अर्थ​

गाउँको विकासका लागि प्रवासबाट रु ४० लाख भित्रियो

बाबियाचौर (म्याग्दी), ९ पुस । म्याग्दीको बिम गाविसको विभिन्न विकास योजना तथा सामाजिक कार्यका लागि बेलायतमा रहेका प्रवासीबाट रु ४० लाख सहयोग भित्र्याएका छन् ।

रोजगारीको सिलसिलामा बेलायतमा पुगेका बिमवासीले गाउँको सडक, विद्युत्, शिक्षाको विकास र कला संस्कृतिको संरक्षणका लागि सो सहयोग गरेका हुन् ।बेलायतमा सन् २००८ मा स्थापना भएको म्याग्दी बिम समाज युकेमार्फत हालसम्म बिम गाविसको विभिन्न योजनाका लागि सहयोग आएको समाजका सचिव कृष्ण जुक्जालीले जानकारी दिनुभयो ।

सचिव जुक्जालीका अनुसार समाजमार्फत खारा बिम कृषि सडक निर्माणका लागि रु १२ लाख, किसानी उच्च मावि सञ्चालनका लागि रु १४ लाख, हिमाली प्रावि डाँडागाउँलाई रु तीन लाख, सानिमखोला लघुजलविद्युत् परियोजनालाई रु तीन लाख, बाइन्दफाँटको नौलिस्ने खोला जलविद्युत् परियोजनालाई रु दुई लाख सहयोग आएको हो ।

ज्येष्ठ नागरिकलाई सम्मान र पुरस्कृत गर्न अक्षयकोष स्थापना गर्न रु दुई लाख २४ हजार जुटाएको समाजले अन्य विभिन्न सामाजिक कामका लागि गरेको सहयोगसहित छ वर्षको अवधिमा गाउँमा रु ४० लाख भित्रिएको जनाएको छ । हाल बेलायतमा बिमका करिब १०० जनाको बसोवास रहेको छ ।

यसैगरी बिममा कृषि प्राविधिक विषयको पठनपाठनका लागि सञ्चालित किसानी प्राविधिक शिक्षालयको स्तरोन्नतिका लागि आयस्रोत जुटाउने उद्देश्यले किसानी उच्च माविको स्वर्णजयन्तीको अवसर पारेर म्याग्दी बिम समाज युकेको पहलमा पुस १६ देखि २३ सम्म बिम ग्रामीण कृषि पर्यटन महोत्सव सञ्चालन गर्ने तयारी भएको छ ।

बेलायत, हङ्कङ, जापान, पोर्चुगल, अमेरिकालगायत विश्वका विभिन्न देशमा रहेका बिमवासीको सहयोगमा सञ्चालन हुन लागेको महोत्सवमा बिम गाविसको पर्यटन, कला, संस्कृति, कृषि, जलविद्युत्लगायत सम्भावनाको प्रवद्र्धनात्मक गतिविधि हुने र बचत भएको आम्दानी कृषि क्याम्पस स्थापना गर्न प्रयोग गर्ने योजना रहेको शिक्षालयका प्रमुख बेगप्रसाद गर्बुजाले बताउनुभयो । रासस

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.