ब्लग

बिदेश, समाज, र सामाजिक सन्दर्भ

कुरा ४/५ वर्ष अगाडिको हो एकाबिहानै एकजना मित्रले फोन गरे  । उनि नेपालमा रहंदा  आफूलाई  निकै समाज सेवीको रूपमा  प्रस्तुत गर्थे । समाज सही अर्थमा कस्तो हुनुपर्छ भन्ने बारेमा मौका परे १/२ घण्टा लेक्चर दिन पनि पछि पर्दैनथे । उनि अमेरिका आएको २०/२५ वर्ष पनि नाघिसकेको थियो । कताबाट सम्झेछन् कुन्नि, अभिवादनको आदानप्रदान सँगै मैले प्रश्न गरे होइन मित्र के छ हालखबर? सुनाउनुहोस् । उनले आफ्नो बारेमा अमेरिका प्रवेश सँगै भएका दुख सुखका लामा लामा  कथाहरू तानाबाना जोडेर सुनाए । आफ्नो जागिर, नया व्यापारको थालनी र घर परिवारको बेली बिस्तार संगै आफ्नो निकै बखान पनि सुनाए । बीचैमा रोकेर मैले भने मित्र अब सबै कुरा सम्पन्न भैसकेछ खुसी लाग्यो, अब भविष्यमा के गर्ने योजना छ त ? पढाई सकियो, राम्रो जागिर छ, बस्नलाई घर  छ, बच्चाबच्ची  हुर्किसके  अब यसो  फुर्सदको समयमा कुनै परोपकारी संस्थाहरू तिर संलग्न भएर धेरथोर जति सकिन्छ आफ्नो संस्कृति, समाज र नेपालीत्वको पहिचान  गराउने  कार्यतिर लाग्दा कसो होला ?

मेरो यो सुझाव  उनको कानमा खस्न  नपाउँदै उनि एकाएक मसँग रन्किन पुगे । मित्र यो भीडमा बसेर काम गर्ने सुझाव मलाइ नदिनोस । म खुट्टा तानातान गर्ने व्यवहार, अरूको उन्नति र प्रगति प्रति डाह र इर्स्या  गर्ने प्रवृति र म मात्रै ठीक अरू सब गलत हुन् भन्ने भावनाबाट प्रेरित मान्छेहरुबाट वाक्क भइसकेको छु । बरु कसरी आफू वा आफ्नो परिवारको उन्नति कसरी गर्न सकिन्छ, २/४ पैसा बढी कसरी कमाउन सकिन्छ तेतातिर ध्यान दिनुस। हामी भनेका गरिब देशबाट आएका मान्छे हौं, मेहनत गरौं, पैसा कमाऊ र जीवन  सम्पन्न र सुखी बनाऊ। तिम्रो लागी पनि मेरो यो सुझाव छ बेकारको झन्झटमा नफस यसको कुनै अर्थ छैन, बिस्तारै बुझ्दै जान्छौ । उनले २/४ जना धनाढ्य र उनको अर्थमा सम्पन्न र सौखिन लाग्ने नेपालीहरूको उदाहरण पनि दिन थाले । अमेरिकी रँगिन जीवनका आशाहरू देखाउन थाले । म एकछिन अकमकिएँ, अचम्ममा परेँ । उनको बोलाइ, रवाफ र फुर्तीफार्ती सुन्दा लाग्यो मान्छे कति छिटै परिवर्तन हुन सक्दो रहेछ। १०/ २० वर्ष अमेरिका बसेका मित्रको यो जबाफ पछि मेरो उत्तर के हुन सक्थ्यो र सोचे सायद अनुभवीले  भनेको कुरा टिकै होला, प्रसंग बदले । मैले भने मित्र ठिकै छ यस बारेमा पछि पनि कुरा गरौला अरू सबै बैँसै छ होला क्यारे लौ त फोन गर्दै गर्नुस, यती भन्दै हाम्रो कुराकानी टुंगियो ।

म नेपालबाट अमेरिका आएको २/४ बर्ष मात्रै भएको थियो । आफ्नो पढाई भर्खरै सकेर, सानोतिनो जागिरमा लागेको मात्र  थिए । सबैको जस्तै मेरो उद्देश्य पनि  कसरी आफू छिटो  भन्दा  छिटो व्यबस्थित हुन सकिन्छ र सकियो भने  अमेरिकन नेपाली समाजभित्र रही यौटा सदभाब पूर्ण नेपालीको पहिचान बनाउने भन्ने नै थियो । तर आफ्नो मातृभूमि छोडेर विदेशिएका, र  बर्षौको अनुभव बोकेका  मित्रको  यो भनाइले मलाइ कताकता अफ्ठेरोपनको सिर्जना गर्यो।के साँच्चै नेपाली सदभाब र सहयोग  सम्भव छैन त यहा ? के यहाँ बस्ने सबै नेपालीहरुमा उनको जस्तै सोचाई छ त ? के यसरी नै  नेपालीहरुले आफ्नो संस्कारलाई  बिर्सिदै गएका हुन त ? या उनले केहि गरौ भन्ने सोच राख्दा कसैले भाड्न खोजेकै होला  त ?

म  सोच्न थाले, मेरा  जीवनका हरेक अभिन्न क्षणहरुको म आफै मुल्यांकन गर्न थाले । मैले जीवन दर्शनका बारेमा पढे  सिकेका कुराहरूलाई मेरा मित्र  र मेरो आफ्नो जीवनसँग तुलना गर्न थाले । बिना सामाजिक पहिचान कुनै पनि मानिसको जिबनको सहि अर्थ कुनै दार्शनिकले पनि उल्लेख गरेको मलाइ सम्झना छैन । मेरा मित्रले जीवनको अर्थ अर्कै ढंगले बुझे वा उनीप्रति वितृष्णा जगाउने कुनै कारक तत्व छ ? बुझ्न मन लाग्यो । हुनत उनमा यो ज्ञान पक्कै नभएको होइन होला । तर हुनसक्छ उनका अगाडी अरु कुनै  व्यक्तिगत व्यवधान हरु होलान, जसले गर्दा  उनलाई नेपाली समाज प्रति घृणा गर्नु पर्ने  स्थितिको सिर्जना गर्यो । खैर जे होस्, मैले बुझेको त के हो भने मानव जिबनको व्याख्या भनेकै यसको समाजसँग हुने सम्बन्ध हो, नाता हो। यदि कुनै व्यक्ति ले  समाज संग नाता गास्नु  छैन भन्ने ठान्छ भने, त्यो व्यक्ति  ले आफूलाई मानव  भनेर परिचय दिनु आफैमा हास्यास्पद कुरा बाहेक अरु केहि हुने सक्दैन । उनीमा  समाजप्रति बितृष्णा जाग्नु का कारण विविध हुन सक्लान, तर त्यसो भयो भन्दैमा सामाजिक जिम्मेवारीबाट टाढा भाग्न मिल्दैन । समाधानको बाटो खोजिनुपर्छ, वा समाधानको लागि प्रयास गरिनुपर्छ । वितृष्णा ले जीवनलाई सुखी बनाउदैन । सुखी बन्ने एउटा मात्र उपाए छ, त्यो हो सबैप्रति प्रेरणादायी हुनु । त्यो भनेको जति सम्भव छ  आफुमा भएको ज्ञान, गुण र धन समाजको  लागि पनि समर्पण गर्न सक्नु ।

आजकल हामी पैसाको  दास भएका छौ छ, तर थाहा छैन हामीलाई कति पैसाको  आवश्यकता छ? कति  सम्म कमाउने धोको छ त ? यसो बुझ्दा यसको कुनै सिमा देखिन्न, तर सबै एउटै कुरा भन्छन धेरै कमाऊ, सम्पन्न बन, अनि सुख शान्ति हुन्छ। एउटा मान्छे बिहानदेखि रातसम्म काम गर्छ, उ हप्तादेखि हप्तासम्म  व्यस्त छ, घरमा एक मिनेट बास छैन, छोराछोरोको मुख हेर्ने  फुर्सद  छैन । कहाँ छ उसँग परिवार, वा छोराछोरिहरूको लागि समय ? कहाँ छ मनभित्र शान्ति यो मान्छेलाई ? कुरा के भने सम्पति चाहिन्छ, तर सम्पतीले जीवन सरल बनाइनु पर्छ , नकी  कठिन । यहा त उल्टोको पो राज छ ।

उ समाजबाट अलग्ग छ किनकि उ सामाजिसंग नजिक हुने फुर्सत छैन । उसमा घमण्ड छ, ज्ञानको कि त धनको, जो कोहीलाई उ मान्छे गन्दैन। ज्ञान लिनु भनेको प्रमाणपत्र बटुल्नु मात्र  होइन । जबसम्म कसैले पाएको  ज्ञानलाई समाजले अनुभव गर्न सक्दैन तबसम्म व्यक्ति को  ज्ञानको कुनै महत्त्व रहन्न । आफ्नो लागि त हरेक प्राणीले केहि न केहि गर्छा नै, तर मानिस अलग प्राणी हो । यसले आफ्नो लागि मात्र होइन अरुको लागि पनि समर्पण गर्छ । प्राचिन कालमा पनि ऋषीमुनिहरूले समाजमा बसेर आफ्नो ज्ञान बाड्ने गर्थे, त्यसैले उनीहरू मानव जीवनका पथ प्रदर्शक मानिए । ज्ञान लिएर घर बस्नेहरुको नाम कहिले पनि सुनिएन । संसारका दिग्गज महापुरूषहरुलाई हामी किन चिन्छौ । किनंकी उनीहरुले आफ्नो ज्ञान र धनलाई  समाजसंग बाँडे, होइनभने त्यो अलौकिक धन र ज्ञानको  कुनै  अर्थ हुने थिएन। तर खोइ यहाँ हामीले यो सब मनन गरेका छौ  त ? किन अझै मेरा मित्र जस्ता मानिसहरुलाइ हामीले यो कुरा बुझाउन सकेनौ ? आजको गम्भीर प्रश्न यहि हो ।

मित्रको कुराले मलाई विश्वस्त  बनाउन  सकेन। मैले सोचे पुर्खाले दिएको र  समाजले सिकाएको अलौकिक ज्ञान हाम्रो  मानसपटल बाट अझै अलग्गिएको छैन, हामीले मानव जीवनलाई अरु जिब भन्दा अलग देख्नु  पर्छ, मानवीय मूल्य र मान्यतालाई आत्मसाथ गर्नुपर्छ । हामीले समाजलाइ आफ्नो पहिचानको रुपमा चिन्नु पर्छ ।

म यौटै विश्वाशमा निर्धक्क छु, म सामाजिक प्राणी हुँ र  मैले  यही समाजसंगै हुर्किन सिक्नु पर्छ, अनि मात्र  मैले सिकेको ज्ञान को सहि अर्थ  र उपयोग हुनसक्छ । हो म मान्दछु हरेक मानिसका  आफ्नै आबश्यकताहरु छन्, तिनका परिपुर्तिकालागी सबैले एकपटक जीवनमा धेरै मेहनत गर्नु पर्छ । तर अन्तत जीवनको उपलब्धि यहि समाजप्रति समर्पण हुनुपर्छ । अन्तत हाम्रो जीवनको चाहना भनेको “आफ्नो कमाइले परिवारलाई धान्न पुगोस, जानेको ज्ञान र शिप समाजमा बाड्न पुगोस, आपतविपतमा मध्यरातमा बोलाउन मिल्ने कम्तिमा यौटा असल  मित्र मिलोस् र जीवनको अन्त्येस्टिमा एकजुट हुने यौटा  नेपाली समाज बनोस” भन्ने नै हो । बाकी सब इश्वरको जिम्मा ।

0 Comments

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.