विचार

जातिय राजनिती गर्ने हुटिट्याँउहरु आकाश थाम्ने सपना नदेख

mahesh-nepalकालो-गोरो, पहाडको-तराईको, नाक थेप्चो-नाक लामो, त्यो भाषा बोल्ने-यो भाषा बोल्ने, यो हिन्दु-त्यो मुस्लिम, यो गाई खाने-त्यो सुङ्गुर खाने । यी यसरी एउटै परिवारका मान्छे बिच पनि जब छुट्याउन थालिन्छ । बुझ्नु जरुरी छ यो उँभो हैन उँधो लाग्ने मति हो । सबल बन्ने हैन सकिने मति हो । पछिल्लो समय नेपालमा पनि यो फोहोरी खेल सुरु भएको छ र  छताछुल्ल भएर मान्छे हरुको औकात असरल्ल पोखिन थालेको छ ।

जात-जातकै वकालत गर्ने बिश्वका कैयौं देश खरानी भएका छ्न । न अगाडि बढ्न सकेका छ्न न पछाडी फर्किन नै सकेका छ्न । सोचेका पनि थिएनन तिनिहरुले जात जातका कुरा उब्जाउँदा हामी सकिन्छौ, भोक भोकै मर्छौ र अभिभावक-बालबच्चा बिहिन बन्छौं, अनि गृह युद्धमा फस्छौं भनेर । उनिहरुले पनि यहि सोचेका थिए हाम्रै जातले जित्छ । हामी सबल अनि सक्षम बन्छौं तर भैदियो उल्टो । सुडान, सोमालिया, प्यालेस्टाईन, अफगानिस्तान, ईजरायल, कंगो, लेबनान यी पछिल्ला उदाहरण हुन । जंगलमा पशुहरु त कति मज्जाले मिलेर बसेका हुन्छ्न तर पशु भन्दा पनी तल गिरेर जब मान्छेले मान्छेको जात छुट्याउन  थाल्छ  त्यो जस्तो बिडम्बना के हुन सक्छ ?

स्वतन्त्रता बढी भएपछी मान्छे बिग्रन्छ भन्थे, नेपालमा यहि कुरा प्रमाणित भएको छ । गृह युद्ध हुन अगाडि सम्म त्यति सहिष्णु तरिकाले मिलेर बसेका हामि नेपाली दाजु भाइहरु अहिले सम्म आईपुग्दा यति संकृण भैसक्यौं कि हामी एकले अर्काको अस्तित्व स्विकार गर्नै सक्दैनौं । सबैलाई छोटे राजा बन्नु छ । हामिले उठाईरहेको सवाल हरुले भबिष्यमा कस्तो असर पार्छ र यसको नतिजा कस्तो हुन्छ हामिलाई थाहै छैन । हामी मान्छेको बिचार सुनेर हैन मान्छेको पछाडी झुण्डाएको थरको आधारले धारणा बनाउँछौ र भए नभएको गाली गर्छौं । प्रतिकृया ब्यक्त गर्छौं त्यो पनी तुच्छ शब्द प्रायोग गरेर । साँच्चै छातिमा हात राखेर भन्नूपर्दा म जस्ता लाखौँ युवा जसले देश बिकाशको सपना देखेको छ । जो कुनै पार्टिको झण्डा बोक्ने कार्यकर्ता नभै स्वतन्त्र छ उसले प्रजातन्त्र र गणतन्त्रलाई धिक्कार्न थालेको छ ।

हामी भन्दा गयगुज्रेका मुलुकले प्रगती गरेर शिखर चुम्नै  लागेको देख्दा र हामिहरु आपसमा लडेर भाईचारा समेत गुमाउँदै गरेको अवस्था देख्दा म जस्ता लाखौं युवा बेलुकी सुत्ने बेला र बिहानै आँखा मिच्दै उठ्दै गर्दा समेत छातिमा मुड्की बजार्ने गर्छौं । हरे मेरो देश कहिले सकिएला आपसको लडाइँ र होला बिकाश भनेर ।

हामिले चाहेको देशको बिकाश हो, सिस्नु खोले मात्र भएपनी स्वदेशमै केही गरेर निर्धक्क संग खान पाईयोस भन्ने हो । सत्ता लिप्सामा लपक्क भएर नेता टाँसिएको देख्दा, देश लुटेर सात पुस्ता पग्ने गरि अकुत सम्पत्ति जोडेको र आसेपासे पोषेको देख्दा उत्तर कोरियाको किङ्जोङको जस्तै निरंकुश शासन भैदियोस भन्ने कामना लाखौ नेपाली हरुले गर्न थालेका छन । माकुराको बच्चा जब ठूलो हुँदै जान्छ अनि आफ्नै माउलाई समेत खान्छरे भन्थे । हामी ज्यादा   स्वतन्त्रता पाएकाले आफ्नै देशलाई खरानी बनाउन लागी रहेका छौं ।

हामी बाहुन-क्षेत्री शब्द सुन्नै सक्दैनौँ, यो देशलाई लुट्ने बाहुन क्षेत्री नै हो भन्छौं । चाहे त्यो एक छाक खान पनि धौ-धौ  पर्ने घरमा जन्मिएको गरिबको बच्चा किन नहोस हामी उसलाई सामन्ती ठान्छौं । हामी बाहुन क्षेत्रीले देश लुटे भन्छौं अनि आफू सत्तामा जान चाहन्छौं । तर जात जातमा बिभाजित भएर राजनिती गर्छौं । राईलाई आफैँ माथी पुग्नु छ, तामाङलाई आफैँले भने जस्तै हुनु पर्‍या छ । अनि गुरुङ्गलाई आफ्नै तमु राज्य चाहिएको छ । यी त केही उदाहरण मात्र हुन हरेकलाई आफैले भने अनुसार नै हुनुपरेको छ । त्यति मात्र कहाँ होर, लिम्बू भित्रैपनी फरक बिचार राख्ने लिम्बूलाई हामी देखि सहँदैनौ ।

मगर भित्रै पनि आफ्नो बिचार जस्तो अर्को मगरको बिचार भएन भने उछित्तो काट्छौं । आफैँ-आफैँ लडेर सकिन लागिरहेका छौँ । ख्याल-ख्यालमै हामिलाई पत्तै छैन आफै सकिन लागेको । हामी जातको राजनिती गरेर नीति निर्माण गर्ने ठाउँमा पुग्ने दिवा सपना देख्छौं । त्यो पनि आफू-आफुमा फुटेर । नीति निर्माण तहमा पुग्न त सबैको प्यारो मान्छे बन्न सक्नु पर्ला नि हैनर ? लिम्बू बाहेक अरुको अस्तित्वनै स्विकार्न नसक्ने, लिम्बुमै पनी फरक बिचार राख्ने लिम्बुलाइ नै देखि नसहने प्रबृत्ती भएको मान्छे कहिले नीति निर्माण तहमा पुग्नु र बाहुन क्षेत्रीलाई पैँचो तिर्नु । माथिल्लो पोष्टमा पुग्न त सबैलाई रिजाउन सक्नु पर्छ । सबैको प्यारो अनि सबैको मनको मान्छे  बन्न सक्नुपर्छ । आफ्नै दाजुभाईलाई जात-जातमा छुट्टयाएर, धर्म-धर्ममा छुट्टयाएर व्यवहार गरेर चिढ्याउने मान्छे कहिले माथी पुग्न सक्छ र ? मिलेपो देश बन्छ, हामी बन्छौं । देश रहेपो हाम्रा अधिकार पाउँला, हाम्रा कर्तब्य पूरा गरौँला । देशै नरहे ??? 

जय देश !!!

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.