजनेताहरुले भाषण गर्छन तर त्यसलाई कार्यान्वयन गराउनु नागरिकको दायित्व हो । त्यसैले बाटो वा चोकहरुमा सैनिक प्रहरी नदेखिए तापनि ट्राफिक नियमको पालनामा कसैबाट अवज्ञा भएका उदाहरण न्यून मात्रामा देखिन्थ्यो । कारण रहेछ – सी.सी. क्यामराहरुको माध्मबाट ट्राफिक अपराधको दण्ड दोषी व्यक्तिको घरमा विल भूक्तानी आदेशको रुपमा कागज पुगी सक्दो रहेछ ।

अमेरिकाको स्थापना तथा यसको बैभव र शक्तिका जनक जर्ज बासिंटन, थमस जेफर्सन, अब्राहम लिंकन र थियाडोर रुजबेल्ट हुन्। त्यसैले तिनीहरुको ऋणलाई आत्मसात गर्दै प्रसिद्ध मूर्तिकार गुटजन बर्गलम र अरु ४०० सहभागीहरुको अथक प्रयासले १४ वर्ष लगाएर रशमोर पर्वतको एउटा टाकुरालाई कुँदेर विशाल प्रतिमा बनाएका हुन्। हाल त्यो ठाउँ तीर्थस्थल जस्तो हुन पुगेको छ । ती महान अमेरिकी पुर्खाहरुको दूरदृष्टि, विशाल मानवीय दृटिकोण र लोकतन्त्र प्रतिको अदम्य आस्थाका कारणले अमेरिका आज विश्वमा प्रथम पंक्तिमा रहेको छ ।

भट्टराई ने.का.पूर्व केन्द्रिय सदस्य एवं पूर्व उर्जा राज्य मन्त्री हुन

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.