विचार

भारतबाट भित्रीने फुल मात्र हैन नाभी काट्ने पत्ती देखि लास ढाक्ने कात्रो सम्म बहिस्कार गरौँ !

mahesh-nepalकामको शिलशिलामा दुबई (युएई) मा हुँदा कुराको शिलशिलामा एउटा बिदेशी साथीले सोध्यो, तिमीहरुको फ्रीडम डे (स्वतन्त्रता दिवस) कहिले हो ? मैले भनेँ हाम्रो त स्वतन्त्रता दिवस नै छैन । उसले सायद पत्याएन र फेरि सोध्यो छैन ? मैले भने अँह ! उ एकाएक उत्सुक बन्यो र सोध्यो; किन तिमीहरुको स्वतन्त्रता दिवस छैन ? आफ्नो मुलुकको बयान गर्ने मौका पाएको बेलामा त्यो पनि बिदेशी भुमिमा, मौका चुकाउने कुरै भएन ।

मैले उसलाई हाम्रो बिरताको गाथा सबै ओकलेँ । अँग्रेज संसारको कुनै शक्तिसँग पछाडी हटेको छ र  हारेको छ भने त्यो हो नेपालीसंग। दुनियाले नेपाललाई हेर्ने नजर नै अलग हुनुको राज यो हो । हामी सगरमाथाको देशको मान्छे । संसारकै शिरमा बस्ने मान्छे । हामी स्वर्गको टुक्रामा राज गर्ने मान्छे । धेरै कुरा भन्न भ्याएँ र उसले पनि चाख दिएर सुन्यो । यी कुरा गरिरहँदा मलाई मनमा जति गर्व महशुस भएको थियो त्यतिनै छाती भतभती पोलिरहेको थियो । त्यस्तो स्वर्ग जस्तो देशको मान्छे म कस्तो देशमा छु भनेर । त्यस्तो सार्वभौम देशको मान्छे हामी कति परनिर्भर छौँ भनेर । पुर्खाले संसार हल्लाए तर हामी आज पेट पाल्नकै लागी बिदेशिको दास बन्न बाध्य भैरहेका छौं ।

हामीले हाम्रो पुर्खाको बिरासतलाई कायम राख्न सकेर देशलाई प्रगतिको शिखर चुमाउन सकेको भए, हामीले स्वर्गको टुक्रा यो नेपाललाई अझ बिकाशले सिँगार्न सकेको भए, हामी हैन हामीलाई किन्ने अरबी, युरोपियन, अमेरिकन या एसियनहरुलाई नेपालमा ल्याएर काम गराउन सक्थ्यौं । हामी संसारकै शिरमा बस्ने मान्छे झनै अग्लो भएर, गर्बले छाती फुलाएर पहरो जस्तो गर्विलो बनाउन सक्थ्यौँ । अनि कसैले हेप्न सक्दैनथ्यो, कसैसंग झुकेर, डराएर बोल्नु पर्दैनथ्यो र हजुर हजुर लगाएर कसैको पाउ मोल्नु पर्दैनथ्यो ।

पहिले हामी हरेक चिज बेच्थ्यौँ किन्दैनथ्यौँ, त्यसैले धनी थियौँ, आत्म निर्भर थियौँ । अहिले हामी हरेक चिज किन्छौं बेच्दैनौँ । हाम्रोमा उत्पादन नहुने हैन, हाम्रोमा संसारको जुनसुकै कुनामा फल्ने चिज फल्छन । हरेक ५-७ किलोमिटरमा फरक फरक हावापानी छ । हामी सँग बिश्वको जहाँ काहिँको वातावरण संग मिल्ने हिमाल, पहाड, तराई छन । अरबमा फल्ने खजुर (छोकडा), नरिवल, सुपारी हामी तराईमा फलाउन सक्छौँ । अमेरिका, युरोप, अफ्रीकामा फल्ने एभोकार्डो, किवि, चेरी, हलुवाबेद हामी पहाडमा फलाउन सक्छौँ । चिसोमा फल्ने स्याउ लगायतका बिदेशी नामका हरेक फलफुल हामी हिमालमा फलाउन सक्छौँ ।

हामी त्यस्तो अनुकुल बातावरण भएको ठाउँमा बस्छौँ जहाँ फलफुलका विभिन्न प्रजाती, नगदे बाली, अन्न बाली, पशुपालन जे केही मज्जाले गर्न सक्छौं । तर पनि हामी परनिर्भर छौँ किन? किनकी हामी पहरा फुटाल्न सक्ने तागत भएका तागतिला युवा अरब पठाउँछौं, अमेरिका, युरोप भसाउँछौँ  र जापान कोरियाका खोरिया मलिलो बन्न पठाउँछौं र उताबाट पठाएको पैसाले ईण्डियन कुहिएको चामल, तरकारी किन्छौं । फेसनका कपडा, बिलासिताका बस्तुहरु गाडी, बाईक, लगायत हरेक कुरा उतै बाट किन्छौं ।  

हामी बर्षेनी अरबौंको सामान भारत, चिन लगायत मुलुकबाट आयात गर्छौं । साँझ बिहानको खाना उतैबाट, ज्यान ढाक्ने कपडा उतैबाट, सुचना तथा सञ्चारका साधन: मोबाईल, टिभी, ल्यापटप उतैबाट । पढ्न, पढाउन चाहिने कापी, किताब, कलम उतैबाट, खेती गर्न पर्‍यो पाटपुर्जा उतैबाट, चाडपर्व आयो खसी बोका, फलफुल उतैबाट । हरेक कुरामा परनिर्भर । अनि अरब, अफ्रीका, युरोप र ईण्डियाबाट फेसबुकका भित्ता रंगाएर , दैनिक पत्रपत्रीका नेतालाई गाली गरेर सरापेर भरेर के गर्नु ? यो त सौताको रिसले पोईको काखमा पिसाब फेर्दिए जस्तो भैहाल्योनी ।

हाम्रोमा मौसमी बहस चल्छन । भर्खरै दशैँ हामीबाट बिदा भएको छ, दशैँमा खसी बोका, भेडा, च्याङ्गग्रा, शाकाहारी र माँसाहारीको बहस चल्यो, सेलायो । अब  तिहारको रौनक सुरु भएको छ । अहिले सामाजिक सञ्जालमा र पत्रपत्रीकामा  फुलको बहस गर्मागर्मी तरिकाले चलिरहेको छ । हामी मौसमी बहस गर्छौँ र त्यो मौसम सकिए संगै चुप हुन्छौँ, छेपारोले घर बनाउने उखान जस्तो । हामी दिगो समाधानको लागि कमै मात्र सोच्छौं । एकपटक समस्या परिसकेपछी पाठ सिकेर ब्यवहारमा लागू गर्नुपर्ने हामी त्यसको मतलब गर्दैनौँ । यो नानी देखि लागेको बानी हो । 

गत साल भारतले त्यस्तो हाहाकार बनायो नाकाबन्दी लगाएर, त्यतिबेला हामी यति तात्यौं कि अब आफ्नै कलकारखाना खोल्नुपर्छ, पेट्रोलियम पदार्थको खोज अनुसन्धान गरेर हामी आफैँ सबल बन्नुपर्छ । हेपाहा भारतलाई आफ्नै उत्पादनले बाँचेर धक्का दिनुपर्छ, तँ बिना नि हामी बाँचन सक्छौँ भनेर गर्जिन सक्नुपर्छ भनेर कुर्लियौँ र लाग्यौँ । सरकारले पनि रातारात विभिन्न बिकल्पहरु खोज्यो, अन्य देशहरु संग सन्धी सम्झौता, सहकार्य गर्न लाग्यो तर जब भारतले नाकाबन्दी खोल्यो अनि फेरि उही छेपाराको उखान । एउटा सरकारले सुरु गरेको योजनमा अर्कोले साथ दिएपो, निर्णय उल्टाउँदैमा सरकारको म्याँद सकाउँछन ।

बरु छिमेकसंग लम्पसार भएर, सन्धी सम्झौता गरेर देशलाई अझ कमजोर बनाएर आउँछन । सबल, आत्मनिर्भर बन्ने कुरा त एकादेशको कथा बन्छ । हामी पहिले आत्म निर्भर बन्न सके अरुको किन्नै पर्दैन, स्वत बहिस्कार भैहाल्योनी । गान्धीले भारत छोडो अभियान चलाए, सबै सामान आफैले बनाएर प्रयोग गर्ने थाले । ब्यपार गर्न आएका अंग्रेजको सामान बिक्री हुन छाड्यो अन्तमा हार मानेर फर्किए । अहिले हामी भारत संग परनिर्भर छौं, हुन त पैसा दिएरै किन्छौं, सित्तैमा उसले दिने पनी हैन तर उसका हरेक अत्याचार हामीले सहन परेको छ । किनकी हामी आत्म निर्भर छैनौँ ।

हामी जलश्रोतको धनी देश तर मिनिरल वाटर सम्म उसैसंग किन्छौँ, हामीमा उत्पादन पुग्ने गरि हुँदैन । हामी धेरै चिजमा नभएनी एउटा मात्र चिजमा आत्मनिर्भर हुन सकेनी आत्म सम्मान कति माथी हुन्थ्यो । हामी आफुलाई चाहिने फुलमा आत्मनिर्भर बन्न सक्छौँ । हरेक कान्ला कन्लामा, बारिका डिल डिलमा फुल लगाउन सक्छौं । हामी मासुमा आत्मनिर्भर हुन सक्छौँ । ब्यवसायिक बाख्रापालन गर्न हामीमा प्रसस्त चरण क्षेत्र छ । हामी माछा पालन गरेर माछामा आत्मनिर्भर बन्न सक्छौं, हाम्रोमा प्रसस्त पानीको श्रोत छ । हामी धान, मकै, गहुँमा आत्मनिर्भर बन्न सक्छौं यदी तराईलाई मात्र महत्व दिएपनी । हामी हरेक कुरामा आत्म निर्भर बन्न सक्छौ एक एक गर्दै ।

तर हामी जन्मने बित्तिकै नाभि काट्ने पत्ती देखि मरेपछी बेर्ने कात्रो सम्म उसैमा भर पर्नुपर्छ । ब्रतबन्ध गर्दा चाहिने जनाई देखि बिवाहको सिन्दुर सम्म उसैसंग लिनुपर्छ । यो परनिर्भरताको अन्त्य कहिले हुन्छ ? यो परनिर्भरताको अन्त्य कस्ले गर्छ ? हो हामी नै हौँ देश बनाउने, थोपा-थोपा मिलेर सागर बन्छ भने हामी थोपाबाट सुरुवात किन नगर्ने ? सुरुवात अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कस्ले गर्ने ?

जय देश !!!

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.