विचार

सुखको खोजीमा – चन्द्रसिहं भट्टराई

हामी सबै सुख चाहन्छौं । हाम्रो उद्योग व्यापार, साहित्य, कला, क्रीडासंग आवद्ध र आधुनिक युगले जन्माएका विविध व्यवसायी र अधिकाँश राजनीतिक कर्मीहरुको कार्यशैलीको मूलमा समेत सुख प्राप्ति निहित रहेको छ । अहिले मानव सभ्यता अन्तरिक्ष युगमा प्रबेश गर्दैछ । अन्तरिक्ष युगमा प्रबेश गरि रहेको हुनाले हामी अन्तरिक्षमा अन्य प्रतिस्पर्र्धीहरुसंग परिचित हुने क्रम पनि बढेको छ । तापनि हामी जस्तै सुखको खोजीमा अन्य ग्रहबासी (एलेन) हरु समेत विगत ७/८ दशकदेखि सकृय छन् । यिनीहरु पृथ्वीका विभिन्न ठाउँहरुमा पृथक समयमा पृथ्वीबासीसंग संसर्गको लागि शंकास्पद प्रयास भएको देखिएका घटनाहरु प्रचारित भएका छन् । तर यो हाम्रो लागि कति चूनौतिपूर्ण हुने कुरा प्रति समयमै सजग रहन सके विवेकपूर्ण हुने छ ।

आज हामी पनि सुख कै खोजीमा छौं । यसैले विदेशिएका हौं । अमेरिका, यूरोप, अस्ट्रेलिया, एशिया र अफ्रिकाका विभिन्न देशहरुमा हामी छरिएका छौं । यो स्वाभाविक होे । आफ्नै देशमा सुखका अवसरहरुको प्रचुरता भएको भए कदाचित यो अवस्था आउने थिएन होला । यद्यपि जहाँ गए पनि सुखका लागि कर्म गर्नु पर्छ । कर्मका लागि हाम्रा पुर्खाले विदेशमा पनि नाम कमाएकै हुन् । बरु कर्मका लागि आयजन्य क्षेत्रको सृृजना गर्ने प्रयत्न हामीले गर्नु पर्ने कुरा समयमा नै बुझ्न सकेनौ । आज पनि स्थिति आवश्यक मात्रामा सुधार भएको छैन । यसका लागि एउटा राष्ट्रिय चरित्रको निर्माण गर्न सक्नु पर्ने थियो । यद्यपि व्यक्तिगत संदर्भमा केही व्यक्तित्वको उल्लेखनीय प्रगति स्मरणीय छ ।

हाम्रो कामको मूल्यले हामीलाई सुख प्राप्ति हुन्छ । तर यसमा प्रायः कसैको अनुग्रह लुकेको हुन्छ । यथार्थमा यो बास्तविकतालाई अधिकांशले स्वीकार गरेको देखिदैन । एउटा सभ्य समाजमा कृतज्ञता प्रकट गर्नु अनुकरणीय पक्ष हो । कृतघ्नता पिछडिएको सोचको उपज हो । यस्ता सोचहरु भएका व्यक्तिहरुबाट समाजको हित भएको छैन । यसका साथै हामीले आफ्नो प्राप्तिबाट जुन सुख पाउँछौं त्यसले हामीलाई कुन सीमासम्म सन्तोष प्रदान गर्छ, यो पनि एउटा महत्वपूर्ण विचारणीय पक्ष हो । हाम्रो दैनिक जीवनमा विशेष गरि प्रगतिशील मुलुकहरुका नागरिकहरु तथ्याँकका आधारमा र प्रत्यक्ष पनि धेरै सुखी छन् । सुखले मानिसलाई आनन्द दिन्छ तर सन्तोष नहुन पनि सक्छ । यदि सुखले सबैलाई सन्तोष दिने भए संसारका कतिपय सुखी व्यक्तिहरु र उनकै परिवारमा समेत विकृतिहरु नदेखिनु पर्ने हो । हिंसा र अपराधका घटनाहरु सुखी व्यक्तिहरुबाट पनि हुने गरेका छन् । यी घटनाको पछाडि असन्तोष जन्य विकारहरु कारक हुने गर्दछ । असन्तोष कुनै किसिमको अभाव अथवा असंतुष्टिको परिणाम हो भनेर अस्वीकार गर्न मिल्दैन । त्यसैले परिवार भित्रका असन्तोषले पनि समय समयमा विकृतिहरु सतहमा ल्याउने गरेका छन् ।

मानिसले सुख प्राप्तिका लागि आफ्नो शरीरको रक्षा गर्नु पहिलो कर्तव्य हो । साथै आफ्ना परिवारका सदस्यहरुको आवश्यकता पूर्ति प्रति सजग रहनु पनि आवश्यक छ । त्यसै गरि आफ्नो छिमेकी र समाज प्रति पनि उसको दायित्व छ । कुनै पनि व्यक्तित्वको निर्माणमा ऊसंग आवद्ध संघ संस्थाको पनि सहयोग रहेको हुन्छ र उसको छिमेकी तथा साथीहरुको पनि महत्वपूर्ण योगदान बिर्सन सकिदैन । यसै गरी कतिपयले राज्य प्रतिको दायित्व पालन नगरेमा दण्डित हुने अवस्था भोग्नु परेको छ । आफ्नो अज्ञानतावस अकारण समस्यामा परेका उदाहरण यत्रतत्र देखिन्छन् । आज सुख प्राप्तिका लागि हतारिएको मानिस प्राप्त समृद्धिले नैतिक अनुशासनप्रति बेवास्ता देखिनु अस्वभाविक होइन । किनभने समृद्धि भनेको भौतिक सुविधा हो । यसले उसमा विकार ल्याउन सक्छ । यो विकार मनसंग गाँसिएको छ । यसैगरि मानिसको मन भाबुकतासंग जोडिएको छ । मानिसको मनमा समय समयमा भाबुकता गहिरिनु स्वभाविक प्रकृया हो । यो भाबुकताका कारण नै मानिस कसैलाई मन पराउँछ र कसैलाई मन नपराउँन सक्छ । यही मन नपराउने कुराले उसमा द्वेषको बीजारोपण हुन्छ । यसले उसमा नकारात्मक ऊर्जा प्रवाहित हुन्छ र विकृतिले आकार ग्रहण गर्छ । यो सुखद होइन । सुखको चाहना राख्नेले सकारात्मक ऊर्जा ग्रहण गर्ने दिशा तिर उन्मुख रहनु हितकर हुन्छ । यो सकारात्मक ऊर्जाले उसलाई नैतिकवान हुन प्रेरित गर्छ । नैतिकवान हुनका लागि मानिसको मन सकारात्मक ऊर्जा बिवेकसंग आफुलाई जोड्न सक्नु नै उसको सफलताको खुड्किला हो ।

हाम्रो देशको सन्दर्भमा आजको प्रतिभा समस्याग्रस्त छ । विवास्पद राजनीतिक वातावरणले सुखको खोजी सपना भएको छ । तर पनि जीवनमा सतत संघर्षको अवस्यम्भावी प्रयोगलाई स्वीकार गर्नु निर्विकल्प छ । साथै वर्तमान चुनौतिहरुलाई सहजताका साथ मनन गर्दै वीरोचित चरित्र स्थापित गर्नु उसको अपरिहार्यता छ । यसैमा हाम्रो भविष्य निहित छ ।

आज हामी अमेरिकाको समृद्धिबाट आकर्षित भएर यहाँ स्वयं समृद्ध हुन अहोरात्रि काममा तत्पर छौं । यहाँ एउटा साधारण कार्यरत व्यक्तिले दैनिक जीवनमा आफ्नो आर्जनले गाडी प्रयोग गर्ने सामथ्र्य राख्दछ । तर समृद्धिको यो देशमा यहाँका केहि सामान्य बुढाबुढीले उनका छोराछोरीले हेरचाह नगरेकाले व्हिलचियर तान्ने कुकुरको भरोसामा बजार डुलेका देखिन्छन् । यस्तालाई सरकारले केही भत्ता दिएको हुन्छ । यो राम्रो पक्ष हो । तर आफ्नो कुकुरका लागि भीक्षा माग्ने गरेको मार्मिक चित्रहरु पनि देखिन्छन । त्यसैले सुखको खोजीमा हिडेको मानिसलाई सन्तोषको पनि खाँचो छ भने त्यस पछि शान्ति पनि अपरिहार्य छ । अमेरिका मात्र होइन कि पृथ्वीको कुनै देश र अन्तरिक्षको कुनै ग्रहमा समेत शान्ति रहित सुख समृद्धिको अर्थ छैन ।

आज हाम्रो खोजी त्यही हुनु पर्छ ।

( भट्टराई ने.का.पूर्व केन्द्रिय सदस्य एवं पूर्व उर्जा राज्य मन्त्री )

हाल
प्रवीण निवास,
डेनभर, कोलोराडो, यू.एस

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.