विचार

नेपालमा सडक दुर्घटना न्यूनिकरणका उपायहरू

सन् १९९७ मा विडेनबाट यु.एन. मिसनमा आएका मेरा मित्र रवर्ट बटले सारायेभो जाँदा त्यहाँको ट्राफिक देखाउँदै भनेको थिए, “कुनै पनि देशको ट्राफिक अवस्थाले त्यस देशको व्यवस्थाको बारेमा धेरै हदसम्म निक्कै BipulSijaptiराम्रो जानकारी दिन्छ ।” उनको कुरालाई मैले गम्भीरताले लिएको थिइँन । वास्तवमा उनको भनाइलाई मैले राम्री बुझेको पनि थिइँन, तर सत्र वर्ष पश्चात् आज उक्त भनाइ पुनः स्मरण गर्दा मलाई के लाग्दछ भने उनले निक्कै सही वाख्या गरेका रहेछन् ।

आर्थिक वर्ष २०७१-७२ को सवारी दुर्घटना तथ्याङक अनुसार नेपालको सन्दर्भमा हरेक वर्ष सत्रसय भन्दा बढी मानिसहरू को सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ भने बाह्र हजार भन्दा बढी घाइते हुने गरेका छन् । यसै तथ्याङकले दैनिक औसत ५ जनाको मृत्यु र ३३ घाइते हुने गरेको देखाउँछ । यसरी सडक दुर्घटनामा मृत्यु हुनेमा ९० प्रतिशत पेटीमा हिँड्ने यात्रु, साइकलिस्ट, सार्वजनिक सवारीका यात्रु र राजमार्गका ट्रकचालक हुन्छन् । दुःखद् कुरा के भने यस्ता दुर्घटनाबाट मृत्यु हुने र अपाङग हुनेमा अधिकांश उत्पादनशील उमेर समूहका व्यक्तिहरू रहेका छन् । दुर्घटनालाई सवारी–साधन अनुसार वर्गिकरण गर्दा ४१ प्रतिशत मोटरसाइकल, २४ प्रतिशत कार जीप, १६ प्रतिशत बस, ९ प्रतिशत ट्रक र ट्याक्टर परेको पाइएको छ । यसमा पनि निजी सवारी साधनको तुलनामा भाडाका सवारी साधनहरू र मोटरसाइकल अत्यधिक मात्रामा दुर्घटनामा पर्ने गरेका छन् ।

किन हुन्छ त सवारी दुर्घटना ?
सडक दुर्घटनालाई चार प्रमुख कारणमा बिभाजन गर्न सकिन्छ ।
१. मानवीय कारण
२. सडकको भौतिक अवस्था
३. यान्त्रिक कारण
४. मौसम तथा अन्य कारण

१. मानवीय कारण: नेपालको सडक दुर्घटनाको तथ्याङक हेर्ने हो भने आर्थिक वर्ष २०७० ७१ को सवारी दुर्घटनाको कारणहरुमध्ये ९८.६ प्रतिशत दुर्घटना चालककै कारण भएको पाइएको छ । सवारी चालक, मानसिक तनावमा हुनु, लामो दूरी सम्म सवारी चलाएर थकानमा हुनु, कम उमेरमा नै सवारी चालन अनुमतिपत्र पाउनु, सवारी चलाउँदा युवाहरूले एकअर्कासँग प्रतिव्दन्दिता र प्रतिस्पर्धा गर्नु, ट्राफिक नियमको पालना नगरी लापरवाहीसँग सवारी साधन चलाउनु, सडकको अवस्था बारे ज्ञानको अभाव हुनु, मादक पदार्थको सेवन गरेर सवारी साधन चलाउनु, अत्यधिक गतिमा सवारी चलाउनु, गलत तरिकाले ओभरटेक गर्नु, मोबाइल फोनको प्रयोग गर्दै सवारी चलाउनु, सवारी साधनको बारेमा सामान्य प्राविधिक ज्ञान समेत नहुनु र शारीरिक असक्षमताका बाबजुद पनि थेग्न नसक्ने मोटरसाइकल चलाउनु आदि रहेका छन् ।

उत्पादनशील उमेरका व्यक्तिहरू नै बढी दुर्घटनामा पर्नुका कारणहरू माथि उल्लेख गरिएका छन् । यस बाहेक अन्य कारणहरू पनि छन् । जस्तो ः कुनैपनि मोटरसाइकल डिजाइन गर्दा टायरमा उचित दबाबको हावा सहितको केन्द्रीय सन्तुलन (सेन्ट्रल ब्यालेन्स) समेत बिचार गरेर मोटरसाईकल तयार गरिएको हुन्छ । तर यस्ता मोटरसाइकललाई मोडिफाई गर्ने बित्तिकै या टायरमा उचित हावाको दबाब नभएमा मोटरसाइकलको केन्दि«य सन्तुलन बिग्रिन जान्छ र गति लिने बित्तिकै मोटरसाइकल असन्तुलित हुनजान्छ ।

अर्को कारण भनेको सरकारले बिना कुनै अध्ययन र परीक्षण सवारीसाधन आयात गरेर बिक्रिबितरण गर्न दिने नीति पनि सवारी दुर्घटनाको कारण हो । पानी तान्ने पम्पलाई सुधारेर बनाइएको बिक्रम टेम्पो अत्यधिक धुँवा फाल्ने भएकोले निर्माता देश भारतकै कतिपय नगरहरुमा प्रतिबन्धित गरिएका थिए । तर फितलो सरकारी नीतिका कारण नेपालमा आयात भएर मज्जाले चल्यो । यसलाई राजधानीबाट हटाउन समेत हम्मेहम्मे प¥यो र अहिले तराईमा निर्वाधरुपमा चलिरहेको छ । टेम्पो साना चक्का सहितका तीनपाङगे सवारी साधन भएकोले यो आफैमा एक असुरक्षित सवारीसाधन हो । नेपाल पहाडी मुलुक भएकोले यहाँका सडकहरु सानो, घुमाउरो तथा उकालो ओरालो धेरै भएका छन् । अगाडि चालक सहित दुईजना र पछाडि दश या बाह्रजना सिट क्षमताको यो साधन घुमाउरा मोडहरुमा गति धेरै हुने बित्तिकै सन्तुलन गुमाएर पल्टने गर्दछ ।

यसै गरेर नेपालका सडकको लागि कस्तो प्रकारको मोटरसाइकल उपयुक्त हुन्छ भनेर अध्ययन नै नगरिकन सरकारले बेचबिखनको अनुमति दिएको छ । नेपाल पहाडी मुलुक भएकोले सडकहरु सानो, घुमाउरो तथा उकालो ओरालो भएका छन् । यस्ता सडकहरुमा चालक चाँडै थाक्ने, आँखामा बल पर्ने र रिंगटा लाग्ने हुन्छ । उकालोमा गति तीब्र हुने र ओरालो बाटोमा ब्रेकले साथ नदिने र गति बढी हुने हुन्छ । चालक स्वयम्ले सन्तुलीत राखेर चलाउनुपर्ने मोटरसाइकल नेपालको पहाडी बाटोहरुका लागि असुरक्षित छन् ।

दुर्घटनाको तथ्याङक अनुसार मोटरसाइकल नै ज्यादातर दुर्घटनामा पर्ने, चाँडै नै अत्यधिक गति लिने, शारीरिक असक्षमताका बाबजुद पनि थेग्न नसक्ने मोटरसाइकल युवाहरूले चलाउनु र नेपालका सडकको अवस्थाको आधारमा बिचार गर्ने हो भने १२५ सि.सि. भन्दा बढीका मोटरसाईकलहरु अनुपयुक्त देखिन्छन् । यसबाहेक सरकारले कुनै पनि सवारीसाधन आयात गर्दा सुरक्षा उपकरणसहित नेपालको सडकलाई को कस्ता सवारीसाधनहरु उपयुक्त हुन्छ, सो बारेमा प्रस्ट नीति बनाएर कार्यान्वयन गर्नु जरुरी देखिन्छ ।

२. सडकको अवस्था र भौतिक पूर्वाधारहरु: नेपाल पहाडी मुलुक भएकोले सडकहरु अधिकांश सडकहरु सानो, घुमाउरो तथा उकालो ओरालो छन् । यस्ता बाटोमा चालक चाँडै थाक्ने, आँखामा बल पर्ने र रिंगटा लाग्ने हुन्छ । पहाडी बाटोका चौडाई पनि कम भएको हुँदा सवारीसाधनहरु साईड बाट ठोक्किने गर्दछन् । उकालो र ओरालो बाटोमा ब्रेकले साथ नदिने, गति बढी हुने र ज्यादा मोड परेका सडकमा स्टेरिङ नउल्टने हुँदा दुर्घटना भएका छन् । कतिपय सडकका किनारमा सुरक्षा पर्खाल न्यून छन्, जसले केही हद सम्म सवारीसाधनलाई खस्नबाट रोक्न सक्छ । कालोपत्रे गरिएका सतहहरु पनि समतल नभएर उबड खाबड परेका हुँदा भारवाहक सवारीसाधनहरुको गति अनियन्त्रित हुनजान्छ । पहाडी बाटो भएको हुँदा मोडहरु र यु बेन्टहरु अत्यधिक छन् । जहाँ आगन्तुक सवारीसाधन नदेखिने भएकोले दुर्घटना हुने गरेको छ । यस्ता स्थानमा चालकले गति कम नगर्ने र ओभरटेक गर्ने गर्दा पनि दुर्घटना हुने गरेको छ । सडकमा ट्राफिक चिन्ह र रोड मार्किङ्गको निक्कै कमीले गर्दा पनि चालकहरूले सूचना अभावमा दूर्घटना गरेका छन् । यसै गरेर नेपालका बाटोहरुमा  छोटोछोटो दूरीमै अत्यधिक जङसन तथा टि जङसनहरु छन् । जावलाखेलदेखि हात्तिसार जय नेपाल हल सम्म मात्रै सोह्रवटा जङसन तथा टि जङसनहरु छन् । मुख्य गरेर यी टि जङसनहरु अव्यबस्थित छन् । यिनलाई एकतर्फि गरेर पस्ने या निस्कने मात्र बनाईनु जरुरी छ । सडकमा सवारीसाधनहरु अनुसार लेन फरक नहुनु या सुस्त गतिका सवारीसाधनहरु वायाँबाट नचलाईदिनु र सबै प्रकारका सवारीसाधनहरु एउटै सडकमा चल्नुले पनि दुर्घटना हुने गरेको छ । यस बाहेक सडक छेउमा चिया खाजा पसलहरु तथा त्यसैको अगाडि साँघुरो सडकमा अनियन्त्रित पार्किङले पनि दुर्घटना भइरहेको छ ।

३. यान्त्रिक कारण: कतिपय सार्वजनिक सवारी साधनहरू तथा निजी सवारी साधनहरू पनि बिना परीक्षण सडकमा गुडिरहेका छन् । दुर्घटना न्यूनिकरण गर्न राज्यले हरेक सवारी साधनहरू निश्चित् अवधि पश्चात् परीक्षणपछि मात्र सडकमा गुडाउने इजाजत दिनु पर्नेमा यो कार्य भइरहेका छैन ।  कानुनी रूपमा सार्वजनिक भाडाका सवारी साधनहरू परीक्षण गराउनु पर्ने प्रावधान भए पनि त्यो प्रचलनमा नरहेको देखिन्छ । सार्वजनिक सवारी साधनहरूको यान्त्रिक परीक्षण गर्ने अधिकार ट्राफिक प्रहरीमा निहित हुन्जेलसम्म त केही मात्रामा भए पनि परीषण हुन्थ्यो तर, यो अधिकार यातायात विभागमा जाने बित्तिकै परीक्षण हुन छाडेको छ ।
चाहे निजी होस या सार्वजनिक भाडाका सवारीसाधन, यिनको आयु तोक्नै पर्दछ, या त माथि उल्लेख गरिएझैँ यान्त्रिक परीक्षण पश्चात् मात्र सडकमा गुडने इजाजत पाउनु पर्छ । यसले दुर्घटना न्यूनिकरणमा ठूलो भूमिका खेल्दछ । यसै गरेर सवारी साधनमा प्रयोग हुने नक्कली पाटपुर्जा र कमसल ल्युब्रिकेन्ट पनि दुर्घटनाका कारक तत्वहरू हुन् । व्यक्तिगत रूपमा सवारी साधन चलाउनु पूर्व क्लच, ब्रेक, मिरर, पानी, टायरको हावा, व्याट्रि, चक्काको नटहरु तथा अन्य आवश्यक चिजहरु राम्ररी निरिक्षण गर्ने गरेमा पनि दुर्घटना कम हुन्छ ।

४. मौसम तथा अन्य कारणहरू: नेपालमा हुने सडक दुर्घटनालाई अध्ययन गर्दा मौसमका कारणले दुर्घटना भएका घटनाहरू धेरै कम छन् । बरु, खराब मौसममा पनि बलजफति सवारी चलाएको कारणले दुर्घटना भएको पाइएको छ । यसका अतिरिक्त अत्यधिक भार, छाडा गाईबस्तु, चालक र यात्रुबीचमा रिसइवि, सडक तथा फुटपाथ अतिक्रमण आदि पनि सडक दुर्घटनाका कारणहरू हुन् ।

सवारी ऐनमा प्रावधान: सुरक्षित सार्वजनिक सवारीको व्यवस्था गर्नु भनेको राज्यको दायित्व हो । एकातिर राज्यले यसको उचित व्यवस्था गर्न सकेको छैन भने अर्कोतिर एकाध बाहेक सबै सार्वजनिक सवारीसाधनहरु व्यक्तिले सञ्चालन गरेका छन् । यसो हुँदा सार्वजनिक सवारीसाधनका धनी तथा चालकहरुको यात्रु तथा दुर्घटनाप्रतिको उत्तरदायीत्व घटन पुगेको छ । सेवा भन्दा पनि मुनाफा केन्द्रित भएको छ । सत्य के हो भने एकातिर सवारी चालक अनुमतीपत्र र नागरिकताको फोटोकपि मात्र बुझाएपछि सार्वजनिक सवारी धनीले चालकलाई निर्धक्क सवारीसाधन चलाउन दिन्छन् भने अर्कोतिर चालकको लापरवाहीले कुनै दुर्घटना भएता पनि ऊ सर्लक्क उन्मुक्त हुन्छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ का केही दफाहरुले चालकलाई हदैसम्मको छुट दिएर जिम्मेवारीहिन बनाएको छ । सर्वप्रथम दफा १६१ ले ज्यानमार्ने मनसायले कुनै दुर्घटना भएमा सर्वस्व सहित जन्मकैद भनेर लेखेको त छ, तर मनसाय पुष्टि गर्न या प्रमाणित गर्न गाह्रो छ । दोस्रो, चालकहरु कुनै न कुनै राजनीतिक सङगठनसँग आबद्ध हुन्छन् र यी संगठनहरुले गल्ती ढाकछोप गर्ने अथक प्रयास गर्नेगरेका छन् । तेस्रो, दुर्घटना भएर मृत्यु भएमा किरिया खर्च पच्चिसहजार र बिमाले दिने पाँचलाखमा सबै सकिन्छ । तर, घाइते भएमा लाग्ने सम्पूर्ण उपचार खर्च समितिले व्यहोर्नुपर्ने र झंझटिलो कानुनी प्रक्रियाका कारणले गर्दा ब्याक गरेर मार्ने प्रवृती देखिएको छ । र अन्तिम तर बिचारणीय कुरा के भने सार्वजनिक सवारी चालकहरुले कानूनन् रूपमा हदैसम्म  जरिवाना तिरेमा पनि त्यो रकम १२,५०० भन्दा बढी हुन आउँदैन भने चालक कसरी जिम्मेवार हुनसक्छन् र ?

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ को उपदफा ४ ले यसो भनेको छ ।

“यस दफामा माथि जुनसुकै कुरा लेखिएको भएता पनि यस दफा बमोजिम भराइने घा खर्च, किरिया खर्च र क्षतीपूर्तिको कूल रकमको पाँच प्रतिशत भन्दा बढी चालकबाट भराइने छैन ।”

तर यो पाँच प्रतिशत रकम पनि चालकहरुले भरेको पाइएको छैन भने सार्वजनिक यातायातका जिम्मेवार चालकलाई यति धेरै छुट दिनुको औचित्य के हो ? मेरो बिचारमा सार्वजनिक यातायात चलाउन चाहने हरेक लाइसेन्स लिएका चालकहरुलाई कम्तीमा १५ दिनको विशेष प्रशिक्षण पश्चात् परीक्षा लिएर उतीर्ण चालकलाई मात्र ब्यबसायीक चालक प्रमाणपत्र दिने व्यवस्था गर्नु जरुरी छ ।

सडक विभागको लापरवाही र ट्राफिकको बाध्यता: सडकमा जताततै होडबाजी देखिन्छ । हरेक चालकमा लेन अनुशासन पालना गर्नु भन्दा पनि येनकेन प्रकारेण अघि पुग्नै पर्ने मानसिकताले श्रृजना गरेका अप्ठ्याराहरुप्रति हामी आँखा चिम्लन बाध्य छौँ । कारण स्पष्ट छ, मौका परे हामी पनि त्यही गर्छौँ, त्यसैले अरूले गर्दा किन प्रश्न उठाउने ? यो अधैर्यता क्षणीक हो या बानी ? अङ्ग्रेजीको एउटा भनाइ छ, “First, men makes habit then habit makes men.” (पहिला मान्छेले बानी बनाउ“छ त्यसपछि बानीले मान्छे बनाउँछ ।) अधैर्यता हाम्रो बानी भईसक्यो । जसरी हुन्छ आफै छिटो पुग्ने हतारोमा अरूलाई पर्न जाने बाधा र हुनसक्ने दुर्घटनाप्रति हामी आँखा चिम्लिन्छौ । राज्यले तोकेको कर तिरेपछि सडकमा आफ्नो अधिकार त हुन्छ तर अन्य कर तिर्नेहरुको पनि बराबर अधिकार हुन्छ भन्ने ख्याल कसैले गरेको देखिँदैन । फलतः एकले अर्कालाई बाधा पुर्याएर भएपनि उछिन्ने गर्दछौँ । हामीले आफैमा विकसित गरेको यो बानीले ढिलो या चाँडो, दुर्घटना त निश्चित् रूपमा गराउँछ ।

केहि महिना अगाडि राती दुई बजे हरिसिद्धिमा मा.प.से. गरेको एक मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने व्यक्तिको मृत्यु भयो । उसको शिर खम्बामा ठोकिन पुगेको थियो । डा. उपेन्द्र देवकोटा मन्त्री हुँदा उनले मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट लगाउनै पर्ने नियम ल्याए । दुर्घटना हुँदा हेल्मेटले धेरै हदसम्म ज्यान जोगाउन सक्छ । तर कमिसनको लोभमा हेल्मेट बिकाउने षडयन्त्र भनेर हल्ला चल्यो ।

पछिको सरकारले यो नियमलाई खारेज ग¥यो तर फाइदा कसलाई भयो ? हाइवे कोडले सडकमा कुनै पनि बाधा हुनु हुँदैन, सडक व्यबधान रहित हुनुपर्छ भनेर वाख्या गर्दछ । तर काठमाण्डौँका सडकका बिचमा सडक छुट्याउन राखिएका कंक्रिटका डिभाइडरमा ठोकिएर धेरैको ज्यान गएको छ । धुँवा र धुलोले कतिपय यी डिभाइडरहरु रातमा केही दूरीबाट नदेखिने हुन्छन् । हिलटेक कम्पनीले आफ्नो प्रचारको लागि प्लास्टिकका यस्ता केही डिभाइडर सिंहदरबार सडकखण्डमा राखिदिएको छ, जसले कंक्रिटको डिभाइडरले भन्दा कम क्षति गर्दछ । तर सरकारले अन्य स्थानमा सोही बमोजिमको डिभाइडर राख्ने सोच समेत बनाएको देखिँदैन । अझ उपयुक्त त के हुन्थ्यो भने सडकमा यस्ता डिभाइडर राख्नै परेको खण्डमा पनि पुराना टायरहरुलाई रिसाइकल गरेर रबरका डिभाइडर राखे जोखिम अझ न्यून हुने थियो ।

सडकमा राखिएको डिभाइडर देख्दा मानिसलाई भेडाबाख्रालाईझैँ दायाँबायाँ छेकबार लगाएर छेकेर लगेको महसुस हुन्छ । सडकमा देखिने ट्राफिक अवस्थाले पनि बाध्यात्मक रूपमा ट्राफिकले यसो गर्नु परेको हो, जुन बिल्कुल ठीक होइन् । सवारी नियम अनुसार लेन अनुशासन पालना गर्न र ट्राफिक व्यवस्थापन सहज बनाउन हामी तयार छैनौँ । यदि सवारी चालकले लेन अनुशासन पालना गरिदिने हो भने सरकारलाई सडकको बिचमा कंक्रिटका यस्ता काल राख्नु जरुरी थिएन । हामी अनुशासित भएर सवारी चलाउने हो भने ट्राफिक व्यवस्थापन सहज हुन्छ भने धेरै हदसम्म जाम पनि हुँदैन ।

केही दिन अगाडि सातदोवाटोमा एकजना ट्राफिक प्रहरीले बिच बाटोमा हातखुट्टा फैलाएर उभिदै सवारीसाधनहरुलाई छेक्दा पनि हम्मेहम्मे परेको दृश्य देखियो । धुँवा र धुलोको मुस्लो बिच उक्त ट्राफिक प्रहरीको अवस्था देख्दा साह्रै टीठ लागेर आयो । के अब हामी यतिसम्म अनुशासनहिन भइसक्यौँ त ? बिहान काठमाण्डौंको सडकमा जताततैबाट विद्यालय जाने बच्चाहरुलाई डोर्याएर बाटो काटदै गरेको अभिवावकहरुबाट उनका बच्चाहरुले बुझ्ने भएपछि के पाठ सिक्लान !
भौतिक संरचनाहरुको बढोत्तरि मात्र नै विकास होइन, दिगो विकास भनेको व्यक्तिको सोचमा हुनुपर्छ आचरणमा हुनुपर्छ । आफ्नो स्वतन्त्रताको उपभोग गर्दा अरूको स्वतन्त्रता कदापि हनन हुनुहुँदैन । समाज र राष्ट्र भनेको हामी नै हौँ । हाम्रै सोच र चरित्र समाज र राष्ट्रले पनि उजागर गर्दछ । स्विडेनका रवर्ट बटको भनाइ वास्तवमा उचित नै हो, कुनै पनि देशको ट्राफिक अवस्थाले त्यस देशको व्यवस्थाको बारेमा धेरै हदसम्म निक्कै राम्रो जानकारी दिन्छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.