विचार

दशैँ बिशेष: कथा ल्यापटप भित्रको बाबा – सरगम भट्टराई

krishna-saragamआज शरद अरब भाँसिएको ठ्याक्कै चार पुगेर पाँच बर्ष लागेछ । यस बिचका जिन्दगीका आरोह अवरोहहरु सबै  लेखेर लेखिन्नन्  उसका । समयको चक्र घुमिरहँदा कति रातहरु रोएर बिते ऊ आफैलाई थाहा छैन ।

आज शरदको बिदाको दिन, तिता मिठा यादहरु फनफनी घुमिरहेका छन्, घर छोड्ने रातभरि ऊ र उसकी श्रीमती सीमा हुँक्क हुँक्क रोएको ती भित्ताहरुले भुलेका छैनन । ती भित्ताहरु अहिले पनि सीमाको आँशुको साक्षी भईरहेकै छन तर यो आँशुका साक्षी ती भित्ताहरु भोलि न्याँय चाहिने बेलामा केहि बोल्ने छैनन् । त्यस्तै त्यो मरुभूमिमा शरदले आँशु बगाएको हेर्ने भित्ताहरु पनि केही बोल्ने छैनन् ।

घर छोड्ने त्यो रात पछि धेरै दिनहरु उदाए होलान्, तर सीमाको जिन्दगीका सूर्योदय कहिल्यै भएनन्, आफ्नो आधा शरीर आफैबाट अलग गरेर खुशीले को बाँच्न सक्थ्यो र ? छ महिनाकी गर्भिणी सीमाले आफ्नो पेटमा हुर्किएको मायाको निशानी सुमसुम्याएरै रातहरु बिताई, आफ्नो आँशु आफै पुछेर रात बिताई ।

सीमाका लागि जिन्दगीका सबै अभावहरुका अघि शरदको भौतिक अभाव सबैभन्दा अर्थपूर्ण रह्यो । जब जब चाडवाड आउँथे तब तब मुटुमा परेका गाँठाहरु फुक्न महिनौँ लाग्थ्यो, यस्तो लाग्थ्यो ती चाड पर्व उसका लागि आएकै होईनन्, प्राणप्रिय शरदको अनुपस्थितिमा सबै चाडपर्वहरु गलपासो जस्तै लाग्थ्यो उसलाई । रुवाउने चाडपर्व नआएकै जाती लाग्थ्यो ! 

उता परदेशको चाडवाड पनि त त्यस्तै थियो: मन अमिलो बनाई बनाई दशैँ तिहारकै दिन काममा जानुपर्ने ! त्यसमाथि दुई जीउकी श्रीमती छाडेर आउनुको ब्यथा त के ले नापोस बिचरा ! 

आखिर समयलाई स्थिर बनाउने तागत कस्को हुन्थ्यो र ! नौ महिना पछि काटीकुटी शरदकै अनुहार लिएर यो बियोगी जोडीको आशाकी चम्किलो  नक्षत्र जन्मिन: खुशी ।  त्यहि नै भगवानको अतुल्य उपहार थियो, गर्भ र प्रशवका पीडाहरु र आफ्नो खसम संगका बिछोडहरु भुलाउने अचुक ओखती बनेर उदाईन छोरी ‘खुशी’ । 

शुक्लपक्षको चन्द्रमा जस्तै खुशी बढिरहिन्, पसिना संग साटेका पैसाहरुले धिपधिपे गतीमा भौतिक पूर्वाधार त बनाईरहेका थिए, तर भावनाका  धरोहरहरु कमजोर बनाईरहेका थिए, सम्बन्धका तारहरु कमजोर बनाईरहेका थिए,जसलाई समयको परिवर्तन संगैको प्रबिधिले थामेको थियो, प्रत्येक दिन जसो हुने टेलिफ़ोनका वार्तालाप र फेसबुक मेसेन्जर तथा स्काइपकै सहारामा आँखाहरु सम्मिलित भईरहे भने मायाका सगरमाथाहरु झन् झन् चुलिँदै गए, बिश्वासका सागरहरु झन् झन् गहिरिदै गए । 

दिन दिनै ल्यापटपमा  हेर्दा हेर्दै छोरी खुशी बामे सर्दै,बाबा, मामा  भन्दै स्कूल सम्म जाने हुँदा शरदलाई यस्तो लाग्थ्यो म र मेरो खुशी संगै भएको भए… आफ्नै  मुटुको टुक्रालाई मायाको स्पर्शले सुमसुम्याउन पाए…..

छोरी संगका ती मेसेन्जरका साक्षात्कार पछि हरेक दिन भक्कानिएर रोएको रोयै छ शरद, यता बोल्ने भएपछि खुशीका झन धेरै प्रश्नहरु अनुत्तरित भईरहेकै छन् । छोरी बोल्न थाले देखि आज जान्ने बेला सम्म एउटा अनौठो उपाधि पाएको छ शरदले: ल्यापटपको  बाबा ! 

उता सीमाका आँशुको कुनै मूल्य छैन, शरद संग छुट्टिएका कैयौ शिसिर ऋतुहरु निरस र एक्लो भएर बाँचिरहेकी छे, परिवारमा अरु कोही सदस्य भईदिएको भएपनि यस्तो उदास मन हुने थिएन होला । कहिल्यै मनमोहक शरद र वशन्त ऋतु आएनन् यो बेला उसका ।

त्यहि एउटी खुशी हो जसले सुखमा हाँस्न र दुखमा रुन काम लागेकी छे। 

सीमा सम्झन्छे: एक दिन जब ऊ ज्वरोले थलिएर बिछ्यौनामा पीडाले कहराउँदा, महिनाले जम्मा दश पुगेकी खुशी लुटुपुटु गर्दै उसको ओठमा चुमेर छातीमा लुपुक्क पर्दाको क्षणमा आधा पीडा ह्वात्तै घटेको थियो। दैनिक जसो हुने शरद संगको भलाकुसारी भन्दा साक्षात् खुशीले दिएको खुशी नै सीमाको बाँच्ने आधार भएको थियो। 

सीमाको रुपमा आरिस गर्नेहरु धेरैले अनायास फोन गर्छन: 

हेलो ! को बोल्नु भएको ? 

हजुर भन्नुस कसलाई खोज्नु भएको? केहि काम थियो कि ?

हैन हैन !  मैले त सरितालाई फोन गरेको, तपाईलाई पो परेछ है ! क्यै छैन यसो कुरा गरौँ न है ! 

मैले नचिनेको मान्छे संग कुरा गर्ने गरेको छैन । सीमाले अलि रिसाएको पारामा कुरा गर्छे । 

मलाई चिन्नु भएन ? बुटवल जाँदा एउटै सीटमा थियौँ नि हामी पोहोरको दशैँमा ! फोन गर्ने मान्छे हडबडाए जस्तो गर्यो । 

माफ गर्नु होला मलाई याद छैन र याद पनि गर्नु छैन । तर मेरो नम्बर कसरी पाउनु भो त ? 

ए ! त्यो त तपाईँकै मुखबाट सुनेको हो नि ! तपाईले कोही आफन्तलाई आफ्नो नम्बर बताउँदै हुनुहुन्थ्यो। 

सीमाले फोन राख्न खोजी । 

हैन ! एउटा कुरा भन्नु थियो: फोन गर्नेले सोध्यो। 

छिटो भन्नुस के कुरा हो ? मलाई फ़ुर्सद छैन। 

भो नभनौँ होला । फोन गर्ने मान्छे अनकनायो ।

भन्ने भए भन्नुस नत्र म फोन राख्छु। 

खासमा के भने … …म तिमीलाई एकदम मन पराउँछु ।

ए मिस्टर ! तपाई होशमा त हुनुहुन्छ? म म्यारिड हो र मेरी ४ बर्षकी छोरी छिन् ।

उताबाट जवाफ आयो: के भो त तपाईको श्रीमान पनि बिदेश हुनुहुन्छ क्यारे ! म पनि अनम्यारिड छु। यसो रमाईलो गरौँ न ! 

अब आईन्दा फोन गर्नु भयो भने म पुलिसमा रिपोर्ट गरिदिन्छु।सीमाले फोन काटिदिई।

यस्तै यस्तै फ़ोनहरु र फेसबुकमा म्यासेजहरु धेरै आईरहे। अनेक बहाना बनाएर । तर सीमा आफ्नै सीमारेखा भित्र शरदप्रति समर्पित छे, मेसेन्जरमै कलकलाउँदो बैँस शरदसंग साटेरै पुगेको छ  उसलाई, लोग्ने नभएकै आधारमा छड्के नजर हेर्नेहरु प्रति वाक्क भएरै कतिपय फ़ोनहरु त उठाउँदिन अचेल सीमाले । 

शरद नभएको बेला छोरी, घर ब्यवहार र आफ्नै स्वास्थ्यको ब्यवस्थापन् गर्दाको पीडा त छँदैछ । 

उसको एउटै सुर्ता छ: प्राणप्रिय शरद र दुबैकी भर्खरै टुसाएकी कोपिला खुशी । त्यो मधुर मिलनको प्रतिक्षामा क्षितिज नियालिरहेकी छे सीमाले । 

हरेक दिन मोबाईलको स्कृनमा देखिने मान्छेलाई सीमाले चार  बर्ष अघि दिएको त्यो ‘ ल्यापटपको बाबा’ भन्ने नाम अझै ओजपूर्ण लागेको छ। आफ्नै साथीहरु बाबुहरुको काँधमा लडिबुडी गरेको देखेकी खुशीले एक बर्ष हुँदा देखि आजसम्म दिन दिनै ल्यापटपको बाबा संग कुरा गर्छिन, एक दिन मात्र कुरा भएन भने सीमालाई सोधिहाल्छिन: ममी ल्यापटपको बाबा संग कुरा गर्छु न है ! अचेल खुशीलाई कोही छोरा मान्छे देख्नै हुन्न मायाले लुटपुट गरिहाल्छिन्, आफू संग नभएको चिज यति बिघ्न प्यारो हुने रहेछ, सीमाले खुशीले नदेख्ने गरी धेरै पटक आँशु पुछेकी छे। 

अचेल खुशीलाई उसका साथीले आफ्ना बाबाले हात समातेर हिँडेको देख्नै हुन्न। सीमालाई असिमित प्रश्नको ओईरो लाग्छ: ममी ! हाम्रो ल्यापटप भित्रको बाबा किन बाहिर आउनु हुन्न ? किन आश्मीको बाबा जस्तै मलाई स्कूलमा ल्याउन आउनु हुन्न? किन मेरो बर्थडेमा आष्मीको जस्तै हात समातेर केक काटिदिने बाबा हुन्नुहुन्न ? 

दशैँमा मलाई मोटरसाईकलमा आष्मी जस्तै अगाडि र पछाडि हजुरलाई बोकेर हिड्ने बाबा किन हुनुहुन्न? 

के मलाई सधैभरि ल्यापटपबाटै टीका लगाईदिने हो बाबाले ? 

मलाई ल्यापटपको हैन साँच्चैको बाबा चाहियो मामु ! किन हजुर एक्लै एक्लै रोएर मैले देख्दा बित्तिकै आँशु पुछिरहनु हुन्छ ? किन नि हामीलाई छाडेर जानु भएको बाबाले? के बाबा हामीसंग रिसाउनु भएको हो ?

खुशीका धेरै प्रश्नहरुको जवाफ एउटै शब्दमा दिन्छे सीमाले: आउनुहुन्छ छोरी तिम्रो बाबा ! तिमीलाई सबै कुरा म बुझाउन सक्दिन । ठूली भएपछि आफै जान्नेछौ । 

आज खुशी धेरै बेर असमन्जसमा परी । उही ल्यापटपको  बाबाको कुरा लिएर, उसकी साथी आष्मीको कुरा लाई लिएर:  तेरो त बाबा पनि छैन क्यारे ! कहिल्यै स्कूल छोड्न पनि आउनु हुन्न ! मेरो बाबा त मलाई सधै आईसक्रिम ल्याईदिनुहुन्छ, हिजो मात्र हामी भृकुटीमण्डपमा दिन भरि पिंग खेल्यौँ ! यस्तै यस्तै….

खुशीले प्रतिकार गर्दै जवाफ दिई: “मेरो बाबा ल्यापटप भित्र हुनुहुन्छ, तिम्रो पनि त ल्यापटपको बाबा हुनुहुन्न नि ! हाम्रो घर आऊ त दिन दिनै  ल्यापटपमा आउनुहुन्छ, मलाई दिनदिनै कति मायाँ गरिरहनुहुन्छ मेरो बाबा !  मामु र म दिनदिनै कुरा गरिरहन्छौँ।”

“अँ होला ! त्यस्तो ल्यापटप भित्र देखिने मान्छे पनि बाबा हुन्छ ? बाबा त आफ्नै घरमा पो हुन्छ त ! तिमी संग र तिम्रो मामु संग ! त्यो मोबाईलको बाबा त ढाँटेपाटेको पो त !” बाबा त मेरो जस्तै पो हुनुपर्छ त सधै संगै हुने ! आश्मीले दृढ भएर असहमत जनाईरहेकी थिई ।

खुशी रिसले आगो भई। घर आएर धेरै बेर रोईरही। 

आज गहभरि आँशु लिएर शरदलाई सबै कुरा सुनाई सीमाले । 

पश्चातापको आगोले भत्भत्ति पोल्यो शरदलाई । त्यो रात रातभरि निदाउन सकेन, उसले आफैले आफैलाई अपराधीको संज्ञा दियो । आफू जस्तै धेरै मान्छेहरु आफ्ना मुटुका टुक्रा छाडेर परदेशिएका सबैलाई बिवस अपराधी देख्यो, आफ्नो नियति र देशको परिस्थिति संग अवाक्क भयो ।

एउटी सानी छोरी खुशीका ज़िद्दी र निरन्तर प्रश्नहरुले शरदको मनभित्र ज्वारभाटा ल्याईदियो ।

अब एक छिन पनि परदेशमा बस्न मन लागेन उसलाई, जिन्दगीका सबै अभावहरु सहन राज़ी भएपनि आफ्नै मुटुको टुक्रा संगको बिछोड सहन नसक्ने ठहर गर्यो ।

भोलि बिहानै आफ्नो मेनेजर संग कुरा गरेर आफ्नो परिवार संग कहिल्यै नछुट्टिने गरी छिट्टै नेपाल जाने कुरा बतायो । एक हप्ता भित्र घर फर्कने पक्का भयो । 

उता सीमाको खुशीको सीमा रहेन, मुहारमा धेरै बर्ष देखि हराएको खुशी पलायो । यस पालिको दशैँ  मिलनको दशैँको रुपमा मनाउने भईयो भन्दै साथी भाइलाई सुनाउँदै हिँडी। 

एक हप्तामा शरद घर आईपुग्यो!  खुशीलाई बाबा भन्ने के हो भन्ने थाहै थिएन। उ शरदको नजिक पर्न पनि डराउँथी । 

“मेरो बाबा त ल्यापटपमा आउनुहुन्छ, हजुर त होईन।” खुशी पर पर सर्थी । 

छोरी मै तिम्रो बाबा हो नि ! अब कहिल्यै ल्यापटपमा आउँदिन तिम्रै अगाडि आउछु छोरी । अब कहिल्यै टाढा जान्न, तिमीलाई स्कूल पुर्याउन र लिन आउँछु दिन दिनै । अब बाबा मामु र छोरी सधै संगै । 

“साँच्चै !अब ल्यापटपको बाबा आउनुहुन्न?” खुशीले सीमाको आँखामा हेरेर सोधी । हैन छोरी ! तिम्रो बाबा वहाँ नै हो। अब तिम्रो बाबा आउनु भो ,सधैका लागि । 

खुशीलाई सबै कुरा बिश्वास लाग्यो क्यारे ! ल्यापटपको बाबा भन्दा साँच्चैको बाबा राम्रो भन्दै वल्लो पल्लो घर तिर दगुर्दै सबैलाई भन्दैथिई: मेरो ल्यापटपको बाबा आउनु भयो ! साँच्चैको बाबा आउनु भयो ! 

“आष्मी ! आष्मी ! हेर त मेरो बाबा पनि आउनुभयो । अब मामु र म पनि बाबाको बाईकमा बसेर दशैँमा मामा घर जान पाउँछौ नि !”

अचेल खुशीको खुशी धेरै चुलिएको छ । यो सानो परिवार दुख सुखमा आनन्दले बाँचेको छ । अझै पनि धेरै सीमा  र खुशीहरु कैयौँ शरदहरुको बाटो कुरेर बसेका छन् । तिनीहरुले पनि मिलनको दशैँ यसै गरि मनाउने दिन आउन कति कुर्नुपर्ने होला ? 

शरदले निधारमा हात राखेर सोचिरहँदा खुशी उसको काँधमा चढेर कपाल मुसार्दै आँखा भरि आँशु टिलपिल पारेर भन्दै थिई: बाबा अब मामु र मलाई छोडेर कहिल्यै टाढा नजानुस हैँ ।

शरदले आँखामा आँशु टिलपिल गर्दै स्वीकृतिको टाउको हल्लायो । खुशीले आँशु पुछिदिई । 

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.