धर्म - संस्कृति भर्खरै

शान्तिको कामना गर्दै पशुपतिमा देशोद्धार पूजा

देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा शुरु गरिएको देशोद्धार पूजा एवं जात्रा आजदेखि सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिने भएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीदेखि १० दिनसम्म यो जात्रा गरिन्छ । पशुपति क्षेत्रमा बज्रेश्वरी, वत्सलेश्वरी र आकाश भैरवको रथयात्रा गरी हुने यो जात्रापछि नै उपत्यकामा अरू जात्रा गर्ने परम्परा छ । जात्राको पहिलो दिन आज पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरी उपत्यकाका प्रमुख देवी देवतालाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा गरिन्छ ।

आज बेलुकी ५ बजे पशुपतिनाथ मन्दिरमा भट्ट रामकान्त भट्टले पूजाआराधना गरेपछि उहाँकै नेतृत्वमा उपत्यकाको भित्री भागका देवी देवतालाई निमन्त्रणा गरिने पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी दिए । निमन्त्रणादेखि जात्राका सबै कार्यक्रम भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिने छ ।

निमन्त्रणा यात्रा पशुपति पश्चिममूलढोकाबाट जयवागेश्वरी–ताम्रेश्वर–भण्डारेश्वर–ज्ञानेश्वर–नक्साल भगवती–कमलाक्षी–असन–हनुमानढोका–कुमारीघर–जैसीदेवल–लगन डबली–पचलीभैरव–यङ्गाल–मरु गणेश–नरदेवी–टेबहाल हुँदै पशुपतिस्थित वत्सलेश्वरी मन्दिरमा आएर निमन्त्रणा सकिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिए ।

जात्रा सम्पन्न गर्न कोषले सञ्चालक परिषद् सदस्य आशा पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले कोरोना महामारीलाई ध्यान दिँदै व्यवस्थित जात्रा गर्ने तयारी गरेको उनले बताए । आज निमन्त्रणा गरेपछि भोलि पशुपति क्षेत्रमा सबै देवताको निमन्त्रणा पूजा गरिन्छ । आजको निमन्त्रणालाई दुदु च्याँ च्याँ भनिन्छ ।

आज निम्ता गरेपछि ती देवीदेवताका साथै त्यस क्षेत्रका स्थानीयवासी पनि पशुपतिमा जात्रा हेर्न आउँछन् । जात्राको मुख्य दिन चैत २९ गते बज्रेश्वरी, वत्सलेश्वरी र आकाश भैरवको रथ निकालिन्छ । रथलाई पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाइन्छ ।

यो जात्रामा पशुपति क्षेत्रमा बसोबास गर्ने नौवटै जातिका मानिस उपस्थित हुनुपर्ने प्राचीन कालदेखिको भनाइ छ । तीमध्ये एउटा जातिमात्र उपस्थित नभए पनि जात्रा नहुने नियम छ । गत वर्ष पनि कोरोना महामारीका कारण दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर जात्रा सम्पन्न गरिएको थियो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.