अन्तर्राष्ट्रिय समाचार

चार वर्ष देखि सिरियामा जारी द्वन्द्वमा तीन लाख बाह्र हजारको मृत्यृ।

मंसिर २९। सिरियामा जारी गृहयुद्धका कारण मृत्यृ हुनेको सङ्ख्या तीन लाख १२ हजार पुगेको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले मंङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कमा युद्धका कारण तीन लाख १२ हजार व्यक्तिको मृत्यृ भएको र यसमध्ये ९० हजार सर्वसाधारणको मृत्यृ भएको जनाइएको छ।
सन् २०११ म यहाँको सरकारविरोधी आन्दोलन सुरु भएपछि करिब १६ हजार बालबालिकासहित ५३ हजार विद्रोहीको मृत्यृ भएको छ भने एक लाख १० हजार सरकार पक्षधर लडाकूले पनि ज्यान गुमाएका छन्। मृत्यृ भएका सरकार पक्षधर लडाकूमध्ये ६० हजार सिरियाली सेना भएको उक्त संस्थाले जनाएको छ। त्यसैगरी द्वन्द्वमा दशौँ हजार सिरियाली मिलिसिया र कैयौँ लेबनानी हेजबुल्लाह आन्दोलनका सदस्य तथा विदेशी लडाकूको पनि सिरियाको द्वन्द्वमा  परी विगत पाँच वर्षको अन्तरालमा मृत्यृ भएको छ।
संस्थाले करिब ५५ हजार जिहादी समुदायका लडाकूको मृत्यृ भएकामा अधिकांश इस्लामिक स्टेट (आईएस) समुह वा पूर्व अल कायदा समुहमा आवद्ध फतेह अलसाम फ्रन्टका लडाकू रहेका छन् भने केही अन्य साना अतिवादी समूहका सदस्यहरु रहेका जनाएको छ। संस्थाले करिब तीन हजार ६८३ जना मृतकको परिचय खुल्न नसकेको बताएको छ।
मंङ्गलबार सिरियाली राष्ट्रपति बसर अल असदको सरकार पक्षधर सेनाले विद्रोहीको आश्रयस्थल रहँदै आएको प्राचीन सहर अलेप्पोको करिब सम्पूर्ण भाग आफ्नो नियन्त्रणमा लिन सफल भएको छ। यो राष्ट्रपति असदको युद्धका क्रममा भएको सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिइएको छ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.