जनसरोकार

जापानमा नेपालीको मृत्यु, लास ल्याउन परिवारलाई सकस

रोल्पा—जापानमा मृत्यु भएका श्रीमान्‌को शव नेपाल ल्याउन गरिएका प्रयास असफल भएपछि मिरुल–३ रोल्पाकी प्रेमकुमारी घर्तिमगर सदरमुकाम लिवाङ आइपुगेकी छिन्। गत असोज २ गते जापानमा प्रेमकुमारीका श्रीमान् शिवराज रोकामगरको निधन भएको थियो।

उनको शव नेपाल ल्याउन परराष्ट्र मन्त्रालय तथा विभिन्न राजनीतिक दलका नेतालाई गरिएको पहल कार्यान्वयन हुन नसकेपछि डेढ वर्षकी नाबालिका छोरीलाई काखीमा च्यापेर उनी सदरमुकाम आइपुगेकी हुन्।

२०७१ साल माघमा विद्यार्थी भिसाबाट जापान पुगेका रोकामगर गत असोज २ गते राति आफ्नै ओछ्यानमा मृत भेटिएका थिए। रोका जापानको फुकुसिमा कलेजमा अध्ययनरत थिए।

विपन्न परिवारका रोका जापान जाँदा रु १६ लाख ऋण गरेर गएको उनको परिवारले जनाएको छ। हाल जापानस्थित एक अस्पतालमा दैनिक १५ हजार नेपाली रुपैयाँ तिर्ने गरी लास राखिएको मृतककी श्रीमती घर्तीले बताइन्।  लास नेपाल ल्याउन परराष्ट्र मन्त्रालयलाई आग्रह गरिएको भए पनि परराष्ट्रले खासै चासो नदेखाएको उनले सुनाइन्।

विद्यार्थी भिसामा विदेश गएकालाई कुनै प्रकारको सहयोग गर्न नसकिने परराष्ट्र मन्त्रालयले जवाफ दिँदा झन् पीडा थपिदिएको श्रीमती घर्तीको दुखेसो छ। ‘बेवारिसे वनेको लास ल्याउन केन्द्रीय स्तरका नेतालाई पनि हारगुहार गर्‍यौं, कसैले सुनेनन्’, उनले भनिन्।

मृत्यु हुनु अघिल्लो दिन दाईसँग घरायसी कुराकानी समेत भएको मृतककी बहिनी राजकुमारी रोकाले सुनाइन्। उनले दाईको लास यथाशीघ्र नेपाल ल्याउने व्यवस्था मिलाइदिन देश–विदेशमा रहेका नेपालीसँग आग्रह गरिन्।

मृत्यु भएपछि धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउनु मानवअधिकारको आधारभूत मान्यता रहेको हुँदा राज्यले लास ल्याउन पहल गर्नुपर्ने महिला मानव अधिकार रक्षक सञ्जाल, रोल्पाका अध्यक्ष तीर्था आचार्यको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले यो समस्याको अन्तिम निकास परराष्ट्र मन्त्रालयमार्फत नै हुने भएकाले आफूले मृतकका परिवारलाई त्यहाँ गएर प्रक्रिया अगाडि बढाउन सुझाव दिएको बताए।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.