विचार

श्रद्धासूमन अर्पण गरौं – निशा अर्याल

nisha-aryalअभागी हो त्यो देश जहाँ नायक छैन
गलत ! अभागी हो त्यो देश जसलाई नायक चाहिन्छ
– ब्रर्तोल्त ब्रेष्ट

विश्व प्रख्यात नाटककार ब्रतोल्त ब्रेष्टको माथि उल्लिखित संवाद यहाँ कुन अर्थमा सान्दर्भिक छ भने अझै पनि हाम्रो एशियासम्म भोगको चेतना नायक नचाहिने उचाईमा पुगिसकेको छैन । त्यसो हुँदा आज राजा महेन्द्रको जस्तो नेतृत्वको खाँचो तटकारोरूपमा देखा परेको छ ।

प्रश्न उठ्छ असल नियत लिएर सरकार चलाउने कोशिश गर्दा गर्दै किन १८ महिनामा अपदस्थ भएर प्रजातन्त्रलाई समेत गुमाउनु पर्यो । हो , यही प्रश्नको ठीक उत्तर नै बिपी कोईरालामा असल नियत, व्यावहारिक राजनीतिक समझ, लोकप्रिय शासन चलाउने योग्यता हुँदा हुँदै पनि वैचारिक चिन्तन प्रक्रिया र दूरदृष्टि भने थिएन भन्ने स्पष्ट हुन्छ । त्यो के भने आमनिर्वाचनमा आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याएका कारणले उहाँका एक खालको आवश्यकता भन्दा बढ़्नै आत्मबल आएको थियो । नेपाली जनताको यत्रो दुई तिहाइभन्दा बढी जनमत पाएपछि आफुलाई कसैले छुन र उछिन्छ नसक्ने एकखालको घमण्ड पनि उहाँमा देखिएको थियो । त्यही घमण्डले गर्दा राजा महेन्द्रका सामु पनि उपर खट्टी लगाएर उपदेश दिने चाल देखाउन थाल्नु भयो ।

तर ०१५ सालको आमनिर्वाचनमा नेपाली जनताले राम्रोसंग चिनेको शक्ति भनेका राजा, राणा र ०७ सालको क्रान्तिको नेतृत्व गरेको पार्टी भनेर एकहदसम्म नेपाली काँग्रेस पनि थिए । राणा पराजित भएको शक्ति भइहाले, त्यस हालतमा पनि गोर्खा परिषदले १९ सिट जितेको थियो । होइन भने राजाले दिएको संविधान लिएर नेपाली काँग्रेस भोट माग्न आए पछि त्यसबाहेक अन्त भोट हाल्न कहाँ ठाउँ थियो । त्यसो हुँदा नेपाली काँग्रेसको बक्समा त्यसबखत खसेको भोट साँचों अर्थमा भन्ने हो भने नेपाली काँग्रेसको भन्दा बढी राजाको थियो । यो अर्थमा विपीमा राजा महेन्द्रसंग भएजति पनि राजनीतिक चिन्तन, समझ र दूरदृष्टि थिएन भन्ने प्रमाणित हुन्छ । ०१७ साल पछि ३० बर्षसम्म राजसंस्थाले निर्दलीय पन्चायती व्यवस्था चलाउन सकेबाट पनि त्यस बखत काँग्रेसको बक्समा खसेको मत काँग्रेसको भन्दा बढी राजसंस्थाको रहेको पुष्टि हुन्छ । वास्तवमा भन्ने हो भने विपी कोईराला यहीं निर सबै भन्दा बढी पछारिनु भयो ।

हामीले राजा महेन्द्रलाई आज पर्यन्त नेपालको इतिहासमा खलनायकको रूपमा चित्रण गर्दै आयौं । सायद यति बेला इतिहास पुनरावलोकन जरूरी भएको छ । राजा त्रिभुवनलाई नायक र महेन्द्रलाई खलनायकका रूपमा जसरी स्थापित गराइएको छ – यो सर्वथा गलत छ । राष्ट्रियताको संबर्द्धनमा राजा महेन्द्र अविस्मरणीय रहेका छन । जति बेला हिन्दी भाषाको नेपालमा अत्यधिक दवदवा थियो उनले नेपाली भाषालाई राष्ट्र भाषाको रूपमा स्थापित गरेर यसलाई देशव्यापी बनाए । उनको त्यस बेलाको एउटै भाषा एउटै भेषको नीति कति दूरदर्शी थियो भन्ने आज आएर सान्दर्भिक भएको छ । अहिले नेपाललाई जातको आधारमा, भाषाको आधारमा विभाजन गर्ने दुस्प्रयासहरू भइ रहेका छन । जबकि उनले भाषा र भेषभूषाकै आधारमा समेत देशलाई एक सूत्रमा बाध्ने काम गरे ।

उनको समयमा सामाजिक सुधार, भारतीय सेना फिर्ता, अर्थतन्त्रको कायापलट, राष्ट्रियताको सम्बर्द्धन आदि महत्वपूर्ण काम भएका छन । आज उनको जयन्ती हो । आज उनलाई सम्झने दिन हो । कृतध्न नबनौ ! आज उनका असलकामहरूलाई सम्झौ । श्रद्धासूमन अर्पण गरौं। आफ्नो उत्तरदायित्व पुरा गरौं ।

सम्पादक: यो लेखक निजी बिचार हो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.