ब्लग

गफाडी नै गफाडीको देश नेपाल !

  • सुजन पन्त

sujanयो दुनियाँ कुरै कुराको भण्डार हो, त्यसैले यहाँ अनेक किसिमका कुराहरु आइरहन्छन् । तर, गुलिया कुराको कोरा आदर्शले मात्रै दुनियाँ बदलिँदैन । दुनियाँ बदलिन भनाई र गराइएको तारतम्य र तादम्य मिल्नुपर्छ । जब हाम्रा भनाई र गराईको लय बिग्रन्छ, तब हामीले भन्ने गरेका कुरा र गँजेडीले भन्ने कुरामा कुनै तात्विक भिन्नता रहँदैन । यसर्थ हाम्रा भनाईहरुको ओज र गरिमा बचाउन व्यवहारमा खरो उत्रनै पर्छ । आफ्ना भनाई र गराईमा जो उत्रदैन, उसमा र गँजेडीमा कुनै अन्तर हुँदैन ।

तर, हामीमा बोलको कुरा गम्भीरतापूर्वक लिएर जीवन व्यवहारमा लागू गर्ने संस्कार र संस्कृति अझै हुर्कन सकेको छैन् । विश्वका अन्य देश र हामीमा फरक यति छ, अन्य देशमा बोलेका कुरा पारित गरिन्छ, तर हामी कहाँ बोलेका कुरालाई पूरा गर्न आवश्यक ठानिँदैन । उदेकलाग्दो कुरा त यो छ कि हाम्रोमा गर्नका लागि नभएर केबल बोल्नकै लागि बोल्ने प्रवृति एउटा संस्कृतिकै रुपमा विकास भएर गइरहेको छ ।

यो संस्कृति बसाल्न कसैले भूमिका खेलेका छन् भने ती नेपालका राजनीतिक दलहरु र तीनका नेताहरु नै हुन् । तिनले नेपाललाई एउटा कुरौटे देशको नामले चिनाएका छन् । के देशको सेवा गर्ने कसम खाएर राजनीतिमा होमिएका नेताहरुको कर्तव्य देशलाई यसरी नै भड्खालोतर्फ डोहो¥याउने हो ? एउटा गम्भीर प्रश्न नेताका भनाई र गराईमा देखिएको भिन्नताले उब्जाएको छ ।

पाकाहरु भन्थे ‘यो सतिले सरापेको देश हो ।’ यो भनाई आज पनि नेपाली समाजमा चर्चाकै रुपमा रहेको छ । हाम्रा सुचनाका माध्यमहरु चाहे त्यो रेडीयो होस या टेलिभीजन तिनीहरु असहमती र अव्यवस्थाका डंका पिटीरहन्छन् ।  समाचारहरुको सारले बोल्छ ‘नेपाल खत्तम भैसक्यो, अनि त्यस्तोमा हाम्रा दांैतरीहरुले मलेसियाको टिकट नकाटेर के गरुन ?’

दुरदराजका मनुवाहरु सिर्फ एक ट्याब्लेट सिटोमलको अभावमा टाउकोमा मैलो फेटा बाँध्न बाध्य भएका बेला राज्य संचालनको आसनमा बसेकाहरु जिस्किए जस्तो गर्छन । मानौं जनताले सिटामोल नपाउको सन्देश उनिहरुको लागि हाँस्ने रक्सि पचाउने खुराक हो ।

दुःखको साथ भन्नुपर्छ, त्यही देशका जनताको हक र अधिकारका लागि लडेको बताउने नेताहरु आफ्नै नागरिकहरुको न्यूनतम आवश्यकतामाथि राज्यले लात मारिहँदा पनि कुनै चासो र सरोकार राख्दैनन् । कुनै पार्टीका नेता सामान्य बिरामी पर्दा हामी भँगेरा अक्षरमा शीर्षक राखेर अखबार रंग्याउँछौं, तर दूरदराजका जनताले एउटा सिटामोलका लागि याचना गर्दा त्यसलाई पूरै वेवास्ता र उपेक्षा गर्छौं ।

राज्यको ढुकुटी सत्यनाश पार्ने खेल यतिमा मात्रै रोकिँदैन नेता बिरामी पर्दा उनका कार्यकर्ताको लावालस्करसहित विदेश जाने तारतम्य मिलाइन्छ । एक जना नेताज्यूको साथमा एक जना मात्र गए पनि हुन्थ्यो नि ? नेताज्यूको हस्पिटलमा हेर्नदेखि कुर्नेसम्मको बाहनामा १०–२० जना कार्यकर्तालगायत परिवार नै विदेश घुम्न पठाइन्छ, त्यो पनि सरकारी खर्चमा । त्यतिले मात्र नभएर उनको शिघ्र स्वास्थ्यको कामनाको लागि भनेर हातमा फुल गुच्छा लिएर पनि राज्यको ढुकुटीमाथि नै दाईं गरिन्छ ।

राज्यका नागरिक सिटामोल नपाएर तड्पिरहेका बेला राज्यको ढकुटीमाथिको यो मनोमानी ब्रह्मलुट मात्रै होइन, राज्यमाथि गरिएको चरम दुरुपयोग हो, बलात्कार हो । तर, एउटा पार्टीले टायर बाल्न उर्दी जारी गर्दा बुर्लुक्क उफ्रिएर सडकमा आइपुग्ने हामी यस्ता महत्पूर्ण कुरामा कुनै चासो देखाउँदैनौं र चुपचाप आँखा चिम्लिएर मौनता साँधिदिन्छौं । के राज्यमाथि लादिएको यो ब्रह्मलुट हाम्रो सरोकारको विषय होइन ? यसमा हाम्रो चासो हुँदैन ? हरेक नागरिकले गम्भीरतापूर्वक सोच्ने विषय हो, तर हामीलाई यसरी सोच्ने फुर्सद नै छैन् ।

गएको दशैंताका सुशिल कोइराला क्यान्सरको उपचार गर्न अमेरीका गए । ठिक त्यतिवेला डाक्टरहरु भन्दै थिए ‘प्रधामन्त्रीज्यूको उपचार हामी नेपालमै गर्न सक्छौं ।’ सुशिलले नेपाली डाक्टरलाइ पत्याएनन्, अनि अमेरीकाको टिकट काटीछाडे ।  सुशिलपछि केपी ओलि पटक–पटक राज्यबाट उपचार खर्च लिएर लावालस्करसहित सिंगापुर आउने जाने गरिरहे ।  देशका लागि सिन्को नभाँच्ने उनीहरुले सबै खर्च राज्यको नाममा लगाइदिए विदेश उपचार गर्ने नाममा ।

तर्क गर्नेले गर्न भन्न सक्लान्–देश हाक्ने नेता रहेनन् भने देशको विकासको गति नै सुस्त हुन्छ र देशलाई यसले पछाडि धकेल्छ । यसमा केही सत्यता पनि होला । तर, दुनियाँमा त्यस्तो केही छैन जसको विकल्प नै नहोस् । विकल्प र नेतृत्व त समयले जन्माउने कुरा हो । त्यसैले देशको ढुकुटी नासेर देशका लागि सिन्को नभाँच्ने नेताहरुको उपचारमा करोडौं राशी किन खर्च गर्ने ?

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.