विचार

राजनिती देश लुट्ने लाईसेन्स हो !

mahesh-nepalबिहिबार प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गरे । निकै लोकप्रीय कार्यक्रमहरु घोषणा गरे, यसो भनौं फलाके । पूरा गर्नु पर्ने भए त घोषणा गर्न पनि डराउँथे होला । पूरा गर्न नपर्ने घोषणा जे-जे गरेनी भो । जनता उल्लु बनाउनु छ, अहिले सम्मको सरकारले घोषणा गर्नमै त प्रतिस्पर्धा गरिरहेको छ । विकास गर्ने प्रतिस्पर्धा हुने भए घोषणा गर्नै पर्दैन नि । खुरुखुरु बिकास गर्न लागे कहाँ बोल्ने फुर्सद हुन्छ र ? यस्तो गर्छु, उस्तो गर्छु भन्यो मान्छेलाई आकर्षण गर्‍यो लोप्पा खुवायो । केही महिना पनि नटिक्ने सरकार हरुको के आशा गर्नु, के भरोसा गर्नु ?

समय पुगेपछी बाहिरिने सरकार भए विकास जन्माउँथ्यो होला, बेलै नभै तुहिने सरकारको के अपेक्षा गर्न सकिन्छ र ? मन्त्री छान्दैमा ३ महिना सकिने रहेछ । बिर्षौदेखि यहि फोहोरी खेल चल्दै आएको छ । आफुले भने अनुसार भयो भने बिचार, सिद्धान्त, आदर्श सबै तिलाञ्जली दियो, देश लुट्न जुन कुनै पार्टिको पछि लाग्यो । हैन भने बकुल्लाले माछा कुरे जसरी कुरेर बस्यो, मौका आएसी गयो कुम्ल्यायो । वाह ! मेरो देशको राजनितिको सिद्धान्त `पर्ख हेर र लुट´ । सयको हाराहारिमा राजनितिक दल छन । हरेकले एक-एक काम मात्र गरे पनि देश कहाँ बाट कहाँ पुग्थ्यो । बिरोध गर्ने समय विकासमा खर्चे किन चाहियो बन्द हडताल ? किन चाहियो सिद्दान्त ? सरकारमा हुँदा सिन्को भाँच्ने हैन । विकास गरे त हरेक नागरिकले जय जयकार गाउँछन ।

दलहरु बिच विकास गर्नमा प्रतिस्पर्धा हुन्थ्यो भने देश कहाँबाट कहाँ पुग्थ्यो । यहाँ त साम, दाम, दण्ड भेद सबै प्रयोग गरेर जसरी हुन्छ सरकारमा जाने । त्यसपछी आफ्ना कार्यकर्ता, आफ्ना नातागोता, आसेपासे लाई राम्रो राम्रो ठाउँमा भर्ती गर्ने । जनतालाई त ललिपप देखाउने हो अनि खुवाउने हो लोप्पा । २० औं बर्ष देखि यो फोहोरी खेल चलिरहेको छ, चलिरहन्छ । विकास हुने देशमा च्याउ उम्रे जसरी पार्टी खुल्दैनन । सयको हाराहारिमा पार्टी हुने देशमा एकपटक सरकारमा गएपछी अब फेरि सरकारमा जाने पालो कहिले हो कहिले, जनताले पत्याउँछन, पत्याउँदैनन अनि सरकारमा पुग्या बेलामा लुट्न परेन ? चुनावमा त पैसा बाँडे जिति हालिन्छ अनि सकेको पैसा जम्मा गर्नु परेन फेरि सरकारमा जान ?

देश बनाउन जानेका भएपो विकासका कुरा गर्नु, शान्ती सु-ब्यवस्था, राम राज्यका कुरा गर्नु । आफू करोडपति बन्न र आफ्ना हनुमानहरुलाई करोडपती बनाउन जाने भएसी जनतालाई लडायो, कहिले के नारा दियो, कहिले के नारा दियो, आफू मोज गर्‍यो । जनतालाई सँधै बेवकुफ बनाईएको छ बिगत देखि बर्तमान सम्म । जनताले भरिएका देशको रवाफ, सान नै बेग्लै हुन्छ, विकासको गती नै अर्कै हुने रहेछ । बिश्वका कयौं मुलुक छ्न जसले प्रगतिले शिखर चुमिसके ।

दुनिया २१ औँ शताब्दिमा दौडिरहँदा हाम्रो अवस्था १८ औँ शताब्दी बाट माथी उठ्न सकेको छैन । सुडान, सोमालिया, कँगो खान नपाएर भोकमरिले सक्कियो भनेर मिडिया भरिन्छ तर कर्णालिको ब्यथा त्यहाको भन्दा भयाबह छ न बुझ्यौँ, न बुझाउन सक्यौं । एक किलो कुहिएको चामलको लागि हाम्रा दाजु-भाइहरुले कति दिन माया मार्छन र हाम्रा भाई बहिनीहरुले पढाइ माया मारेर भबिष्य कसरी अन्धकार बनाउन परिरहेको छ त्यसमा हाम्रो ध्यान एकदम कम जान्छ ।

हामी दिर्घकालिन रुपमा समस्या समधान गर्न कहिल्यै लागि परेनौं । सँधै आश्वासनले पेट भरिन्छ र मुलुकको काँचुली फेरिन्छ भनेर सँधै ठोकिरह्यौँ भाषण र खेलीरह्यौँ सत्ताको फोहोरी खेल र लुटिरह्यौं देश । देश बनाउने मन भए हरेक आर्थिक बर्षको अन्तिममा बर्षाको समयमा खोला बगाए जसरी पैसा हिलोमा डुबाईन्नथ्यो, बेलैमा विकास हुन्थ्यो र अन्तिममा विकास गर्न पैसा नपुगेको कुरा हिसाब किताब देखाईन्थ्यो । नेपालमा त राजनिती गर्नु भनेको देश लुट्ने लाईसेन्स प्राप्त गर्नु जस्तो भएको छ । सत्तामा पुग्न बाघले बाख्रा झम्टिन बाख्रो कुरे जसरी कुरेर बस्ने, देश लुट्ने योजना बनाएर बस्ने र सत्तामा पुगेपछी सिनित्तै पारेर देश लुट्ने ।

भाषण र अस्वासनका मात्र कुरा तिनले गर्छन जसले, जनताको बिश्वास माथी बलत्कार गर्छन । राम, श्याम, हरि जो जावस सरकारमा हामिलाई मतलब भएन । तर हामी बिश्वकै गरिब देशका नागरिक भएर बाँच्न नपरोस । सँधै बिदेशिको गुलाम बनेर, माग्ने भएर रहन नपरोस । आफ्नो स्वाभिमानमा बाँच्न पाईयोस । आफ्नै पाखा पखेरामा उम्रीएको गिट्ठा भ्याकुर खाउँला तर बिदेशीले ‘ला’ भनेर दिएको हात थापेर खान नपरोस ।

जय देश ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.