विचार

राजनिती व्यवसाय वा पेशा होईन समाज सेवा हो

राजनिती वास्तवमा समाज र राष्ट्रलाई सही मार्गमा हिडाउने वा डोराउने साधन हो । अहिलेको युग जटिल सामाजिक संरचना भएको युग हो यसलाई व्यवस्थितरुपमा समयसापेक्षरुपबाट अगाडी बढाउन , समाजमा रहेका तमाम वर्गहरुको जीवन निर्वाहलाई सरल एवं सहज बनाउन राज्य संयन्त्र चुस्त , जनउत्तरदायी , क्रियासिल , जनमुखी, विकाशप्रेमी, विकेन्द्रिकृत , न्यायिक , सहभागितामुलक,  प्रजातान्त्रिक, पारदर्शी, भस्ट्राचारमुक्त, Prakash-Shresthaसेवामुखी हुनु आवस्यक छ । कुनै पनि देशको विकास र सम्पन्नता त्यो देशमा विद्यमान राजनैतिक प्रणाली र राजनितिक गतिविधिमा निर्भर गर्दछ । राजनिती नै देश निर्माण गर्ने महत्वपुर्ण औजार वा साधन हो । यसलाई राज्यको हरेक पक्षको विकास गर्ने माध्यमको रुपमा लिईने हुनाले यसलाई देशको मेरुदण्ड , जिवनरक्तको रुपमा लिन सकिन्छ । वास्तवमा राजनितीलाई जनताको सेवा गर्ने शुद्ध सामाजिक सेवाको रुपमा जव सम्म हेरिदैन , यसलाई केवल व्यक्तिगत आय आर्जनको माध्यमको रुपमा लिन खोजिन्छ तव सम्म देशमा जुनसुकै राजनैतिक व्यवस्था , राजनैतिकवादहरु आए पनि यसले खासै समाज र जनताको जीवनस्तर र जिवनचर्यामा खासै ठुलो महत्व राख्न सक्दैन ।

नेपालको ईतिहासलाई एकपटक फर्केर हेर्ने हो भने वि.सं. २००७ साल देखि धेरै परिवर्तनहरु पटक-पटक भएको पाउन सकिन्छ तापनि जनताको जिवनस्तर , सामाजिक -सांस्कृतिक परिवर्तनहरु खासै उल्लेखनियरुपमा हुनसकेको हामी देख्न सकिरहेका छैनौ । मुलत: जे जति राजनैतिक परिवर्तनहरु भयो त्यस पश्चात परिवर्तनको लागी नेतृत्वदायी भुमिका खेलेका राजनैतिक दल र नेताहरु ईमान्दार एवं जनउत्तरदायी भएर जनताको विकास , निर्माणको काममा समर्पित हुनु भन्दा बढी कसरी व्यक्तिगतरुपमा आफ्नो आय आर्जनमा वृद्धी हुन्छ , कसरी  आफ्ना सन्तती, परिवार, नातागोता, भाई-भतिजाहरुको व्यक्तीगत जिवनलाई आर्थिकरुपले माथी उठाउन सकिन्छ त्यस तर्फ नै बढी ध्यान केन्द्रित गरेको प्रष्ट देख्न सकिन्छ । देश भित्रै वा छिमेकी देशहरुसँग राष्ट्रिय महत्व राख्ने किसिमका संधी -संझौता , करारहरु जे जति भए ती  देश र जनताको हित भन्दा पनि व्यक्तीगत लाभ र सत्ता टिकाईरहने , कुर्ची जोगाई रहने कामको लागी दुरुपयोग गरेको पाईन्छ ।
राजनितिक परिवर्तन गर्ने संघर्षको बेलामा एकदमै राष्ट्रप्रेम , जनहित र समनातामुलक समाजको निर्माणमा लाग्ने भाषणहरु र नाराहरु सडक र गाउँ-बस्तीहरुमा चर्कोरुपमा घन्काउने र राजनैतिक परिवर्तन भएर सत्तामा पुगिसकेपछि स्वाट्टै सबै कुरा भुलेर आफ्ना आसे-पासे र आफ्नो जीवनलाई केन्द्रमा राखेर दाम कमाउन जस्तोसुकै काम गर्न र राष्ट्रलाई बन्धक बनाउन पनि पछि नपर्ने चलन चलिआएको छ ,अझै सम्म यो प्रवृती प्रायः सबै राजनितिक दलहरुमा हावी रहेको हाम्रो अगाडी घाम जस्तो छर्लग छ । यो सबै हुनुमा राजनैतिक नेताहरुको सोच र दृष्टिकोण राजनितीलाई समाज सेवा भन्दा पनि नाफामुखी व्यवसाय वा पेशाको रुपमा अंगाल्दै आएकोले हो भन्ने प्रष्ट आधारहरु देखिन्छन् । जव सम्म राजनितीलाई कमाई खाने पेशा वा व्यवसायबाट शुद्ध समाजसेवाको रुपमा नेताहरुले व्यवहारमा आत्मसाथ गर्दैनन् तव सम्म जतिसुकै ठुलो राजनैतिक परिवर्तन भएपनि हुनेवाला केही छैन । यो कुरा साँचो हो की राजनैतिक पद संमालेको मान्छेले पनि जिवन निर्वाह गर्न आर्थिक आय आर्जन हुनु जरुरी छ तर देशको जिम्मेवार पदमा बसेका व्यक्तीहरुलाई उपलब्ध गराईने तलव, भत्ता , पारिश्रमिक, सेवा-सुविधा अन्तर्गत रहेर जिम्मेवार भएर कानुनी मर्यादामा रहेर काम गर्नु पर्छ भन्ने सबैको मान्यता र अनुरोध हो । पदिय हैसियतलाई दुरुपयोग गरेर आय-आर्जन गर्ने काममा लाग्नु , पदिय अनुशासन भंग गर्नु , आर्थिक -नैतिक भ्रष्ट्रचार गर्नु हुँदैन यसले देशलाई अधोगति तर्फ धकेलिरहेको छ मात्र भन्न खोजीएको हो ।
राजनितीमा लाग्नेहरुले अनिवार्यरुपमा सहायक पेशा वा व्यवसाय अंगालेको हुनु जरुरी छ । यदी कुनै पनि राजनितीमा लागेको व्यक्तीसँग जिवन निर्वाहको लागी कुनै पेशा वा व्यवसाय छैन भने स्वाभाविकरुपमा उसले कुनै राजनैतिक लाभको पद पायो भने पदिय दुरुपयोग गरि आय-आर्जन गर्न खोज्ने संभावना बढी रहन्छ । त्यस्तै संसद लगायत स्थानिय तहमा निर्वाचन हुँदा प्रशस्त मात्रामा निर्वाचनको प्रचार-प्रसारमा गरिने खर्चले समेत पछि निर्वाचन जितेर पदमा आसिन भईसकेपछि पहिला चुनाव लड्ने समयमा गरिएको खर्च उठाउन समेत पदिय दुरुपयोग गर्ने प्रमुख कारक तत्व बन्न गएको देखिन्छ । यस्तो गतिविधिलाई रोक्नको लागी चुनावमा प्रतिस्पर्धा गर्दा गरिने खर्चको सिमा जुन तोकिएको हुन्छ यसलाई निर्वाचन आयोग लगायतका निकायहरुले कडाईका साथ नियन्त्रण र नियमन गर्नु पर्ने हुन्छ ।
” राजनिती गर्नु जोगी हुन होईन “भन्ने जुन भनाईहरु यदाकदा सुन्नमा आउँछ , वास्तवमा कोही पनि जोगी बन्न राजनितीमा लाग्दैन तर यदी नाफै कमाउने र छिटो छरितो व्यक्तिगतरुपमा आर्थिक समृद्धि गर्ने हो भने व्यापार- व्यवसायमा लाग्नु आवस्यक हुन्छ । हुन त नेपालमा प्रायः नेताहरु सत्तामा पुगे पछि जोगी त होईन अकुत सम्पतीका मालिक बनेका छन् , देश भित्र मात्रै नअटाएर विदेशमा समेत लगानी गर्ने , विदेशी बैकहरुमा जम्मा गर्ने र बुढ्यौली जिवन विदेशमै बिताउने समेत गरेको पाईन्छ । अकुत धनरासी भ्रष्टाचार गरेर जेल जिवन बिताएर फेरी राजनितीमा नै फर्केका र जनताले तिनै नेतालाई समर्थन गरेर हिडेको , जेलबाट निस्कदा फुलमाला , अविरले स्वागत गरेको दृश्यहरु समेत नौलो छैन । यसरी हेर्दा कता हो कता नेताहरुलाई भ्रष्ट बनाउन हामी जनताले नै उक्साई पो रहेका छैनौ भन्ने प्रश्नहरु पनि उठ्न सक्छ , हैन भने भ्रष्टाचार गरेर अकुत सम्पती कमाएको सार्वजनिकरुपमै थाहाँ हुदाँ हुँदै किन पटक-पटक चुनावमा निर्वाचित गरेर पठाउँछौ । किन प्रतिस्पर्धाबाट जागिर खानु भन्दा नेताको चाकरी गरेर जागिर खान लालयित हुन्छौ । किन व्यक्तिगत अपेक्षाहरु र मागहरु पुरा गर्न मन्त्री , सांसदको डेरा चाहर्छौ , किन लेबीको नाममा राजनैतिक पार्टीहरुले मन्त्री, सांसदहरुसँग चर्को रकम माग गर्छौ । सत्तामा हुदाँ किन दरवार स्वरुपका पार्टी मुख्यालयहरु बनाउने काममा लाग्छौ । किन राज्यका जिम्मेवार निकाय, विदेशी कुटनितिक क्षेत्रमा राजनैतिक भागबण्डाबाट नियुक्ती गर्न रडाको मच्चाउँछौ ।
यी सबै खाले काम वास्तवमा नेताहरुलाई भ्रष्ट हुन अभिप्रेरित गर्ने पृष्ठपोषण(Feedback) को काम हो । यसैले यदी नेता भएर जनताको सेवा गर्ने हो भने काठमाण्डौ र विदेशमा महंगो महल ठड्याउने सपना हैन जनताको झुपडी सजाउने सपना देख्नु पर्दछ । राजनितीलाई व्यापार, व्यवसाय वा पेशा हैन सामाजिक सेवाको रुपमा हेरिनु पर्छ र परिभाषित गरिनु पर्छ अनि सोही किसिमको व्यवहार लागु गरेर जनतालाई देखाउनु पर्छ । तव मात्र राजनितीले देश निर्माण र विकास हुन सक्छ अन्यथा यो क्षेत्र अहिलेकै अवस्थामै रहेमा जतिसुकै राम्रो संविधान र कानुन बने पनि जस्तोसुकै राजनितिक परिवर्तन भएपनि हुनेवाला केही छैन ।