विचार

माओवादी जनयुद्धको दश बर्षलाई नारी सशक्तिकरणको स्वर्णकाल भनूकि ?

NishaAryalसुन्दै, देख्दै र पढ्दै आएकोले मेरो विचार आज फेरी राख्न मन लाग्यो किन कि हरेक पटक सरकार फेरिदा र मन्त्रिपरिषद विस्तार हुदा बहस हुने थुप्रै विषयमध्ये अग्रपंक्तिमा आउँछ महिला सहभागिताको कुरा । यसपाली त झन बहसले अझै धेरै प्राथमिकता पाएको देखिन्छ | किन भने ५० प्रतिशत महिला सहभागिताको वकालत गर्दै थुप्रै दिदीबहिनीको काँधमा बन्दुक थमाएर सोही बन्दुकको भरमा मूलधारको राजनीतिमा प्रवेश गरेको माओवादीको नेतृत्वमा तेस्रो सरकार बनेको छ भने सो पार्टीका सुप्रीम कमाण्डर प्रचण्ड स्वयं दोस्रोपटक प्रधानमन्त्री भएका छन् । त्यसकारण उति बेलै उनीमाथि भरोसा गरेकाहरूले यसपाली आशा गर्नु अस्वाभाविक थिएन ।

हुन त कुरा उठाउदै गर्दा ८ जना प्रधानमन्त्रीसहित १ सय ८५ जना पुरूष मन्त्रीमध्ये कति जनताले उल्लेख्य काम गरे र भन्ने प्रश्न उठ्न सक्ला । तर हामी महिला सहभागिताको विषयमा कुरा गर्ने र महिमालाई ठाउँ दिइन भन्ने गुनासो गरि रहनेहरूले छातीमा हात राखेर आफैलाई सोधौंन , महिला मन्त्रीहरू हुँदा खादा बोकेर शुभकामना दिन दौडिनेहरूले उनीहरू सरकारबाट बाहिरिदै गर्दा के कति काम गर्नु भयो भनेर फ़ेहरिस्त माग्न किन सिकेनौ ?

यदाकदा पुरूष मन्त्रिहरूको चर्चा भए झैं महिला मन्त्रीको सकारात्मक चर्चा किन भएन ? यो आलेख तयार पार्ने सिलसिलामा मैले केही व्यक्तिलाई सोधें , ‘ तपाईंले ०६३ सालयता यता राम्रो कामका हिसाबले कोही महिला मन्त्रीलाई सम्झिनु पर्यो भने कसलाई सम्झिनुहुन्छ ? अंह कसैले पनि महिला मन्त्रीको नाम लिन सकेनन । तर मेरा आँखामा नाचिरहेका थिए , गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा परराष्ट्रमन्त्री भएकी सहाना प्रधान देखि केपी ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी बहन गरेकी रेखा शर्मासम्म ।

अनि फेरी मैले अरू केही व्यक्तिलाई प्रश्न गरें | ‘ तपाईं खराब कामका आधारमा हाम्रा महिला मन्त्री सम्झिनु पर्यो भने कसलाई सम्झिनु हुन्छ ?’ जवाफ दाताहरूले खर्रर नाम जनाउन थाले । यही १० बर्षमा राजनीतिलाई मुख्य विषय वस्तु बनाएर उनीहरूको जवाफ उचित – अनुचित लागेन । लिंगमा हामी पक्षपाती भएर इतिहास बदल्न सक्दैनौ , उनीहरूले उच्चारण गरेका नामहरू आफ्नो कार्यकालमा विवादरहित होइनन ।

यही तथ्यलाई आधारमा टेकेर मलाई प्रश्न गर्न मन लागेको छ ।, हामीलाई धेरै महिला मन्त्री चाहिएको हो कि अत्यधिक महिलाको पक्ष हुनेगरी निर्णय ? मलाई अझै पनि लाग्छ , एक जना सामान्य महिला सरकारमा आफुजस्तै अर्की महिला नेतृत्वमा पुगेकोमा त खुशी हुन्छिन नै | त्योभन्दा धेरै खुशी महिलालाई सक्षम बनाउने गरिएका योजना , नीति कार्वान्वयनमा आउँदा हुन्छिन । आरक्षण होस या समानुपातिक सहभागिता होस, नीति निर्माण तहमा पुगेका महिलाले आफूलाई पुष्टि गर्न सक्नुपर्छ । राजनीतिमा महिलाको जोश , हौसला अग्रसरता असाध्यै न्युन देखिएको छ । के पुरूषहरूले दिने र महिलाहरूले लिने चलन अन्त्य गर्न महिला स्वयं अग्रसर हुन पर्दैन ?

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.