धर्म - संस्कृति भर्खरै

शुरु भयो ठूली भैलीको रौनक

जुम्लामा ठूली भैलो पर्व शुरु भएको छ । स्थानीय परम्पराअनुसार जुम्लामा भैलो खेल्ने चलन रहिआएको छ । मङ्सिर शुक्ल पूर्णिमाको दिनदेखि भैलो खेल्न शुरु हुने गर्दछ । त्यसलाई सानो भैलो भन्ने गरिन्छ ।

औँसीको भोलिपल्टदेखि भैलो खेल्न शुरु भएको चन्दननाथ नगरपालिका–२ का संस्कृतसम्बन्धी जानकार रमानन्द आचार्यले बताउनुभयो । जुम्ला राज्यका संस्थापक राजा बलिराज शाहीको पालादेखि जुम्लामा भैलो खेल्ने चलनको शुरुआत भएको मानिन्छ । बडाहाकिमले भैलेरालाई चार पैसा र भैलेरीलाई चार पैसा दिने चलन रहेको संस्कृतसम्बन्धी आचार्यले भन्नुभयो, “चन्दननाथ भैरवनाथ मन्दिरबाट भैलोको प्रसाद लिएपछि अन्य गाउँमा भैलो खेल्ने चलन रहेको बताउनुभयो ।”

भैलेराले हातमा गृह लाठी बोकेर हिँड्थे भने भैली पुकार्ने बेला त्यही लाठी टेक्ने गरेको र त्यतिबेला भैलो खेल्न जाने समूहका भैलेरीहरुले तलतिर घाँघरा र माथिलो शरीरमा चौबन्दी चोलो लगाउने रहनसहन भएको यहाँका संस्कृत जानकार बताउँछन् । आधुनिक परिवेशअनुसार पछिल्लो समयमा त्यो चलन हराउँदै गरेको संस्कृतका जानकार आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ए आँसुबार भनेर गाउँमा पहिले भैलो खेल्ने चलन रहेको छ । त्यसलाई पनि लय हालेर भन्ने गरिएको छ ।” भैलोको पहिलो र दोस्रो दिन आफ्नो गाउँभन्दा टाढाका गाउँमा खेल्ने गरिन्थ्यो भने तेस्रो र चौथो दिन आफ्नो गाउँमा भैलो खेल्ने चलन रहेको थियो । चोथौ दिनसम्म भैलो खेल्ने चलन रहे पनि गाउँमा भैलो खेल्न नभ्याएका घरमा पाँचौँ दिनसम्म पनि भैलो खेल्ने चलन रहेको उहाँले बताउनुभयो ।

ठूली भैलो शुरु भएको दिनदेखि अन्तिम दिनसम्म गाउँमा गएका पाहुनालाई भैलो छोप्ने चलन पनि रहेको छ । भैलेरा र भैलेरीले पाहुनालाई छोप्ने र भैलो नदिनेलाई टोपी, झोला, घडी, ज्याकेट र अन्य सामानहरु राख्न लगाउने चलन रहेको जुम्लाको तिला गाउँपालिका–१ का स्थानीयवासी दलपत्ती रावतले बताउनुभयो । गाउँमा सर्वसाधारणले भैलो खेल्न आएकाहरुलाई भैलो नदिई घरको ढोका बन्द गरेर अन्तै जाने गरेका कारणले पनि भैलो हराउँदै गएको रावतले बताउनुभयो । जिल्लामा स्थानीय परम्पराको मान्यता बोकेको भैलोले सामाजिक सद्भाव कायम गर्न नसकेका कारण यो चलन विलय हुन पुगेको यहाँका स्थानीयवासी बताउँछन् ।

ठूली भैलोको बेला पोइल गएकी छोरी चेलीहरु सुख दुःख साट्न माइती घरमा जाने गर्दछन् । चार दिनसम्म जिल्लामा विभिन्न गाउँमा भैलो खेल्ने गरिन्छ । अहिले महिला र बालबालिकाले समूह बनाई भैली खेल्न शुरु गरेका छन् । केही वर्षबाट कर्णाली राजमार्गमा बाटो छेकी सवारी चालकबाट भैली असुल्ने परम्परा बसेको सवारी साधनका चालक बताउँछन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.