विचार

‘भाग्यले बाँचेकाहरु’को फरक–फरक भाग्य

काठमाडौँ, १३ वैशाख । ‘भाग्य तिनीहरुको पनि हुन्छ जसका दुवै हात हुँदैनन् ।’ हाम्रो समाजमा प्रचलित यो भनाइ सहरका सडकमा बसेर अरूका हात हेर्दै ‘भाग्यमानी’ र ‘अभागी’ घोषित गर्ने ज्यातिषिप्रति लक्ष्यित छ । सायद पूर्वीय समाज बढी भाग्यवादमा विश्वास गर्छ ।

गत वर्ष वैशाख १२ गतेको भूकम्पले धरहरा र अन्य विशाल भवनसँगै ढल्दासमेत जीवित रहेकाको कथा देख्दा लाग्छ तिनीहरु भाग्यले गर्दा नै बाँचे । यही कोणमा निर्माण गरिएको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’को भूकम्पको र्वािर्षकीको समय पारेर गरिएको पुनः प्रदर्शन हेर्न आइतबार राजधानीको एउटा चलचित्र भवनमा पुगेका सबैले भने – “उनीहरु त साँच्चै भाग्यले बाँचेका रहेछन् ।”

त्यसो त त्यहाँ सूचना तथा सञ्चारमन्त्री शेरधन राईसँगै बसेर पत्रकार गणेश पाण्डेद्वारा निर्देशित उक्त वृत्तचित्र हेरेका भाग्यले बाँच्ने र बचाउने निकै भावुक भए । त्यहाँको माहोल देख्दा लाग्थ्यो त्यहाँ आँखामा टिलपिल आँसु नबनाउने कठोर हृदयको छ । ‘काठमाडौँको नौ तल्ले धरहरा’ ढल्दासमेत सामान्य मात्र घाइते भएकी बबिता सेढाईंलाई धरहरासँगको त्यो ढलाइ एउटा नराम्रो सपनाजस्तो लाग्छ । ओम हस्पिटलमा परिचारिका पेसामा कार्यरत सेढाईं आफू त्यत्रो ठूलो घटनामा परेर पनि सकुशल बाँचेकामा धन्य सम्झन्छन् । तर अन्य घाइतेको अवस्था आफ्नोजस्तो सहज नहुँदा भने उहाँलाई दुःख लागिरहेको छ । स्नातक तहमा अध्ययनरत उहाँ भन्नुहुन्छ – “यस्तो डरलाग्दो अवस्थाबाट बाँचेको छु, जीवनमा केही गर्नुपर्छ भन्ने लागेको छ ।”

गोङ्गबुको एउटा गेस्ट हाउसबाट सकुशल उद्वार गरिएका पेम्बा लामा सामान्य अवस्थामा फर्किसक्नुभएको छ । राजधानीको एउटा चप्पल कारखानामा काम गर्न थालेका लामा भूकम्प बिर्सन चाहनुहुन्छ । भूकम्पमा पर्दा १४ वर्षका मात्र भएकाले होला उहाँले चाँडो भुल्न सक्नुभएको । उहाँ भन्नुहुन्छ – “मैले त भूकम्प बिर्सिसकेको थिएँ तर आज वृत्तचित्र हेरेपछि याद दिलायो ।” तर उहाँका पिता सूर्य लामाले भूकम्पमा परेर बित्यो भनेर आश मारेको छोरा करिब एक हप्तापछि सकुशल भेटिएको घटनालाई कसरी बिर्सनु हुन्थ्यो र ! त्यो क्षण स्मरण गर्दै भन्नुहुन्छ – “मेरो छोरो जीवित छैन भनेर माया मारिसकेका थिएँ, जीवित भेट्दा पहिले त विश्वास गर्न सकिनँ ।”

नेपाली सेनाले सकुशल उद्धार गरेका भक्तपुरका चार महिनाका बालक सोनिस अवाल १४ महिनाका भइसक्नुभएको छ । उहाँलाई भर्खरै मात्र सेनाले कक्षा छदेखि स्नातकसम्म निःशुल्क अध्ययन गराउने निर्णय गरेको छ । आफ्नो छोरा सकुशल भेटिनुलाई चमत्कार मान्नुभएकी आमा रश्मिला अवाल भन्नुहुन्छ – “बाबुलाई जीवित देख्दा भगवान् आएजस्तो लाग्यो ।”

यी त भए सकुशल बाँच्नेका कहानी । तर अर्घाखाँचीका ऋषि खनाल, दैलेखका रमेश खत्री, हेटौँडाकी प्रिया विश्वकर्माको भूकम्पबाट प्राण बाँचे पनि सग्लो शरीर बाँचेन । खत्रीले दुवै खुट्टा गुमाएर पूर्णतः ह्विलचेयरको सहारा लिनपरिरहेको छ भने खनाल र विश्वकर्माले समान एक खुट्टा गुमाएका छन् । गरिबीका कारण पढाइ छोडेर सानै उमेरदेखि गेस्ट हाउसमा काम गर्न बाध्यतामा परेका खत्री भूकम्पमा परेर अपाङ्ग हुनुभयो । विभिन्न संस्थाको सहयोगमा आठ कक्षामा पुनः पढाइ सुरु गरेका उहाँ भन्नुहुन्छ – “बुबा भारतमा गएर सामान्य नोकरी गर्नुहुन्छ । उहाँको कमाइले घर चलाउनै मात्र पनि गाह्रो छ ।”

जीवनमा प्रहरी अधिकारी बन्ने सपना बुनेकी विश्वकर्माको भूकम्पले एउटा खुट्टा लगेपछि सपना पूरा हुन पाएन । खुट्टा गुमाएर निकै निराश भएकी उहाँ सम्हालिने कोसिसमा हुनुहुन्छ । कक्षा १० मा अध्ययनरत उहाँले भन्नुभयो – “मेरा धेरै सपना चकनाचुर भएका छन् तर पनि हिम्मत हारेकी छैन । राम्रो पढेर जुनसुकै भए पनि सरकारी जागिर खाने लक्ष्य छ ।”

पुरानो बसपार्कको सयपत्री गेस्ट हाउसबाट उद्धार गरिएका ऋषि खनाल अहिले घरमै बस्नुहुन्छ । सुरुमा चिकित्सकले खुट्टा ठीक छ भने पनि पछि खुसीको सीमा नरहेका खनाल पुनः चिकित्सकको बैठकले खुट्टा नकाटे बच्न नसक्ने निर्णय गरेपछि निराश हुनुभयो । बाँचेर पनि पूर्ण खुसी नहुनुभएका उहाँले भन्नुभयो, “केही काम गर्न सक्ने कुरै भएन । घरमै बसिरहेको छु । केही कमाएर सुखी जीवन जिउने आशामा विदेश जानलाई काठमाडौँ गएको थिए, अहिले यस्तो भयो ।”