विचार

पुस्तक, इमान्दारीता र हामी नेपाली

जीवनमा सबैभन्दा ठुलो कुरा ईमान्दारिता हो । जहाँ ईमान्दारिता, असल चरित्र हराउँछ तव समाज परिवर्तनका कुराहरु मिथ्या बाहेक केही हुन सक्दैनन् । हो भाषण र व्यवहार अलग छ हामी नेपालीहरुमा, भनाई र बोलाई अलग छ । त्यसैले त स्वदेशमा मात्र हैन प्रदेशमा समेत साना-साना कुराहरुमा चित्त नबुझ्ने रितीथिती बस्दै गएको जसको कारण ठुला परिवर्तन र विकासका कुराहरु छायाँमा परेका छन् । अहिले उठान गर्न खोजिएको प्रसंग त्यति ठुलो हैन तर सानो कुराले पनि कहिलेकाही ठुलै विषयमा बहस गर्ने आधार बन्छ । प्रसंग हो नैतिकता र ईमान्दारिताको बारेमा जुन यथार्थपरक घटनामा आधारित छ जसलाई सकभर सिलसिलेवार रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।
यही २५ अगस्तका दिन एनआरएन मेरिल्याण्ड च्याप्टरले एउटा अन्तरक्रिया राख्यो जसको विषय थियो-” एनआरएनबाट नेपालमा लगानीका संभावना, चुनौती र अवसर” । उक्त कार्यक्रममा एनआरएनआईसिसीका अध्यक्ष शेष घले, उद्योगपति विनोद चौधरी लगायत नाम र दाम कमाएका व्यक्तीहरुको पनि उपस्थिती रहने चर्चा पहिल्यै देखि चलेकोले म आफु शारीरिक रुपमा असक्त रहदाँरहदै पनि त्यस कार्यक्रममा सहभागी हुने चाहना बढ्यो र एकजना अति मिलनसार साथीसँग सहभागी हुन त्यहाँ पुगियो ।
चहलपहल निकै थियो, स्थानिय सामाजिक संघ-संस्था र व्यवसायीहरुको पनि बाक्लै उपस्थिती थियो । त्यस्तै पुर्वनिर्घारित अतिथीहरु अधिकांशको उपस्थिती देखियो तर शेष घलेलाई भने आएको देखिएन । कार्यक्रमको शुरुवात हुनु भन्दा पहिलानै विनोद चौधरी, दिपकुमार उपाध्याय, एनआरएनका हस्तीहरु-कुमार पन्त, भवन भट्ट, कुल आचार्य, अर्जुन कुमार श्रेष्ठ एवं अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कार्की लगायतसँग मेरिल्याण्डमा स्थानियरुपमा नाम चलेका व्यक्तीहरु र साधारण व्यक्तीहरुले समेत फोटो खिचाउन निकै लालयित भएको थिए र औपचारिक कार्यक्रमको समाप्ती पछि पनि त्यो क्रम लामै समय चल्यो ।
उक्त कार्यक्रममा बोलाईएका अतिथीहरुबाट नेपालमा लगानी सम्बन्धी आ-आफ्ना धारणाहरु राखेको पनि पाईयो । अन्तरकृया नाम दिईएको भएपनि भाषणमै कार्यक्रम टुंग्गियो । एउटा नयाँ काम भनेको नेपाली समुदायका विभिन्न खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन भयो । खासै दर्शक दीर्घाबाट अन्तरकृयामा आफ्ना विचार र प्रश्नहरु राख्ने मौका भने मिलेन । त्यसै क्रममा उद्योगपति विनोद चौधरीबाट लेखिएको आत्मवृतान्तको पुस्तक पनि बिक्रीका लागी राखिएको थियो जसको मुल्य $२० कायम गरिएको थियो र जसबाट प्राप्त हुने आम्दानी कार्यक्रम संचालन भएको रेष्टुरेन्टको हल र खाना खर्चमा खर्चिने कुरा बताईएको थियो ।
म कार्यक्रममा सहभागी हुनुको मुख्य कारण मध्ये त्यो पुस्तक किनेर पढ्न पाईन्छ की भन्ने आशाले पनि थियो किनकी अन्य स्टेटहरुमा समेत त्यसरी पुस्तक बिक्रीका राखेको लाईभ कार्यक्रम हेर्दा देखिएको थियो । कम्तीमा त्यो पुस्तकको चर्चा अमेरिका तिर निकै भएको पाईयो र खास पुस्तकमा के रहेछ भन्ने जान्ने उत्सुकता ममा पनि रहेकोले पुस्तक मैले पनि तोकिएको मुल्य तिरेर नेपाली भर्सनको किनेर साथमा राखिरहेको थिए । सबैले फोटो खिचिरहदाँ म पनि अछुतो रहिन र कतिपय फोटोहरु पुस्तकनै समातेर खिचियो । कार्यक्रमको अन्तिम सम्म बसियो, कतिपय नचिनेका व्यक्तीसँग हल्का परिचय पनि गरियो ।
औपचारिक कार्यक्रम समाप्त भएपछि पनि समुहमा फोटो खिचाउने क्रम बढ्यो र त्यसमा सहभागी भएर अरुको मोबाईलबाट फोटो खिचिदिने क्रममा मेरो साथमा रहेको पुस्तक नजिकैको कुर्चीमा राखेको थिए । फोटो खिच्ने र खिचाउने क्रममा पुस्तक त्यही भुलिएछ । त्यसै समयमा एनआरएन आईसीसीका उपाध्यक्ष कुमार पन्तसँग एक दुई शव्द बोल्न मन लाग्यो र उनीसँग आफ्नो विचार राख्दै भने “अव एनआरएनले नेपाल बाहिर बस्नेहरुलाई ध्यानमा राखेर पनि विशेष कार्यक्रम गर्नु पर्छ जसमा विदेशमा स्थायी बसोबास गरेर बसेका नेपालीहरुकै लगानी गरेर उद्योग-व्यवसाय खोल्न संभव भएका अमेरिका, बेलायत, युरोपका देश लगायतमा नेपालीले नेपालीहरुलाई रोजगार दिन सक्ने आधार खडा गर्नको लागी कार्यक्रम अगाडी बढाउनुहोस् । एकल लगानीमा साना व्यवसाय मात्रै हैन, Joint venture वा कम्पनी स्वरुप वा चेन स्टोरको रुपमा साना-तिनो लगानीहरुलाई एकिकृत गरेर सबै नेपाली समुदायको स्वामित्व हुने गरि व्यवसाय संचालन गर्ने काम होस् त्यति गरेपछि अन्य कामले त्यसै बाटो लिन्छ भने र प्रतिउत्तरमा उनले भर्खरै हुनगईरहेको एनआरएनको क्षेत्रीय सम्मेलनमा यसबारे व्यापक छलफल हुने कुरा बताए ।
यस्तै छोटो गफगाफ पछि हामी सबै कार्यक्रम स्थलबाट बाहिर गयो र आ-आफ्नो गन्तव्य तिर लागियो । त्यसरी डेरातिर फर्किदै गर्दा आधाआधी बाटो करिव १०-१२ मिनेटको ड्राईभमा आईपुग्दा उक्त पुस्तकको याद आयो र पुस्तक कार्यक्रम स्थलमा छुटेको संझिएर त्यही स्थानबाट फर्किएर कार्यक्रम स्थल “माउन्ट एभरेष्ट रेष्टुरेन्टमा पुगियो । रेष्टुरेन्टको ढोका बन्द थियो, हामी दुईजना (साथी र म ) पुगिसकेपछि एकछिन पछि भित्रबाट त्यहाँका कर्मचारीबाट ढोका खोलेर के कामले आउनु भयो भने र तिनको प्रतिउत्तरमा भित्र पुस्तक छुटेछ त्यही लिन आएको भनियो र ढोका खोलेर भित्र गएर हेर्दा पहिलाका अव्यवस्थितरुपमा रहेका कुर्चीहरु सबै मिलाएर राखिएको पाईयो तर जुन स्थानमा पुस्तक राखिएको थियो त्यहाँ पुस्तक भेटिएन । ती कर्मचारीलाई सोध्दा आफुहरुलाई थाहाँ नभएको कसैले लगेर गएको हुनसक्ने बताए र अझै ” कुनलाई लोटरी चिठ्टा पर्यो ” भने । त्यो सुनेर आश्चर्य पनि लाग्यो जावो $२० डलरको पुस्तक फोकटमा मिल्नु कौनसा ठुलो लोटरी पर्नु हो र भन्ने पनि मनमा तरंग खेल्यो । त्यो भन्दापनि पुस्तक पढेर केही कुरा जान्ने, बुझ्ने र विश्लेषण गर्ने रहर भने पुरा नभएको संझेर दिक्क लाग्यो र अर्को तर्फ मानिसहरुको ईमान्दारिता र लुच्चापन देखेर दया र आक्रोस मनमा उठ्यो ।
जावो एउटा पुस्तकमा चित्त थाम्न नसक्नेहरुले अमेरिका वा संसारकै जतिसुकै सम्पन मुलुकमा गएपनि आफ्नो आनाबानी र सोचमा के पो परिवर्तन आउँला र आफ्ना बालबालिकाहरुलाई चरित्रवान र नैतिकवान बनाउन सक्लान् भनेर खुल्दुलीले मन र मुटु धेरैबेर सम्म हल्लाई रह्यो । कम्तीमा त्यसरी कसैले छोडेको चिज भेटे पछि उक्त रेष्टुरेण्टको काउन्टरमा कर्मचारीलाई छोडिदिनु पर्ने र भन्नु पर्ने कोही पुस्तक लिन आएमा आवस्यक कुरा सोधेर दिनुहोला । त्यस्तै अन्तिम तिर सबै गईसकेपछि त्यहाँका स्टाफहरुले भेटेको भएपनि सबैकुरा बताईसकेपछि रातीको ११.३० मा फर्की-फर्की पुस्तकको लागी जाँदा ईमान्दारिताका साथ दिनुपर्ने । यी दुवै कुराहरु त्यहाँ देखिएन र संभावना पनि दुईवटा मात्रै रह्यो कि त कार्यक्रममा सहभागी हुनआउने मध्ये बाट  पुस्तक लैजानु पर्ने वा अन्तिम सम्म त्यही छुटेको भए स्टाफहरु मध्ये कसैले भेटेर आफुले लैजान राख्नु पर्ने । यी मध्ये एउटा कुरा त पक्कै हुनसक्छ किनकी मैले त कुनैपनि हालतमा त्यहाँबाट पुस्तक बाहिर साथमा लिएर आएको छैन ।
यसरी हेर्दा के देखियो भने हामी नेपालीहरुको अझै पनि चित्त र पित्त निकै छोटो छ तर गफ भने संसार बदल्ने बारे घण्टौ प्रवचन पनि दिन सक्छौ । तर एउटा कुरा सत्य के हो भने संसार बदल्नु पहिला आफ्नो आचरण बदल्नु पर्छ र त्यसमा पनि हरेक क्षेत्रमा र सानो सानो कुरामा पनि ईमान्दार हुनै पर्छ । तसर्थ हामीले अझैपनि संस्कार, नैतिकता र ईमान्दारिता सिक्न र व्यवहारमा लागु गर्न सक्ने हुन आवस्यक छ । सैदान्तिक ज्ञान र अरुको देखेर कुरा गर्न खप्पिस भएर हुँदैन आफु पनि सत्मार्गमा हिड्न सक्नु पर्छ । विदेशमा आएर केही नयाँ कुरा सिक्न सकिदैन र नेपालकै पारामा व्यवहार देखाईन्छ भने त्यसको कुनै औचित्य रहदैन । अत: आज यो सानो घटनाले पनि हामीले सुधार गर्नुपर्ने बानीब्यवहारको पाठ सिक्न र सिकाउन केही मात्रमा घोतलिन बाध्य बनाएको छ ।