विचार

यस म्यान कार्यकर्ता हैन असल जनता बनौँ आफैँ बन्छ देश

mahesh-nepalनेपालीमा एउटा भनाई छ ‘संगत गुना बुद्दि, बीउ गुना फल’ । हो त्यस्तै छ नेपालको स्थिती । हामी न राम्रा जनता बन्न सक्यौं , न राम्रो नेता जन्माउन सक्यौं । राम्रा जनता भए राम्रा नेता हुने हुन, राम्रो सोच भए राम्रो काम गर्ने हुन । दोषि हामी हौं, हामी स्वतन्त्र आँखाले हेर्नै नसक्ने भएका छौं । राम्रा कुरालाई राम्रा देख्न सक्दैनौ, सँधै हरेक कुरालाई राजनितिक आँखाले हेर्छौं । हामीलाई कुनै पनि कुराको बिश्वास लाग्दैन । बिरोध गर्ने हाम्रो बानी परिसकेको छ, बिरोध नगरी हामीलाई खाएको पच्दैन ।

अरुले गरेको जे केही कामको पनि बिरोध नगरे हामी आफुलाई कमजोर सम्झन्छौं । हामी हाम्रालाई मात्र राम्रा देख्छौं, आँखा बन्द गरेर उस्कै भजन गाउन थाल्छौं, रचनात्मक प्रतिक्रिया समेत हामी स्विकार्न सक्दैनौ, यसो भनौं हामीलाई अरुको अस्तित्व स्विकार्य हुँदैन । हामी यो भुलिरहेका छौं, जसले अरुको सम्मान गर्न जान्दैन उसले पनि अरुबाट सम्मान पाउँदैन । १०० प्रतिशत राम्रो केही हुँदैन, १०० प्रतिशत नराम्रो पनि केही हुँदैन । राम्रोको बिचमा नराम्रो र नराम्रोको बिचमा पनी राम्रो हुन्छ ।हामीलाई थाहा भएकै कुरा हो हिलोको बिचमा सुन्दर कमल फुल फुल्छ । सबै नराम्रा नेता थिएनन, नराम्राका बिचमा पनि राम्रा नेता थिए । बि.पी. कोईराला, मदन भण्डारी, लालबाबु, गोकर्ण बिष्ट, राजा महेन्द्र, बिरेन्द्र जस्ता मान्छे हिजो थिए, आज पनी त्यस्तै केही जनप्रीय नेता छन र भोली पनी हुनेछन । राम्रा, नराम्रा, बिकाश प्रेमी, देश द्रोही,राष्ट्र सेवक हरेक किसिमका नेता थिए, छन र हुने छन ।

हाम्रो देशमा जनता धेरै छैनन, नेता-कार्यकर्ता मात्र छन । घर-घर नेता, घर-घर कार्यकर्ता, आफ्नो आस्थाको पार्टीले जेसुकै गरेनी सहि । उस्कै जय जयकार गर्छौं । अर्को पार्टीले जति नै लोकप्रीय कार्यक्रम ल्याए पनि बेठिक ठान्छौं अनि न्वारान देखिको बल लगाएर बिरोध गर्छौं । कार्यकर्ता खुसी पार्न माउपार्टी जुनसुकै मूल्य चुकाउन नि तयार हुन्छन । कार्यकर्तालाई खुसी पार्दैमा सत्ताको म्याद सकिन्छ देश बिकास त डाँडापारिको घाम हुने भैहाल्यो । चाहे त्यो काँग्रेस, एमाले, माओवादी या अरु कुनै पार्टीले गरेको काम नै किन नहोस । केही गर्छु भन्ने मान्छेलाई प्रोत्साहन गर्न नसक्नु, कुरा मात्र काट्नु । आफ्नु बिपरितको पार्टी या बिचारधाराकोले राम्रो काम गरे ऊ लोकप्रीय हुन्छ, आफ्नो अस्तित्व संकट पर्छ भन्ठान्ने हाम्रो परिपाटिले हामी कहिल्यै माथी उठ्न सकेनौ । न आफुले गर्न सक्यौँ, न अरुलाई गर्न दियौं ।

जब राम्रो काम गर्ने पार्टी या ब्यक्तीलाई राम्रो काम गरिस भनेर स्याबासी दिने, हौसाला दिने र साथ दिने साथै नराम्रो गर्नेलाई  हतोत्साही गर्ने जनमानसको बाहुल्यता हुँदैन तब सम्म देश को स्थिती सुध्रेला जस्तो लाग्दैन । सुकुम्बासी देखि लिएर, मास्टर, बिद्यार्थी, निजामती कर्मचारी, आर्मी, पुलिस, पत्रकार, दलाल सबै नै पार्टीका कार्यकर्ता । सबैका हातमा पावर, को भन्दा को कम ? कहिले आफ्नो पार्टी सरकारमा जाला र मौका छोपौँला भनेर बस्छौं । कसरी देश लुट्न पाईन्छ, आफ्नो दुनो कसरी सोझिन्छ भनेर कुरेर बस्छौं र अर्काको सत्ता ढाल्न मरिमेटेर लाग्छौं । खै सचेत जनता?? जसले राम्रो काम लाई राम्रो भन्न र नराम्रोलाई बिरोध गर्न सकोस ।

हुन त पछिल्लो समय जागरुक युवाहरु पनि एकजुट हुन थालेका छन । जो स्वतन्त्र छन, जसले सहिलाई सहि र गलतलाई गलत भन्ने हिम्मत राख्छन । पेट भर्नकै लागी जयजयकार गर्ने, अन्धभक्त हुने परिपाटी जब अन्त्य भएर देशको बारेमा सोच्ने र हाम्रै पालामा देश परिवर्तन होस भनेर देख्न चाहने युवाहरुको बाहुल्यता हुन्छ तब नेपाली पसिनाले अरब सिञ्चित गर्नुपर्ने छैन, खैरा कपाल हुने र चिम्सा आँखा हुने हरुलाई ओके सर, सरि सर भन्न पर्ने छैन । यो देशले असल जनता खोजेको छ, पार्टिको यस म्यान हैन ।

एकपटक आफुले भोट दिएर गएको प्रतिनिधिले हामीले जुन अपेक्षाले जिताएर पठाएका थियौं त्यसै अनुसार काम नगरेपछि पनि पटक पटक जिताउने हामी गलत हौँ कि नेता गलत ? एक बोतल रक्सिमा बिक्ने हामी, एक बट्टा चुरोटमा बिक्ने हामी, चौतारिमा बसेर देश बनाउने कुरा गर्छौं र सराप्छौँ सात पुस्तालाई पुग्ने गरेर । हामी कहिल्यै हेर्दैनौ आफुतिर ऐना फर्काएर । पटक पटक धोका दिएको मान्छेलाई फेरि देश लुट्ने चाबी दिने को हो?? अमेरिकाको जनता हो? जापानको जनता हो ? जिताउँछौ तिनै लाउकेलाई अनि सराप्छौं धारे हात लगाएर । राम्रो बाली उब्जाउ हुन त मलीलो माटो चाहियो,पानी चाहियो, बेला बेलामा रेखदेख चाहियो । अनि राम्रो नश्लको बीउ चाहियो । 

हामी जनता सुध्रेर राम्रो मान्छेलाई माथिल्लो ओहोदामा जब सम्म पुर्‍याउन सक्दैनौं तब सम्म देश बन्ने वाला छैन । चौतारी, पँधेरा, चिया पसल र मेलापातमा फलानो नेता यस्तो र ढिस्कानो यस्तो भनेर भजन गर्दै गाउने दिन सकिने छैन । न सुध्रीन्छ देश, न हुन्छ बिकास, न निस्किन्छ निकास । जनता भन्दा बढि कार्यकर्ता भएको देशमा बिचार मिल्नै गार्‍हो । थरी थरिका पार्टी थरी थरिका बिचार । यताको चित्त बुझायो उता रिसाउने उताको चित्त बुझायो यता रिसाउने । कस्ले फकाउने कस्ले बुझाउने ?

जय देश !!!

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.