अर्थ​

भूकम्पमा अविभावक गुमाएकालाई आर्थिक सहयोग

मेलम्ची, १८ जेठ । क्यानडामा बस्दै आएका भक्तपुरका केदार बस्नेत श्रीमती प्रमीला बस्नेतले आज भूकम्पबाट अविभावक र आफन्त गुमाएका तीन परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।

नेपाल जनसम्पर्क समिति क्यानडामार्फत उहाँहरुले सिन्धुपाल्चोक इचोक–२ का राम तामाङलाई रु ४० हजार, कामीराम तामाङलाई रु २४ हजार र पाल्चोक ४ का लालबहादुर खड्कालाई रु १६ हजार सहयोग गर्नुभएको हो । गत वर्ष भएको भूकम्पमा रामका बाबुआमा दुवैको मृत्यु भएको थियो । त्यस्तै कामीरामका आफन्त र खड्काका आमा र बुहारीको मृत्यु भएको थियो ।

नेपाली काँग्रेस क्षेत्र नं ३ सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकारद्वय हरिहर विरही र कविर राणा, नेपाली काँगे्रसका महाधिवेशन प्रतिनिधि बंशलाल तामाङलगायतले उक्त रकम उहाँहरुलाई वितरण गरेको क्षेत्रीय सभापति आइतमान तामाङले जानकारी दिनुभयो ।

पीडित तामाङद्वय र खड्काले आफूहरुलाई सहयोग गरेप्रति बस्नेत दम्पतिप्रति आभार व्यक्त गर्नुभएको छ । सो अवसरमा पत्रकार विरहीले पीडितलाई आर्थिक सहयोग गर्नु पवित्र कार्य भएको बताउनुभययो ।