अन्तर्राष्ट्रिय समाचार

भारतकी पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन

भारतकी भूतपूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुषमा स्वराजको निधन भएको छ। उनी ६७ वर्षकी थिइन्।

उनलाई मङ्गलवार साँझ दिल्लीस्थित एम्स् अस्पतामा भर्ना गरिएको थियो।

स्वराजको निधन कार्डिएक अरेस्टका कारण भएको बताइएको छ। उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कार्डिएक अरेस्ट भएपछि मानिसको मुटुमा इलेक्ट्रोनिक गडबडी हुने र त्यसै कारण मुटुको धड्कनको तालमेल बिग्रिने चिकित्सकहरू बताउँछन्।

पच्चीस वर्षको उमेरदेखि राजनीतिक यात्रा थालेकी स्वराजका राजनीतिक गुरु चाहिँ वरिष्ठ भाजपा नेता लालकृष्ण आडवाणी थिए।

उनको अन्तिम संस्कार बुधवार दिल्लीमा राजकीय सम्मानका साथ हुने कार्यक्रम छ।

गत वर्ष उनले सन् २०१९ को चुनाव नलड्ने घोषणा गरेकी थिइन्। उनले त्यस्तो घोषणा गरेपछि उनका पति तथा भूतपूर्व राज्यपाल कौशलले भनेका थिए, “एउटा समय आएपछि मिल्खा सिंहले पनि दौडिन बन्द गरेका थिए। यिनी त विगत ४१ वर्षदेखि चुनाव लड्दै आइरहेकी छन्।”

श्रद्धाञ्जलि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा सन्देश लेख्दै स्वराजप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

मोदीले ट्विटरमा लेखेका छन्, ”भारतीय राजनीतिको एउटा महान् अध्याय समाप्त भएको छ। भारत एउटी असाधारण नेताको निधको शोकमा डुबेको छ। सुषमा स्वराज महान् व्यक्ति थिइन् जसले मानिसको सेवा र गरिबहरूको जिन्दगी अझै राम्रो बनाउन आफ्नो जीवन समर्पण गरिदिइन्।

उनले लेखेका छन्, “सुषमाजी एक अद्भुत वक्ता तथा गजबकी सांसद थिइन्। उनलाई सबै दलले सम्मान गर्थे। उनले भाजपाको हित र सिद्धान्तसँग कहिल्यै सम्झौता गरिनन्।”

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्वराजको निधनमा दु:ख व्यक्त गर्दै भारत सरकार, भारतीय जनता र शोकसन्तप्त परिवारसँग सहानुभूति व्यक्त गरेका छन्।

स्वराजले आफूलाई भाइ भन्ने गरेको सम्झना ओलीले ट्विटरमा गरेका छन्

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.