अमेरिका विचार

अमेरिकामा केही अविस्मरणीय क्षणहरुः चन्द्रसिहं भट्टराई

पछाडि फर्केर हेर्दा श्रीमति जी आउदै गर्दा ट्रेनको अटोमेटिक ढोका बन्द भयो । मैले झ्यालको शिशाबाट हात हल्लाएँ...

छोरा प्रवीण र बुहारी पुनमायाले निम्तो सहित अमेरिका भ्रमणको टिकट चाइना सदर्न एयरलाइन्सबाट लिंदा आगामी १२ अप्रिल अपरान्ह ५ बजे आफ्नो देश फर्कने दिन रहेछ । विगतका ७४ वर्ष सपना झै लाग्दैछ भने वितेका यी ५ महीना हेर्दा हेर्दै वित्यो भन्नु अतिरन्जित होवैन । जगत गुरु शंकराचार्य ३२ वर्षमा र स्वामी विबेकानन्द ३९ वर्षको उमेरमा देह त्याग गर्नु भएको थियो । यसबाट लामो जीवन भन्दा उपलब्धि मूलक जीवनको महत्व रहेछ भन्ने बुझ्नु पर्ने हुन्छ ।

काठमाडौं खुर्सानीटार लाजिम्पाट निवासी मेरा बाल्यसखा गेहेन्द्र शाही की छोरी न्यूयोर्क बस्ने दिब्या शाहीले मेरो छोराको डि.भी. पर्दा स्पोन्सर गरेकी थिइन् । त्यसैले उनीसंग भेटेर कृतज्ञता प्रकट गर्नु मेरो कर्तव्य थियो । भेटको क्रममा संगै बस्ने भाई गेहेन्द्र शाहीका छोरा ज्ञानेन्द्र शाहीसंग पनि भेट भयो । साथै न्यूयोर्क डाउनटाउन घुमाइदिने प्रस्ताव गरें । त्यसको एक दिन अघि नेपाली काँग्रेस अमेरिका जनसम्पर्क समितिका सभापति आनन्द विष्टको आमन्त्रणमा उहाँको आतिथ्य ग्रहण गरी फर्की सकेका थियौं । सोही समयमा कैलाली क्षेत्र नं ६ का ने.का.नेता रामचन्द्र ओझा र उहाँका छोरा नवीन ओझासंग पनि भेट भएको थियो।

न्यूयोर्कको भ्रमण क्रममा पूर्व प्रम एबं पार्टी सभापति शुशील कोइरालाकी तत्कालिन सल्लाहकार मृदुला कोइरालासंग फोन सम्पर्क गरेर ज्याक्सन हाइटमा भेट भयो । चियापानको क्रममा नेपाली काँग्रेस बारे चिन्ता प्रकट गर्नु भयो । तर चिन्तासंगै त्यसका लागि हामी कृयाशील हुनु पर्ने भन्ने विचार राख्दै विदा भएँ । ज्याक्सन हाइटमा केहि नेपालीका पनि पसल रहेछन् भन्ने सुनें । मूख्य सडक माथि ट्रेन हिडेको दृश्य देखिनु हाम्रो लागि एउटा आश्चर्य जस्तै थियो । यहाँ बाटोमा हिड्दा सामान्यतः महिला पुरुषले मुस्कुराएर अभिवादन गर्ने, “हाई” भन्ने चलन पनि अनुकरणीय रमाइलो अनुभव हो । सडकको पेटीमा हिड्दै कराउँदै फाट्ट फुट्ट हक्क्ररले हात र काँध मै सामान बोकेर बेच्ने गरेको दृश्यले काठमाडौं र लखनौंका फेरीवालको स्मृति गराएको थियो । बाटोमा प्लेकार्ड सहित सहयोगको याचना गर्दै उभिएका दृश्य कहिले काही देखिनु विस्मित हुने कुरा रहेनछ ।

यस्तै एका विहान ट्रेनबाट न्यूयोर्कको भ्रमणको क्रममा थियौं । केहि विद्यार्थीहरु पनि थिए । १४–१५ वर्षका दुइटा विद्यार्थी केटा केटी परस्पर २–३ पटक चुम्बन आदान प्रदान गरेको दृश्य अनौठो लागे पनि यहाँका लागि सामान्य रहेछ । त्यस पछि हड्सन नदिको दृश्य रेल वे स्टेसन नजिकको पुलबाट देखेका थियौं । नदिमा केही जहाजहरु पौडिरहेको थिए । त्यहाँ हामी जेठानकी छोरी तारा क्षेत्री संगै घुम्न आएका थियौं । त्यही दिउसो भोजनोपरान्त छोरी दिब्या र छोरा ज्ञानेन्द्र शाहीसंगै डाउनटाउन भ्रमणमा निस्कियौं । गाडी हड्सन नदिको मुनी लगभग डेड माइल लामो ३ वटा शाखा भएको लिंकन टनेल हुँदै अगाडि बढ्यो । अहिले हामी म्यानहाटनको मूख्य ठाउँहरु हेर्दै बढ्दै थियौं । यहाँ गगनचुम्बी भवनहरु छन् । अमेरिकनहरुले व्यापक मात्रामा धेरै अघिदेखि भवन निर्माण कामको स्तरियता प्रति सजगताले अद्यावधि अधिकाँश भवनहरु न्यून समस्याग्रस्त छन् । हामी मेडसन, टाइम्श स्क्वायर हुँदै ऐतिहासिक ब्रुकलिन ब्रिजको कलात्मकताको प्रशंसा गर्दै रक वे विच तिर लाग्यौं ।

हुन त ट्वीन टावर, अम्पाएर स्टेट विल्डिङ र स्वतन्त्रताको मूर्ति (Statue of liberty) घुम्ने मन भित्र चाहना राखेर आएको थिएँ । सन २००१ सेप्टेम्वर ११ को ट्वीन टावर र पेन्टागनमा आतंकबादी आक्रमणले विध्वंस सहित ३ हजार जति महिला पुरुषको निर्मम संहार भयो । खर्बौं डलरको क्षति भएको स्थलमा आकर्षक पुनर्निर्माण भएको पर्यटकीय महत्वको संरचना हेर्नु आफैमा गौरवको कुरा थियो । तर यातायातको जटिलता र समयाभावले सुअवसर छुट्यो । मुख्य सडकबाट सामान्य अवलोकन गरेर चित्त बुझायौं । न्यूयोर्कको समुन्द्र तट रक वे वीच पुग्दा साँझ परिसकेको थियो । चारैतिर बत्ती बली सकेका थिए । आज पूर्णिमाको दिन भएर होला अग्ला अग्ला छाल उठिरहेका थिए । चिसोले गर्दा वीच सुनसान थियो । छालका स्वर सुनिन्थ्यो । हामीलाई किनारमा जाने आँट आएन । पक्की डिलबाटै दृश्यावली हरी रहयौं । ईश्वरलाई स्मरण गरें । यस्तो चिसोमा पनि एक दुइ जना समुन्द्रमा डुबुल्की मारेको देख्नु विस्मयकारक थियो । हामी फर्किदा छोरा ज्ञानेन्द्र शाहीको कथनानुसार केही वर्ष अघि स्यान्डी समुन्द्री तुफानले त्यहाँ १–२ माइल समुद्री किनारको घर पसल आदि संरचनाहरु पूर्ण रुपले ध्वस्त भएका थिए । अहिले त पुनर्निर्माण भएर विजुली बत्तीको चारै तिर रौनक थियो ।

ने.का. जन सम्पर्क समिति अमेरिकाका संभव भएका साथीहरुसंग सामान्य विचार आदान प्रदानको प्रस्ताव अनुसार समितिका सभापति आनन्द विष्टको संयोजकत्वमा एउटा रेष्टुरेन्टमा चियापनको आयोजना गरिएको थियो । साथीहरुले मलाई पत्नि सहित खादा प्रदान गरेर सम्मान प्रकट गर्दा हामीले स्वभाविक रुपले खुशी प्रकट गरेका थियौं । उक्त चियापान कार्यक्रममा विचार राख्नेहरुमा सभापति आनन्द विष्ट, महासचिव मुनेन्द्र विक्रम नेवाङ, महासमिति सदस्यहरु — वेद प्रसाद खरेल, पूर्व संयोजक विष्णु सुबेदी, सचिव भोज राज ठोकर, के.स. परमान्द खनाल, न्यूयोर्क स्थित लन्गअाइल्याड च्याप्टर सभापति विश्वराज बास्तोला, न्यूयोर्क च्याप्टर महासचिव महेश मल्ल, हरीश हमाल, कृष्ण प्रसाद दाहाल, मकर बहादुर सिं, डिलेन्द्र रावल, राम चन्द्र बस्नेत, श्रीमति कला खरेल, सुभास के.सी. लगाएत पत्रकार साथी दिवाकर बागचनको पनि उपस्थिति थियो । विचार आदान प्रदान क्रममा हाम्रो विषय ने.का.लाई जनप्रिय बनाउने प्रश्न मा केन्द्रित रहेको थियो । साथीहरुले कार्यक्रम पछि भोजनको व्यवस्था पनि गरेका रहेछन्, जुन अपत्यारिलो खुशीको कुरा थियो ।

न्यूयोर्कबाट फर्किदा परमानन्दको निम्तोमा एक रात त्यहाँ वितायौं । तर विहानको भोजन पोखराका पूर्व शिक्षक विश्वराज बास्तोला —न्यूयोर्क स्थित लन्गअाइल्याड च्याप्टर अध्यक्ष, कहाँ थियो । संयोगले अमेरिकामा ब्लड डोनर भनेर प्रसिद्धि पाएका अर्जुन प्रसाद मैनालीसंग त्यहाँ भोजनमा परिचय भयो । उहाँ ब्लड डोनर अफ अमेरिकाका संस्थापक अध्यक्ष हुनुहुँदो रहेछ । विहान १० बजे एयरपोर्ट टाइम थियो, पानी पर्न शुरु गरेको थियो । त्यसैले छिटै हिड्यौं । बाटोमा खनाल जी की पत्नि रिता रिजाल र उहाँ की आमाको न्यानो आतिथ्य सम्झि रहे । त्यस्तै कैलाली चाँगाबाँणीका जीवन बम, वहाँ की पत्नि पार्वती के.सी. समेतको आग्रहपूर्वक प्रेममय आतिथ्य पनि स्मरण गरें । हतार गर्दै थिएँ, तर विलम्ब भएको रहेनछ । एकछिनमा बोर्डिङ पास लिएर प्लेन भित्र पस्यौं । तर ठीक समयमा सबै यात्रीहरु पुगी सक्दा पनि प्लेनले १ः४५ घण्टा विलम्ब गर्‍यो । कारण रहेछ — प्लेनमा बडि, रन वे र पंखाको हिउ सफा गर्दा त्यति समय लागेको रहेछ । हामी ३ः३० घण्टा को यात्रामा डेनवर पुग्यौं । प्लेनबाट ओर्लेर एयरपोर्ट भित्रको शटल ट्रेन समातेर बाहिर निस्कनाका लागि मैले ट्रेन समात्न भ्याएँ । तर पछाडि फर्केर हेर्दा श्रीमति जी आउदै गर्दा ट्रेनको अटोमेटिक ढोका बन्द भयो । मैले झ्यालको शिशाबाट हात हल्लाएँ । ट्रेन हिड्यो । म सोच्दै थिएँ । ट्रेन अगाडिको स्टेशनमा रोकियो । म ओर्लिएँं । ३–३ मिनेटमा ट्रेन आउने गरेकाले एउटा ट्रेन पर्खें । श्रीमति जी नआएको देखेर विपरित दिशाबाट आउने ट्रेन समातेर फर्किएँ । स्टेशनमा ओर्लिदा श्रीमति जी छुटेकै ठाउँमा यताउता हिलडुल नगरी चिन्तित मुद्रामा उभिइ रहेकी थिइन् । श्रीमतिको बढी चिन्ता भाषा ज्ञानको रहेछ । उहाँसंग फोन पनि थिएन । तर सबै सकुशल थियो । मैले ईश्वरलाई धन्यबाद दिएँ. ।

हामीलाई एउटा रहर स्की गर्ने ठाउँ हेर्ने थियो । यसको योजना निरन्कार पन्थ र विकल पराजुलीको थियो । त्यसैले फरवरी १८ का विहान बोल्डरबाट विकल, ग्रिलीबाट निरन्कार पन्थ र नर्थग्लेनबाट हामी सहित ३ परिवार ग्लीनउड स्प्रिङ, अस्पेनका लागि निस्कियौं । हामी स्की गर्ने ठाउँ पुग्दा अपरान्ह ४ वरिपरिको समय थियो । बाटोमा एउटा निजी एयरपोर्ट पर्दो रहेछ । स्की प्रयोजनमा आउने यात्रीहरुका लागि रहेछ । मेरो अनुमानले त्यस बेला त्यहाँ अप्रत्यासित ५० भन्दा बढी प्राइभेट प्लेन होलान् । स्की स्थलमा पुग्नु अघि हिउ पर्न शुरु भैसकेको थियो । स्कीको फिनिशिङ पोइन्टमा केवलकारको एउटा प्लान्ट रहेछ । जसबाट स्की गर्नेहरु प्रस्थान विन्दुमा पुग्ने सुविधा थियो । विकलजीको त्यही पोइन्टबाट केहि माथि पुगेर हिडेर फर्कने कुरा थियो । तर मेरो आँट थिएन । आफ्नो उमेरका साथै अभ्यासको अभावमा हिउँमा हिड्नु सम्भव थिएन । पछि कोहि गएनन् । हाम्रा सामुन्ने केही स्की गर्ने महिला पुरुषहरु फिल्म र टि.भी.मा हेरे जस्तै गरी बडो बेगले माथिबाट स्की गर्दै तल आउँदै थिए । हामीलाई विस्मित पार्दै कलात्मक ढंगले रहर लाग्ने गरी फिनिशिङ पोइन्टमा अडिन्थे । हिउँ पर्न बन्द नभएकाले हामीले आफ्नो रहर अनुसारको फोटो सेसन गरेर होटल तिर फर्किर्यौं ।

अमेरिकाको सर्वागीण संमृद्धि लोभ लाग्दो छ । तर वाह्य जगतमा सामान्य नेपाली आँखाले अमेरिकी समाज पतनोन्मुख जस्तो देखिन्छ । तर यो समाजलाई स्वस्थ सोच र रचनात्मक कार्यशैली प्रति अभिप्ररित गर्न यहाँका सामाजिक अभियन्ताहरु सकृय छन् । यसको उदारहण 9 News TV Channel बाट हप्ताको ५ दिन प्रस्तावित Steve Harvey को विहान ९ः००–१०ः०० र T.D. Jakes को विहान १०ः००–११ः०० को कार्यक्रमले स्पष्ट गर्दछ । यी कार्यक्रमहरुमा विभिन्न क्षेत्रका विद्यार्थी, महिला, पूरुष, सबै वर्गलाई सकाराम्क सोच प्रति प्रेरित गर्न प्रभावकारी प्रस्तुति दर्शनीय र अनुकरणीय छ । समयको सटिक संयोजनले गर्दा दर्शकहरुलाई झर्को लाग्ने देखिन्न । कार्यक्रममा आमन्त्रित गरिएका केही समस्याग्रस्त सहभागीहरुलाई अवस्था हेरेर ५–१० हजार डलर सम्म सहयोग गरेको देखेछु भने केहीलाई प्रोत्साहन स्वरुप विभिन्न रिसोर्ट र होटलहरुमा २–३ दिन निशुल्क आनन्द लिने अवसर प्रदान गर्ने गरिएको छ । केही आमन्त्रित लेखकहरुको पुस्तक बारे संचालक बाटै साराँश उल्लेख गरिएर प्रचारार्थ सहभागीहरुलाई वितरित गरिएको पनि देख्न पाउँछौं । केही विछोड भएका परिवारका व्यक्तिहरुको पुनर्मिलन, पारिवारिक सम्वन्ध विगारेकी आमा–छोरी, बाबु–छोराको पुनर्मिलन जस्ता अति संबेदनशील विषयलाई T.D. Jakes र Steve Harvey ले सफल समाधान प्रस्तुत गर्ने गरेका छन् । यस्तै अपाँगले पनि जीवनमा महत्वपूर्ण काम गर्न सक्ने, छोरा–छोरीका लागि योग्य आमा–बुवा र अभिभावकको भूमिका निर्वाह गर्ने, विद्यालयमा यौन अपराध गर्न निरुत्साहित गर्ने, साइवर अपराध, स्वस्थ प्रणय जीवन, आदर्श परिणय सम्वन्ध, सफल खेलाडी, कलाकार, Tyler Perry जस्ता अभिनेता र Nancy Grace जस्ती अभिनेत्रीको साक्षात्कार प्रस्तुति प्रशंसनीय छ । अमेरिकामा T.D. Jakes र Steve Harvey को कार्यक्रमको लोकप्रियता दिनानुदिन विस्तार भैरहेको कुरा समय समयको सहभागीहरुको कलरव ध्वनी सहितको उपस्थितिले प्रमाणित गर्दछ । T.D. Jakes को One moment can change the rest को जस्तो शैली संसारमा विरलै प्रस्तुति होला भन्ने लाग्दछ । Jakes को शैली विचार प्रधान छ भने Harvey को शैली मनोरन्जन प्रधान रहेको छ ।

गत जनवरी १५ मा टेक्सासको डलास डाउनटाउनको परिक्रमा अनिल ओझा र भोला नेपालसंग गरेको थिएँ । अमेरिकाका लोकप्रिय ३५ आैं राष्ट्रपति जे.एफ. केनेडीको जघन्य हत्या डलासमै भएकोले त्यो स्थान हेर्ने विचार बनाएको थिएँ । यो कुरा ने.का. केन्द्रिय कार्यालयका मूख्य सचिव र भू.पू. प्र.म. गिरिजा प्रसाद कोइराला र शुशील कोइरालाका मुख्य नीजि सचिव बसन्त कुमार गौतमले पनि भन्नु भएको थियो । ऐतिहासिक महत्वको दर्शनीय स्थल भएर पनि स्मृतिको अभावमा चाहेर पनि चुकें । यसको दुख अहिले पनि छ ।

अन्त्यमा, यूट्यूवका माध्यमले यू.एफ.ओ. र यू.एस.ओ. का कुरा यदि कृत्रिम होइन भने पृथ्वीमा अन्तरिक्षबाट एलियनको आक्रमण गम्भीर चर्चाको विषय छ । अहिले विश्वका अधिकाँश साना ठुला देशहरु आन्तरिक कलह र एक दोश्रासंग सामरिक प्रतिस्पर्धामा संलग्न रहेको कटु यथार्थ हो । बहुचर्चित अन्तरिक्षबाट हुने सम्भावित आक्रमण विफल गर्न अमेरिका, क्यानडा, अस्ट्रेलिया, चीन, रुस, भारत, इंगल्याण्ड, जर्मनी, फ्रान्स, इटाली, जापान, टर्की, आदि जस्ता देशहरुको आन्तरिक तयारी हुन सक्छ । तर कथंकदाचित अन्तरिक्षबाट आक्रमण हुन गएमा आसन्न विश्व संकट छरिएको प्रयासको सफलतता संन्देहास्पद छ । यो वास्तविकता भविष्यका घटनाक्रमले देखाउनेनैछ । तर सम्भावित संकट संगठित प्रयत्नबाट थप प्रभावकारी हुने कुरा विश्व नेतृत्वले समय मै बुझ्न सके मानब जातिका लागि हितकर हुनेछ ।

भट्टराई ने.का.पूर्व केन्द्रिय सदस्य एवं पूर्व उर्जा राज्य मन्त्री हुन

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.