अन्तर्राष्ट्रिय समाचार

भारतमा वामपन्थी विचारधारा पहिलोपल्ट संकटमा

भारतीय राजनीतिमा वामपन्थी विचारधाराले लामो समय मध्यपन्थी र प्रगतिशील प्रवृत्तिलाई सहयोग पुर्‍याएको थियो । भारतको राजनीतिमा लामो समय प्रभावशाली भएको वामपन्थी राजनीति पहिलोपल्ट संकटमा परिरहेको छ । भारतीय कम्युनिस्ट इतिहासमा पहिलोपल्ट चुनावमा सबैभन्दा बढी मुस्किल सामाना गरिरहेको छ ।

सन् २००४ को चुनावमा कांग्रेसलाई बहुमत प्राप्त भएन । मनमोहन सिंहको नेतृत्वमा सरकार गठनमा अन्य पार्टीका साथै वामपन्थी पार्टीको पनि महत्वपूर्ण भूमिका थियो ।

त्यस समय वामपन्थी पार्टीलाई ५९ सिट हासिल भएको थियो । सन् २००९ को निर्वाचनमा यो घटेर २४ भयो । त्यसपछि २०१४ मा त्यो पनि घटेर १२ मा पुग्यो ।

यसपल्ट भने वामपन्थी दललाई अस्तित्व जोगाउनै संकट पर्ने अवस्था आउने देखिन थालेको छ । उक्त पार्टीले पश्चिम बंगालका ४२ मध्ये ४० र केरलाका २० लोकसभा सिटमा चुनाव लडिरहेको छ । यसबाहेक बिहार, तमिलनाडु, पोरबन्दर र केही प्रान्तमा वामपन्थी उम्मेदवार छन् ।

पश्चिम बंगालमा ३४ वर्षसम्म बामपन्थी दलले सरकार चलाए । जबकी केरलामा कतिपटक पाँच वर्षको अन्तरालमा वामपन्थी सरकारमा आएका थिए ।

पूर्वोत्तर राज्य त्रिपुरमा पनि वामपन्थीहरुकै शासन रहँदै आएको थियो । जहाँ अहिले भाजपाले सरकार चलाइरहेको छ ।

बंगालमा आठ वर्षअघि ममता बनर्जीको तृणमूल कांग्रेसले वामपन्थी पार्टीलाई निकै पछि पारिदिएकी थिइन् । त्यहाँ पनि भाजपा बिस्तारै– बिस्तारै वामपन्थी दलको ठाउँ लिँदै गइरहेको छ ।

डा नन्दनी मुखर्जी दक्षिण कोलकाताबाट वामपन्थी दलकी उम्मेदवार छिन् । उनी भन्छिन्, ‘कम्युनिस्टको पतन १० वर्षअघि बंगालमा आएको राजनीतिक तुफानका कारण भएको हो ।’

उनका अनुसार धेरै राजनीतिक पार्टीहरु अस्तित्वमा आए र विदेशी शक्तिले पनि बंगालमा वामपन्थी सरकारलाई कमजोर बनाउन सहयोग गरे ।

तर, माक्र्सवादी कम्युनिस्ट पार्टीका युवा सांसद रीताबृता बनर्जी कम्युनिस्ट जीवनको यथार्थ मात्रै होइन, परिवर्तित समय र माहोललाई बुझ्न समेत असमर्थ भएको बताउँछिन् । उनी भन्छन्, ‘सबैभन्दा ठूलो समस्या मायन्डसेटको हो । उनीहरु जनताको समस्या बुझ्न सकिरहेका छैनन् । यथार्थबाट पनि टाढिइसकेका छन् । यो सामाजिक सञ्जालको जमाना हो । यदि मोबाइलको प्रयोग गर्नुहुँदैन भनियो भने तपाईं के ठान्नुहुन्छ ?’

तर, कम्युनिस्ट नेता कनीनका बोस यसलाई लिएर धेरै चिन्तित छैनन् । उनलाई वामपन्थी दलको अहिलेको खराब अवस्था अस्थायी मात्रै हो भन्ने लाग्छ । उनी भन्छन्, ‘हाम्रो बुझाइ सही छ । किसानका विषयमा, गरिबका विषयमा र महिलाका हकहितमा आन्दोलनसँग जोडिएको छ । मान्छेहरुले बुझ्नुपर्छ । आज नबुझे पनि भविष्यमा बुझ्नेछन् ।’

अहिलेको चुनावमा वामपन्थी पार्टीका लागि उनीहरुको इतिहासकै सबैभन्दा बढी चुनौती छ । यो चुनाव उनीहरुका लागि हारजितको सबाल होइन । यो देशको चुनावी राजनीतिमा वामपन्थी पार्टीको अस्तित्वको लडाइँ बनिसकेको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.