विचार साहित्य

कथा- “दे आर माइ ट्विन्स”

“आउनुस भित्र ।” मैले ढोका टकटक गरेपछी उनले हामिलाई भित्र बोलाइन । उनी थिइन एउटा फेमस गाइनोकोलोजिस्ट । मेरी श्रीमती एउटा हातले पेटमा र अर्को हातले मेरो दाहिने हात समातेर पछि पछि भित्र छिरिन । पुषको महिना थियो, म बेन्चमा बसेर उनलाई डाक्टरको अगाडीको घुम्ने कुर्चीमा बसालिदिएँ । श्रीमतीको गाला र ओठ फुटेका थिए, अनुहार केहि सुनिएको थियो ।

“तपाइँको टेस्ट सकियो, रिपोर्टको लागी फोन गरेर आउनु होला, पर्सी तिर ।” नजिकै उभिएकी अर्की महिलातर्फ इङ्गित गर्दै डाक्टरले भनिन । फुरुङ्ग छोडेको कपाल, घाँटीसम्म आएको कालो हाइनेक र चिल्लो गाला, ओठमा मात्र टिपिक्क लगाइएको लिपिस्टिक, अनि तलपट्टी फिटिङ पाइन्ट । अनुहार चाहिँ फुङ्ग उडेको जस्तो । मसंग आँखा ठोकियो, मैले छोडेको मुस्कानको बदलामा उनी मुस्कुराइनन । डाक्टरले एउटा पानामा केहि लेखेर दिइन । उनी त्यो समातेर फटाफट बाहिर निस्किन, ढोका ढ्याम्म लाग्यो ।

डाक्टरले आँखामा टर्च बालेर हेरिन, “छैन छैन जन्डिस”, त्यसपछी ब्लड प्रेसर नाप्न लागिन । “कति भो रे ?” “मैले भनें, “७ महिना भो ।”

“कति पटक यु एस जि गराउनु भयो ?”

“२ पटक ।” श्रीमती बोलिन ।
“त्यसो भए आज हेरौं एकपटक, यो चिसो बाट जोगिनु पर्छ । अनुहार पनि चिसो ले फुलिएछ ।” गाला छाम्दै डाक्टरले भनिन ।

हामी सरासर माथी ल्याबमा गयौं । त्यहाँ एकजना मान्छे ढोकामा उभिइरहेका थिए । तल पट्टीको रेस्टुरेन्ट प्रष्ट देखिन्थ्यो । अघिकी महिला त्यहिँ बसेर चिया पिउँदै थिइन । श्रीमती भित्र छिरिन, म बाहिरै बसें ।

“एकदम राम्रो छ, टेन्सन नलिनुस । बरु अलि बढी वहाँको ख्याल राख्नुस, केहि औषधि लेख्दिन्छु, अनि त्यो संग क्याल्सियम खुवाउन नभुल्नु होला ।” डाक्टर पहिला बाहिर आइन । मैले हस भनें । अफिसमा पुगेर औषधिको स्लिप लिएर हामी बाहिर निस्क्यौं ।

“फोन गर्नुहोला, आवश्यक भयो भने ।” उनले भनिन ।
“हस, थ्यांक यु” श्रीमतीले भन्दै गर्दा म बाहिर निस्किसकेको थिएँ ।

“अब म बाहिर निस्किन सक्दिन, त्यो एक बाल्टी कपडा पनि त्यसै छ ।” घर पुगेर बिस्तारामा बसिसकेपछी श्रीमतीले अलि डेरा आँखा गरेर चर्को स्वरमा भनिन ।

“मै गरुँला त नि ।” म अर्को तर्फ फर्किएँ ।
“हेर्नु न, मेरो गाला फुटेर !” उनी सहज भइन ।
नजिकै टेबलमा रहेको बोरो प्लस हातमा लिएर मैले गालामा लगाइदिने निहु पारेर एकपटक क्वाप्प टोकें । “सन्चो त अब यसरी हुन्छ ।”

“ऐया ! यस्तो बेलामा दुख्छ पनि नभन्नी” गाला छाम्दै उनी अर्को तिर फर्किन ।

मैले चुपचाप गालामा क्रीम लगाइदिएँ । उनी ठुस्किरहिन ।

तेस्रो दिनमा उनले राती देखी नै असहज मानिरहेकी थिइन । हल्का ज्वरो देखियो, डाक्टरले ज्वरो आउँदामात्र खानु भनेर दिएको औषधी मुखमा राखिदिएँ, कम भयो । अनि फोन लगाएँ डाक्टरलाई । उनले ढाडस दिइन । त्यो रात बित्यो, बिहानै चेक गराउन जाउँला भनेर छिट्टै उठियो । तर उनका पैताला सुनिएका थिए । ५ मिनेटको बाटो थियो जम्मा, “के गरुँ ? अब बोकेर लैजाउँ ?” मैले भनें ।

“नाइ, हजुर गएर आउनुस, म तातो पानीले खुट्टा सेकेर बस्छु ।” उनले नजाने बहाना गरिन । मैले फेरि फोन लगाएँ, “यो नर्मल स्वेलिङ हो, तपाई मात्र आए पनि हुन्छ, म केहि मेडिसिन प्रेस्क्राइब गर्छु ।” डाक्टरले भने पछि म निस्कें ।

मैले अफिसको ढोका टकटक गर्नु अगाडी भित्र कसैले चर्को बोलेको आवाज सुनें ।

“मैले पहिल्यै भनेको हो, उसले मान्दै मान्दैन । सँधै मलाई मात्र दोष दिइरह्यो । यत्रो पैसा खर्च, यत्रो औषधी मैले आजसम्म यत्तिकै खाएर बस्नु पर्यो ।”

एकजना क्लिनर भाइ ढोकाबाट फुत्त निस्कियो, म त्यही खुलेको ढोकाबाट लुसुक्क छिरें । त्यही अस्तिकी महिला डाक्टरको अगाडी उभिएर, ठुलो हाउभाउ देखाएर कुरा गरिरहेकी थिइन । म भित्र छिरेको देखेपछी अलि कम भइन ।

“कहाँ हुनुहुन्छ तपाईंको श्रीमान ?” डाक्टरले सोधिन ।

“कहाँ हुनु नी, फुर्सद कहाँ छ र ? अस्ति थाइल्यान्डबाट फर्केको दिनै काम छ भनेर पोखरा गयो । आफ्नो कमजोरी हो भन्ने थाहा पाएपछी त उसले आफैले केहि गर्नुपर्ने नी !” उनी कड्केर बोलिन ।

“रिपोर्टमा तपाइँको केहि समस्या छैन । मलाई ‘एनोभुलेसन’ हो की भन्ने शंका लागेको थियो, तर त्यस्तो छैन । तपाइँको पिरियड सहि टाइममा भएको पनि छ । सेक्सुअल इन्टरकोर्स चार्ट फलो गर्नु भयो भने, तपाईंको बच्चा हुन सक्छ । तर अझै भएको छैन भने समस्या तपाइँको श्रीमानमा नै भएको हुनु पर्छ । हरेक शनिवार यहाँ डाक्टर भद्रा आउनुहुन्छ, तपाइँको श्रीमानलाइ यहाँ पठाइदिनु भयो भने वहाँले राम्रो ट्रीटमेन्ट गर्दिनुहुन्छ ।” यति भनेर डाक्टर चुप लागिन ।
ति महिलाले पनि बोल्ने कुरा केहि पाइनन । म चुपचाप सुनिरहेको थिएँ । डाक्टरतिर फर्केका मेरा आँखा एकपटक फेरि उनको आँखासंग जुद्न पुगे । यसपाली उनी मुस्कुराइन, तर अनुहारमा पिडाको झल्को स्पष्ट देखिन्थ्यो ।

“एक्स्क्युज मी, यो तपाइँको श्रीमतीलाई दिनुस । अनि तातोपानी प्लास्टिकको ब्यागमा राखेर बिहान बेलुका छाती, पेट र पैतालामा सेकिदिनुहोस । डेट भन्दा केहि दिन पहिला ल्याएर एकपटक फेरि चेक गरौंला, धेरै नै ज्वोरो आयो भने, ल्याउनुस ।”

कागजमा केहि लेखेर मलाई दिँदै गर्दा, ति महिलाले भनिन, “ओके, आइ विल ट्राइ टु कन्भिन्स हिम, वी विल ह्याभ अ डिसिजन एन्ड कम ब्याक अगेन, थ्यांक यु डक्टर,” डाक्टरले टाउको हल्लाएपछि उनी बाहिर निस्किन, मैले पनि थ्यांक यु भन्दै निस्कें ।

“एक कप कफि र चुरोट नपिइकन के जानु ?” म रेस्टुरेन्टतिर हानिएँ । उनी पनि त्यहिँ जाँदै रैछिन, एउटा टेबलमा ब्याग थ्याच्च राखेर बसिन । पछि पछि जाँदै गरेको म, एउटा खिल्ली चुरोट माग्न रिसेप्सन तिर जानै लाग्दा आवाज आयो, “एक्स्ज्युज मी”

मैले फनक्क फर्केर हेरें, उनै थिइन, घाँटी तानेर मेरो अनुहारमा पलक्क हेरिन ।

“तपाइँको समस्या के थियो र ? डाक्टरले के भन्नु भो ?” उनले मलाई बस्न इशारा गरेर अलि कुनामा सर्दै सोधिन । म अक्क न बक्क परें ।

“एक्चुअल्ली प्रीग्नेन्सी फलो अप हो ।” मैले जवाफ दिएँ । “बस्नुस न !” अर्कोपटक आग्रह गरिन ।

“इफ यु डन्ट माइन्ड, तपाइँको यो पहिलो पटक हो ?”

“होइन, छोरा छ, ४ बर्षको ।” म असहज परिस्थितिमा पनि सहज बन्न बाध्य थिएँ । वेटर आयो, “के पिउने, कफी ?”
“हुन्छ”
“भाइ दुइ कप ब्ल्याक कफी ल्याउ ।”

“एउटा सूर्य पनि !” मैले ओठमा दुइवटा औँला लगेर इशारा सहित वेटरलाई सम्झाएँ ।

एस्ट्रे सहित सूर्य आयो, “तपाइँलाई अप्ठेरो त लाग्दैन ?” मैले सलाइ कोर्नुभन्दा अगाडी सोधें ।

“नो नो, प्लिज”

कफि आधा हुनै लाग्दा उनले सोधिन, “कहाँ बस्नुहुन्छ ?”

“उ त्यहाँ नजिकै, पिपलको चौतारो छ नी, त्यहीँ ।” मैले अर्को हातको चोर औंलाले देखाएँ । “अनि तपाई ?”

“साइनिङ कम्प्लेक्स छ नी अलि पर, त्यहिँ बस्छु । मेरो श्रीमानको बिजनेस हो ।”

“बाफरे बाफ, करोडौंको मालिक ?” मैले मनमनै सम्झेर जिब्रो टोकें ।

कफी सकिएपछी म उठें, उनले वेटरलाई बिल ल्याउन आग्रह गरिन । “हतार छ र ?”
“नाइँ छैन ।”
“के गर्नुहुन्छ ? आइ मिन जब, बिजनेस ?”

“ग्यालेक्सीमा पढाउँछु । २ बर्ष भयो, बुढीले आइएनजिओमा काम गर्थिन, अहिले छोडिन ।”

“अनि घर चाहिँ कहाँ नी ?”

“मेरो घर काभ्रे ।”

“इन्टरभ्यु जस्तो भयो है, तपाईलाई अप्ठ्यारो लाग्यो । मैले मात्र सोधें एनिवे सरी ।”

“नाइँ नाइँ , किन त्यस्तो हुनु ? बरु तपाइँको के समस्या थियो र ?” मैले सबै जानेर पनि सोधें ।

“हेर्नु न, चार बर्ष भैसक्यो, छोराछोरीको रहर त हो । उ कहिल्यै घर बस्दैन, जतिखेर पनि पैसाकै हिसाबमा बिजी हुन्छ । अझै बच्चा बसेन भनेर म कति ठाउँमा डुलें । लास्टमा आएर डाक्टरले उसको फल्ट हो भन्छ ।”

“नआत्तिनुस, आजको प्रबिधीमा ठिक नहुने भन्ने प्रश्नै छैन । कसै भएन भने अन्य तरिकाहरु पनि छन नी ।” मैले लामो सास फेरेर ढाडस दिन खोजें ।

“अन्य तरिका भन्नाले ?” उनी जिज्ञासु बनेर सोधिन ।
मलाई भने कतिखेर निस्कुँ भैरहेको थियो ।

“अ.. अ.. अन्य तरिका भन्नाले, एडप्ट गर्ने जस्तै । अनि टेस्ट ट्युबबाट पनि हुन्छ ।”

“त्यो त हो हुन त, मेरो कर्मै खोटो ।” उनी घोप्टो परिन । एउटा टिस्यु लिएर नाक पुछिन, लिपिस्टिक ओंठ मुन्तिर लाग्यो । म केहि बोलिन ।

“ओके, घरमा तपाइँको वेट गर्दै हुनुन्छ होला, मैले भुलाइदिएँ । दिस इज माइ बिजनेस कार्ड, सपिङ गर्न आउनु भयो भने फोन गर्नुस न, म डिस्काउन्ट मिलाइदिन्छु नी ।” उनी ओठ नखोलिकन हाँसिन । यसपाली चाहिँ उनको अनुहार प्रष्ट थियो, शायद मनै देखी हाँसेको हुनुपर्छ ।

“थ्यांक यु, म पनि फिस्स हाँसे ।”

“योर गुडनेम ? हेर्नु न, मैले नाम सोध्न पनि बिर्सेको ।”

“बिक्रम, अनि तपाईंको ?”
“श्रेया”
“थ्यांक यु श्रेया जी, सि यु”
“बाइ, सि यु “

टिभी हेर्दै थिइन, “हेर्नु न, त्यस्तै खेलौना ल्याएर कोठा सजाउँ न ।” शायद त्यो बिज्ञापन थियो । बच्चाका खेलौनाहरुको ।

“छोरो पाउनु कहिले कहिले, कोक्रो बुन्नु अहिले ।नचाहिने कुरा, पछि ल्याउंला ।” म झर्कें ।

“छ्या, ल्याउनु न जानु, अब नयाँ मान्छे आउँदै छ, उ यो कालेले पनि खेलाउला ।” सताइरहेको छोरोतर्फ इङ्गित गर्दै भनिन ।

शनिबारको दिन, छोरोलाई बाइकको अघि राखेर बजार निस्कें । यता जाउँ र उता जाउँ भनेर उसले औंलो देखाइरहन्थ्यो । दाहिने तिर साइनिङ कम्प्लेक्स देखेपछी म टक्क अडिएँ, पार्किङमा बाइक राखेर छोरालाई चोर औंला समाउन लगाएर हामी भित्र छिर्यौं ।

श्रेयालाइ रिसेप्सनमै देखें, क्यासियरसंग कुरा गर्दै थिइन । “हाइ श्रेया जी !” उनी झस्केर पछि फर्किन ।

“हेल्लो, तपाई कसरी यहाँ आज ?”

“बाटबाटै !” सटकटमा उतर दिएँ । दाहिने हातले कुममा धक्का दिँदै भनिन, “तपाई पनि !”
“यो छोरा हो ?” मैले “यस” भनें ।
जुरुक्क उठाएर काखमा लिइन, “कति क्युट ?” म्वाइ खान शुरु गरिन । “ल भन बाबुलाई के चाहिएको हो ?”

उ सरासर साइकल तिर गयो । एउटा स्पोर्ट साइकल समातेर मलाई पुलुक्क हेर्यो ।
“लौ बित्यास पार्यो ।” मैले गोजी छामें ।

“लेट्स गो अप एन्ड ह्याभ द सेम ब्ल्याक कफी अगेन ।”
छोराले छोड्न नमानेको साइकललाई उनले छुटाइन, “जाँदा लिएर जाने है, अहिले हामी क्याडवरी खान जाउँ माथी, आउ बाबु ।” छोराले एकैपटकमा भनेको मानिहाल्यो । खै कसरी मान्यो कुन्नी, म संग त जिद्दी गरिरहन्थ्यो । हामी सरासर माथी लाग्यौं ।

माथी पुगिसके पछि, फ्रीजबाट एउटा किटक्याट निकालेर छोरोलाई टक्र्याईन । “ए नानी, नानी ! बाबुलाई कम्प्लेक्स घुमाएर ल्याउ ।” काम गर्ने केटीलाई बोलाइन । छोराले पुलुक्क मुखमा हेर्यो, मैले आँखाले जाउ भन्ने इशारा गरें । तिनिहरु बाहिर निस्के ।

छोरा छ महिनाको भैसकेको थियो, घाँटी घ्यार घ्यार गरेको थाहा पाउने बित्तिकै हामी छोरालाई बोकेर उही क्लिनिक गएका थियौं । बच्चालाई हेर्ने डाक्टर अर्को रुममा हुने भएकाले, ति पुरानी डाक्टरलाई हाइ मात्र भनेर हामी अर्को रुममा लम्कियौं ।

नयाँ डाक्टर रहेछ, स्टेथेस्कोप लगाउँदै डाक्टरले छाती चेक गरिरहेको थियो । “मेडिकल हिस्टोरी देउ न, ब्यागमा छ ।” उनले ब्यागबाट फाइल देखाउन थालिन । छोरा मेरो काखमा थियो ।

“एक्युट निमोनियाको सिन्ड्रोम देखिएको छ, एन्टिबायोटिक खुवाउनु पर्छ, तर त्यो भन्दा अगाडी निबुलाइजेसन गरौं ।” डाक्टरले त्यसो भनेपछी हामी माथी ल्याबमा आयौं । छोरालाई श्रीमतिले लिइन, अनि बिस्तारामा सुताएर बाफ नाकमा लगाइयो ।

“यो बटनले प्रेसर बढ्छ, नदबाउनुहोला ।” सेतो कोट लगाएको ल्याब एसिस्टेन्टले भन्यो ।

“ल म एकछिन बाहिर गएर आउँछु है, छोरालाई हेर्दै गर ।” म बाहिर बरन्डामा निस्कें, गोजीबाट सूर्यको प्याकेट निकालेर एउटा खिल्ली ओठमा लगाउँदै लाइटर झोस्न के लागेको थिएँ,अर्को रुममा श्रेया भित्र पसीन । उनले मलाई देखिनन । फटाफट १०/८ सर्को तानेर म त्यही श्रेया पसेको रुमतिर लम्कें । ढोका बन्द थियो, तर बाहिरबाट त्यही पुरानी डाक्टरको आवाज सुनें ।

“ट्विन्स भैसकेपछी अलि बढी पेट दुख्ने समस्या आइहाल्छ नी, तर हेर्नुस त, युएसजी एकदम राम्रो छ । दुइटैको डाइरेक्सन एकदम ठिक छ । अब २ महिना पछि गरौंला, त्यतिन्जेल आराम गर्नुस घर गएर ।”

मलाई त्यो सुनेपछी उकुसमुकुस भयो, बधाइ दिन चाहन्थें, तर त्यो सम्भव थिएन । हामिले अन्तिम चोटी भेटेको दिन उसले मेरो पिटी पोजिटिभ देखियो, अब कहिल्यै नभेटौं, एकले अर्कालाई बिर्सौं भनेकी थिइ । म चुप थिएँ ।

म फिस्स हाँसें, अनि फटाफट छोरालाई निबुलाइजेसन गरेको रुममा छिरें ।

घर गैसके पछि, बाथरुम भित्रबाट एउटा म्यासेज लेखें, त्यही बिजनेस कार्डमा भएको नम्बरमा, “कङ्ग्र्याचुलेसन टु अस श्रेया, दे आर माइ ट्विन्स”

रिप्लाई आएन, मैले पनि त्यसपछी कहिल्यै रिप्लाइ आओस भन्ने चाहिन ।

सम्पादकको अनुमतिमा स्वतन्त्रखवर बाट साभार गरिएको