विचार

‘जय देश, जय जनता’ शब्दले ‘जन सेवा पुस्तकालय’ बन्द – हरि कुमार श्रेष्ठ

संखुवा सभा जिल्ला खाँदबारीका तत्कालीन युवा कृष्ण गोपाल श्रेष्ठ, प्रेम प्रसाद अधिकारी, टेक नाथ घिमिर, शिव कुमार गौली, भीम बहादुर श्रेष्ठको सकृयतामा २००९ सालमा खाँदबारीमा जन सेवा पुस्तकालय स्थापना गर्नु भएको थियो । तर परिस्थितिबस सो पुस्तकालय बाहिर संचालनमा आउन सकेन निष्कृय रुपमा रहयो ।

उच्च शिक्षा अध्ययन गर्न स्थानीयतहमा कलेज नभएको कारणले बाहिर शहर जानु पर्ने खाँँदबारीका यूवाहरुका लागि बाध्यता परिस्थिति थियो । एस.एल.सि परीक्षा दिन पनि संखुवा सभा जिल्लाको चैनपुर, मादी जानु पर्ने भएको कारणले घरको मायालु लोलोपोतोलाई बिर्सन सक्ने बातावरण बनि सकेको हुदा अभिवाबकहरु आफ्ना बच्चाहरुलाई उच्च शिक्षा अध्ययन गर्न बाहिर शहर पठाउन सफल भएको पाउछौ । कलेज अध्ययन गर्न गएका युवाहरुले पुस्तकालयको आबश्यकता र महत्व बुझि सकेका कारणले नै पुस्तकालयलाई व्युझाउन र संचालनमा ल्याउन जनमानसमा जनचेतना जगाउने उद्देश्यले खाँदवारीका नव युवाहरु जुरमुराउन शुरु गरी सकेका थिए ।

२०३४ साल देखि पुस्तकाल संचालनमा खाँदवारीका बुद्धिजीवी, समाजसेवीहरुसँग छलफल शुरु भएको थियो । नेपाल अधिराज्यभर २०३६ सालको जनमत संग्रहले गर्दा सबै ब्यस्था हुँदा हुँदै पनि जन सेवा पुस्तकालय संचालन गर्ने सपना एउटा कल्पनामा मात्र सीमित हुन पुगेको थियो तर पनि खाँदवारीका नव युवाहरु, बुद्धिजीवी, समाजसेवीहरु हतोत्साह भैसकेका थिएनन् । यसको कमाण्ड कृष्ण गोपाल श्रेष्ठले गर्नु भएको थियो । तत्कालिन खाँदवारी गाउँ पंचायतको वहाँ उप-प्रधान पंच पनि हुनुहुन्थ्यो । पंचायतको मातहतमा पुस्तकाल संचालन गर्न दवाव आएको थियो । स्वतन्त्र भिन्दै आफ्नै नीति नियमीमा संचालन गर्ने अठोट भएकोले समयमा पुस्तकालय संचालनमा ल्याउन कठिन भै रहेको थियो ।

खाँदवारीका युवाहरु थाकेका थिएन जोश र जागर साथ जसरी भए पनि पुस्तकालय खोलेर छाड्ने अठोटमा थियो । त्यस समयमा पंचायत व्यवस्था भएकोले संघ, संगठन, पुस्तकालय खोल्नु भनेको घरमा विद्रोही शत्रु पसेको पंचायत शासक स्थानीय प्रशासनलाई हुन्थ्यो । तर हाम्रा खाँदवारीका साथीहरुको सकृयतामा २०३८ साल अषाढ महिनामा मदन घिमिरे डाडा (हाल रेडक्रस भवन) भएको चउरमा हरिकुमार श्रेष्ठ, लोक बहादुर श्रेष्ठ, शेषराज दाहाल (मादी) युवराज शाक्य, सुन्दर बज्राचार्य, जगदिश शाक्य, विश्व बज्राचार्य, नर जीवन श्रेष्ठ र हरि बहादुर श्रेष्ठ भेला भयौ । पुस्तकालय खोल्न संचालनमा ल्याउन लोक बहादुर श्रेष्ठ संयोजक, हरिकुमार श्रेष्ठ सदस्य सचिव रहेको ११ सदस्यीय तदर्थ समिति बनायौं । पुस्तकालयको विधान मस्यौदा तयार गर्न जन सेवा पुस्तकालय विधान मस्यौदा समिति संयोजक कृष्ण गोपाल श्रेष्ठ, सदस्य सोमनाथ धिमिरे, सदस्य लोक बिहव्ल कार्की रहनु भएको गठन गरियो ।

भेला सकिए पछि कृष्ण गोपाल श्रेष्ठलाई भेट्न वहाको निवासमा घर परिवारहरु संग चिया पिउदै खाँदवारीका युवाहरुको भेलाबाट भएको सारा कुरा सुनायौ । वहा अति खुसी हुनु भयो । मैले के गर्नु पर्छ मेरो जिम्मेवारी के दिनु भएको छ म मेरो वुद्धिले भ्याए सम्म सहयोग गर्न तयार छु । हामीले तपाईको संयोजकमा तिन जना जनसेवा पुस्तकालय विधान मस्यौदा समिति बनाएका छौ भन्दा धेरै खुसी हुनु भयो । विधान चाडै लेखिदिनु भयो भने दर्ता गर्न सजिलो हुने थियो । हामीलाई जन सेवा पुस्तकालयको विधान लेख्ने सौभाग्य दिनु भएकोमा खाँदवारी युवा साथीहरुलाई धन्यवाद सुनाई दिनु – “म भोली देखि नै विधान लेख्न थाल्छु । अन्य विधान मस्यौदा समितिका सदस्यहरु बिच छलफल गरी म चाडै विधान दिने प्रयास गर्छु ।” हामी अति खुसी र ढुक्क साथ कृष्ण गोपाललाई धन्यवाद दिएर घरतर्फ फर्कियौ ।

हामीले सोचेको समय भन्दा अगाडि नै जन सेवा पुस्तकालय २०३८ को हस्तलिपि विधान प्राप्त भयो । तयारी विधान प्राप्त भए संगै जन सेवा पुस्तकालय तदर्थ समितिको वैठक वसी विधान अनुमोदन गरी कृष्ण गोपाल श्रेष्ठलाई लिएर जिल्ला कार्यालय संखुवा सभामा दर्ता गर्न गयौ । हामीले सोझै प्रमुख जिल्ला अधिकारीलाई हाम्रो निवेदन र विधान बुझायौ । निवेदन दर्ता गर्न तोक आदेश भयो । कृष्ण गोपाल श्रेष्ठले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनु भयो यो मैले लेखेको विधान हो तपाईले केही चिन्ता र सेन्सर गर्नु पर्दैन सि.डि.ओ. साहेप । जनसेवा पुस्तकालय खाँदबारी तदर्थ समितिका सबै जना चुप चाप प्रमुख जिल्ला अधिकारीको कोठामा थियौं । जिस्किएर हास्दै कृष्ण गोपालले भन्नु भयो होइन सि.डि.ओ.साप यसो चिया खान पाइदैन भन्दा प्रमुख जिल्ला अधिकारीले पियन वोलाएर उपस्थित सबैलाई चिया पिलाउनु भएको थियो ।

निवेदन दर्ता भएको एक महिना बिति सक्यो पुस्तकालय दर्ता भएको छैन । के भै रहेको छ बुझ्न कृष्ण गोपाललाई जिल्ला कार्यालय संखुवा सभा पठायौ । निवेदकहरुको व्यक्तिगत चरित्र अध्ययन पुरा भएको छैन भनेर वहालाई जानकारी दिइएछ । वहाले फेरि प्रमुख जिल्ला अधिकारीलाई भेटेर भन्नु भएछ सवै स्थानीय युवा सबै सरकारी नोकरीमा छन डराउनु पर्ने कारण नै छैन । विधानमा केही संशोधन गरी जन सेवा पुस्तकालयको नाममा जिल्ला कार्यालय संखुवा सभामा न्वारान भयो । खाँदबारीबासी सबैमा खुसीको अनुभूति मिलेको थियो । कृष्ण गोपालले भन्नु भयो हाम्रो सकृयतामा जन्म दिएको जन सेवा पुस्तकालय तपाईहरुले पुर्नजन्म दिनु भयो । यसलाई नव युवाको सकृयताले पूर्ण सफलता पाउने छ भन्ने आशा र बिश्वास लिएकोछु भनि शुभकामना दिनु भएको थियो ।

जन सेवा पुस्तकालयको विधान अनुसार कार्य समिति गठन गरी पहिलो कार्य समितिमा सभापति श्री लोक बहादुर श्रेष्ठ, उपसभापति श्री शेषराज दाहाल (मादी), सदस्य सचिव हरि कुमार श्रेष्ठ, सचिव युवराज शाक्य, कोषाध्यक्ष नर जीवन श्रेष्ठ, साहित्य सचिव श्री हरि बहादुर श्रेष्ठ, खेलकूल सचिव सुन्दर बज्राचार्य, सास्कृतिक सचिव जगदिश शाक्य, सदस्य विश्व बज्राचार्य, पार्वती श्रेष्ठ, भरत कुमार शाक्य, सल्लाहकार समितिको अध्यक्ष कृष्ण गोपाल श्रेष्ठ हुनु हुन्थ्यो । हाम्रो पहिलो काम खाँदवारीका गाँँउ पंचायतको मातहतमा रहेको जिल्ला पंचायत संखुवा सभाको अनुदानमा निर्माण भएको पुस्तकालय भवन ठेकेदार र जिल्ला पंचायतको लापरवाहीका कारण अधुरो रहेको एक तले पुस्तकालय भवन सफा सुग्घर, रंग रोगन, झ्याल ढोकाहरु मर्मत गरी त्यही भवनमा जन सेवा पुस्तकालय संचालन गर्न खाँदवारी गाउँ पंचायत सँग सहमति गरियो ।

जन सेवा पुस्तकालयको दर्ता भए पछि भव्यताको साथ उद्घाटन गरी जन सेवा पुस्तकालय सर्बसाधरणका लागि खुल्ला भयो । खाँदवारी बजारमा कुनै पनि कार्यक्रम खेलकूद, सास्कृतिक कार्यक्रम, साहित्य कार्यक्रम, आदि जन सेवा पुस्तकालय मार्फत गरिन्थ्यो । खाँदवारीमा जात्रा, द्यौसी खेली अर्थ संकलन र चन्दा, दान, सदस्यताबाट नै आवश्यक फर्निचर, किताबहरु खरिद गरी, पत्र पत्रिकाका वार्षिक ग्राहक बनि बनाइ पुस्तकालय संचालनमा थियो ।

खाँदवारीमा रहेका सरकारी कार्यालय, संघ संस्था तथा स्थानीय व्यक्तिहरुबाट किताब पत्र पत्रिका सङकलन गर्ने कार्य सफल भएको थियो । कृष्ण गोपाल श्रेष्ठले एक दिन झोलामा टन्न किताब बोकेर आउनु भयो म पुस्तकालयमा काम गरी रहेको थिए ल हरि बाबु यी किताबहरु पुस्तकालयलाई दान दिएको छु भनि टेबुलमा राखी दिनु भयो । खरिद वा संकलित दानबाट प्राप्त पुस्तकहरु पुस्तकालयको अभिलेखमा राखिने ब्यबस्था थियो । दानबाट प्राप्त किताबहरु पुस्तकालयमा दाताको ब्यक्तिगत खातामा अभिलेख हुनथ्यो ।

पुस्तकालय हरेक दिन बेलुका ४ बजे देखि बेलुका ६ बजे सम्म कार्य समितिका सदस्यहरुले आलो पालो तालिका अनुसार पुस्तकालय खोल्नु पर्दथ्यो ।साँझको समयमा लालटिन, मैनबत्ती, कुपी बालेर भए पनि पुस्तकालय संचालन हुन्थ्यो । पुस्तकालय संचालनमा बिद्यार्थी किरण कुमार शाक्यले पनि आफनो स्कुल छुट्टी भए पछि पुस्तकालयका लागि स्वंयम सेवक कार्य गर्नु भयो । पुस्तकालय खोल्दा जहिले पनि किताब, पत्रिका पढ्नेहरुको आगवन दिनानुदिन बढि रहेको हुन्थ्यो । पुस्तकालयका लागि सुझाव सल्लाह दिने शुभ चिन्तकहरुको विचारले जनसेवा पुस्तकालयले खाँदवारी देखि काठमाण्डौं सम्म पाईला चालिनु सकारत्मक काम थियो । खाँदवारीको युवाहरुले काठमाण्डौंमा पनि सम्पर्क अगाडि वढाइ सकेको थियो ।

२०३९ सालको लक्ष्मी पूजाको दिन लक्ष्मी प्रसाद देवकोटाको जन्म दिनमा जन सेवा पुस्तकालयले कवि गोष्ठीको आयोजना खाँदवारी पोखरी (हाल आरती होटल अगाडि) कार्यक्रम संचालयन स्थल थियो । उद्घोषक साहित्य सचिव हरि बहादुर श्रेष्ठ र कार्यक्रमको सभापति जिल्ला पंचायतका तत्कालीन उप सभापति सूर्य बहादुर श्रेष्ठ हुनु हुन्थ्यो । कवि गोष्ठी राम्रोसँग सम्पन्न भयो तर एक जना कविले कविता वाचन पछि अन्तमा जय देश जय जनता भनेको शब्दले गर्दा सबै दर्शकहरु छक्क परेका थिए । किन कि पंचायत शासनकालमा राज परिवारबाहेक जनतालाई जय जयकार थिएन ।

तिहार छुट्टी पछि कार्यालय खोल्न साथ जिल्ला कार्यालय संखुवा सभाबाट पुस्तकालयलाई अर्को आदेश नआए सम्म पुस्तकालय नखोल्नु र संचालन नगर्नु होला । अर्को पत्रमा तपाईहरुले जिल्ला कार्यालयको अनुमति विना किन साहित्य गोष्ठी संचालन गर्नु भयो ? जन सेवा पुस्तकालय खाँँदवारीमा उपस्थिति कार्य समितिका सदस्यहरु ३ घण्टा अर्थात् १ बजे जिल्ला कार्यालय संखुवा सभा खाँदबारीमा उपस्थित हुन आउनु होला भनि प्रमुख जिल्ला अधिकारी डम्बरु प्रसाद भट्टराइले दस्तखत गरेको गोप्य पत्र बुझि सबै साथीहरुलाई भनिनु र जिल्ला कार्यालय संखुवा सभा जान अनुरोध गरियो । तत्कालै कृष्ण गोपाल श्रेष्ठलाई पनि भेटघाट गरी सबै पत्र अध्ययन पश्च्यात प्रमुख जिल्ला अधिकारी बौलाएछ भन्नु भयो ।

जन सेवा पुस्तकालय कार्य समितिका सदस्यहरु सल्लाहाका कृष्ण गोपाल श्रेष्ठ र जिल्ला पंचायत संखुवा सभाका उप सभापति सूर्य बहादुर श्रेष्ठ जिल्ला कार्यालयमा प्रमुख जिल्ला अधिकारीको कोठामा भेला भै छलफल शुरु भयो प्रमुख जिल्ला अधिकारीले कविताहरु जिल्ला कार्यालयमा सेन्सर गराएर वाचन गराउनु पर्नेमा किन गराउनु भएन ? हाम्रो साहित्य सचिव हरि बहादुर श्रेष्ठले भन्नु भयो कविताका शब्दहरु सेन्सर गराउनु पर्ने खालका छैन भन्नेले जय देश जय जनता भन्यो सेन्सर गराएकै भए पनि यो शब्द भन्ने थियो बोल्नेको शब्द हामीले रोक्न सकिन्न भन्दा प्रमुख जिल्ला अधिकारी डम्बरु बल्लभ भट्टराइले हामी सबैलाई पूरा हप्काउनु भयो तपाईहरु सबै जागिरे, जागिर खाई दिऊ ?

जिल्ला पंचायत संखुवा सभाका उपसभापति सूर्य बहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम नभएको भए कृष्ण गोपाल श्रेष्ठ कवि गोष्ठीमा सहभागी नभएको भए तपाईहरु सबैलाई ६ महिना जेल पठाई दिन्थे प्रमुख जिल्ला अधिकारीको शब्दले जन सेवा पुस्तकालय कार्य समितिका सदस्यहरु नैरास्य हुनु स्वाभाविक थियो ।

सूर्य बहादुर श्रेष्ठ र कृष्ण गोपाल श्रेष्ठले मिलाउन धेरै प्रयास गर्नु भयो । प्रमुख जिल्ला अधिकारीलाई सम्झाउनु भयो तर प्रमुख जिल्ला अधिकारी मान्नेवाला थिएनन् अन्तमा प्रमुख जिल्ला अधिकारीले पुस्तकालयमा ताला लगाउने समितिको बैठक निर्णण पुस्तिका कार्यालयमा बुझाउनु पर्ने आदेश भयो । हामी सबैलाई एक चोटिका लागि माफी दिने फेरि पछि यस्तो कार्य गरिएमा कार्यवाही गरिने मौखिक आदेश भयो । यो निर्णयले हामीलाई काम गर्ने वातावरण नभएको हुदा हामी सबै निष्कृय भयौ ।

आखिर जनसेवा पुस्तकालय जय देश, जय जनताको शब्दले सदाको लागि बन्द भयो । आजसम्म यो पुस्तकालय संचालन भै राखेको भए खाँदवारीको सकृय पुस्तकालय हुने र युवा साथीहरुले रोजगार पाउने अवसर मिल्ने थियो ।

जन सेवा पुस्तकालय खाँदवारीले विकाशका धेरै कार्य गर्नु पर्ने काम थियो । ती सबै कार्यहरु अधुरो रहयो । खाँदबारीको पोखरी स्थित मुटुमा रहेको दाताले दिनु भएको पुस्तकालयका लागि जग्गा भवन जन सेवा पुस्तकालयको नाममा दर्ता हुनु पर्ने त्यो पनि मनकामना गाँउ पंचायत नाममा दर्ता भै भवन निर्माण गरी व्यापारी प्रयोजन आय आर्जन हाल खाँदबारी नगरपालीकाले आम्दानीको स्रोत भएको छ । जिल्ला पंचायतबाट ठेकेदारले पाउनुपर्ने रकम थियो । खाँदवारीका युवाहरु निष्कृयको कारणले सदाको लागि जनसेवा पुस्तकालय निस्तब्ध भयो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.