जनसरोकार

आफैँ किसान, आफैँ श्रमिक र आफैं साहु

पथरी (मोरङ), असोज २० गते । आफ्नै खेतमा आफैले उत्पादन गरेको उखुको जुस बेच्न थालेपछि बयरवन–९ का किसान ४७ वर्षीय चेतनाथ पौडेलका दिन फर्केका छन् । प्रत्येक दिन बिहानको खाना खाएर पूर्वपश्चिम राजमार्गसँगै जोडिएको कानेपाखरीमा जुसको व्यापार गर्नु उहाँको दैनिकी हो । आफैँ किसान, आफैँ श्रमिक र आफैं साहु पनि । त्यही परिश्रमले दिएको छ, पौडेललाई मासिक रु ६० हजार ।

उहाँलाई अहिले पैसा समाउन फुर्सद छैन । रहरले कोठेबारीमा ५-६ वटा उखुका बोट लगाउनु भएका पौडेलले अहिले सबै धानखेती नगरेर उखुको व्यावसायिक खेती सुरु गर्नुभएको छ । कृषि मजदुर नपाएर उखु खेतीतर्फ लाग्नुभएका पौडेलको जिन्दगी नै उखुमय बनेको छ ।

सुरुका दुई वर्ष उहाँले खेतबाट उखु काटेर लाँक्रा–लाँक्रा डोकामा राखेर बेच्नुभयो । कहिले गाउँमा कराइकराइ बेच्नुभयो । राम्रै आम्दानी भएपनि उहाँले घरपरिवारलाई समय दिननसकेपछि उखु ठेक्कामा दिनुभयो । ठेक्काबाट पनि आम्दानी राम्रो भयो, तर साथीभाइ इष्टमित्र राख्न नपाइने । आफैँलाई खान मन लाग्दा पनि ठेकदारलाई साउती गर्नुपर्ने ।

झन्डै दुई वर्षयता उहाँ पूर्वपश्चिम राजमार्गअन्तर्गत कानेपोखरीमा उखु पेलेर जुस बेचिरहनुभएको छ । उहाँले दैनिक झन्डै तीन हजारको जुस बेच्नुहुन्छ । “अहिले एक बिघामा उखु लगाएको छु । आफ्नो उत्पादनले वर्षभरि जुस बेच्न नपुग्ने भएपछि अन्यत्रबाट उखु ल्याउनुपर्ने भएको छ”–पौडेलले भन्नुभयो ।

बजारमा उखुको माग उच्च भएपनि आपुर्ति गर्न नसकेपछि अहिले उहाँ मात्र होइन, उहाँका छिमेकीहरू पनि धान बाली मास्दै उखु लगाउन थालेका छन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.