जनसरोकार विचार

भारत सरकारले नदेखेको : मुसहर समुदाय

एफके युथ एक्स्चेन्ज अन्र्तगत भारतको उत्तर प्रदेश स्थित बनारसको बसाई सकिनै लागेको छ । करिब ४ महिना मानवअधिकार जननिगरानी समुह अन्र्तगत रहेर काम गरिरहंदा केहि मुसहर समुदायका आंगन सम्म पुग्ने अवसर मिल्यो । नेपालमा पनि मुसहर भन्ने जाति छन् भन्ने थाहा थियो तर उनिहरुको बारेमा त्यति जानकार थिईन । पहिलो पटक यहाँ रहंदा मुसहर जाति र तिनको अवस्थालाई नजिक बाट बुझ्ने मौका मिल्यो । उनिहरुको दुख अनि अवस्थालाई गहिराई सम्म पुगेर बुझ्न पाए । उनिहरु संगको कुराकानी , बस्ती अवलोकन पछि मुसहर समुदाय बारे केहि अध्ययन पनि गरे । त्यसैका आधारमा रहेर लेख्ने प्रयास गरेको छु ।

मुसहर जाति दलित समुह भित्रको सामाजिक स्थिति सबैभन्दा कमजोर अवस्था भएको जाति हो । अत्यन्तै दयनिय अवस्था रहेका बेला मुसा मरेर खाने परम्परा रहेकै कारण यिनिहरुलाई मुसहर भनिएको हो  । भारतको उत्तर प्रदेश साथै बिहार अनि आसाम क्षेत्रमा मुसहर जातिको बसोबास रहेको पाईन्छ । उनिहरु मौरीको महलाई संकलन गरेर बेच्ने गर्दथ्ये यसका अलवा माछा मार्ने , जंगलमा गएर दाउरा ल्याउने र त्यसलाई बजारमा बेचेर आफ्नो दैनिकि चलाउने गर्दछन् । केहि मुसहरहरु संगुरु पालन गरेर पनि आफ्नो दैनिकी चलाइईरहेका छन् ।  नेपालको सन्र्दभमा उनिहरुको बसोबास तराई क्षेत्रमा छ । धार्मिक रुपमा हिन्दु हुन् ,उनिहरु शिव र हनुमानलाई निकै मान्छन् ।

भारतमा अधिकार बिहिन भएको समुदाय मुसहर हो । उनिहरु संग पुर्खौलि अथवा आफ्नो नाममा केहि पनि छैन अझै पनि कतिपय मुसहरहरुले आधिकारीक रुपमा देशको नागरिक बन्न पाईरहेका छैनन् । बनारसको आसपासका मुसहरको अवस्था हेर्ने हो भने उनिहरुको प्रमुख समस्या भनेको पहिचान, स्थायि घर रजमिन , स्वास्थ्य , पौष्टिक खाना ,शिक्षा हुन् । माथि भनिएका समस्याहरु मानव जीवनका लागि सबैभन्दा महत्वपूर्ण र अपरिहार्य आवश्यकतार तत्व हुन् । यसैबाट अनुमान लगाउन सकिन्छ कि उनिहरुको जिवन कस्तो छ भनेर ।

चरम गरिबीबाट गुज्रिरहेका मुसहर शहर अनि यसको आसपासबाट निकै टाढा बस्ने गरेका छन् । गरिबीकै कारण उनिहरु आफ्नो स्वास्थ्यको उचित हेरबिचार गर्न पाईरहेका छैनन् , स्वास्थ्य सेवाको लाभ लिनकै लागि सहर सम्म यात्रा गर्न सक्ने क्षमता राख्दैनन् । यसकारण उनिहरु आफ्नो स्वास्थ्य समस्याको नियमित जाँच र स्वास्थ्यलाभ लिनबाट बन्चित छन् । तथ्याकंलाई हेर्ने हो भने उनिहरुमा बाल मृत्युदर संगै मातृ मृत्युदर उच्च देखिन्छ । पहिले भन्दा अहिले यो अवस्था कम भेटिएता पनि अझै सन्तोषजनक अवस्था छैन । निरक्षरता ,कम उमेरमा बिबाह साथै पौष्टिक युक्त खानाको अभावका कारण उनिहरु यो अवस्थाबाट पिडित छन् ।


मुसहर भुमिहिन कृषि श्रमिक हुन् । समाजमा दलित जातिको निकै तल्लो स्तरमा रहेका उनिहरु कथित उच्च जातिको दमन र अत्याचारबाट पिडित छन् । उनिहरु उच्च जातिको दमन बारे बोल्न सक्दैनन् बोल्न डराउँछन् । मुसहरको कुनै एक चैपाया उच्च जातिको बारीको डिलमा मात्रै पुग्यो भने पनि मुसहरले उच्च जातिबाट कुटाई खानु पर्छ । प्राय मुसहरहरु गाउँको प्रमुख र जमिनदार अथवा ईट्टा भट्टामा बधुवा मजदुर र सामान्य मजदुरका रुपमा काम गर्दै आईरहेका छन् । ईट्टा भट्टामा काम गरिरहेका मुसहर मालिकबाट पिडित छन् । हप्ताभर काम गरेवापत न्युन ज्यालादर छ त्यसमाथि पनि मालिकले काम गरे अनुरुपको पैसा दिदैनन् ।पैसा पाएकै दिन पुरुषहरु अत्याधिक मद्यपान गर्ने गर्दछन् जसले उनिहरुको समस्यालाई अझ बढाएको छ ।
म मुसहर बस्ती पहिलो पटक जाँदा एउटा घरको आगनमा आफ्नो हजुर आमाको साथमा खाना खादै गरेका स-साना बालबालीका देखे । त्यो दृश्यले मलाई निकै भावुक बनाएको थियो । तलको पहिलो फोटोले त्यहि दृश्यलाई प्रतिबिम्वीत गरेको छ । भने दोस्रो फोटोमा पौष्टिक आहारको कमीका कारण कुपोषणको शिकार बनेको बालकका साथमा उनिकि आमा बसेकि छन् ।

यस समुदायमा थुप्रै बालबालिका कुपोषणको शिकार बनेका छन् । कुपोषणको न्युनिकरणका लागि सरकारी तवर बाट भन्दा पनि गैरसरकारी संस्थाको तर्फ केहि पहल भैरहेका छन् । यद्यपि त्यो अझै पर्याप्त बन्न सकिरहेको छैन ।
दलित भएकै कारण समाजमा हेपाई र दमनको शिकार बनिरहेका मुसहरहरु लाई पनि अन्य जातिका सरह सहभागितको अवसर दिईनुपर्दछ । स्थायि भुमि , नागरिकता , मताधिकारका सहित राज्यले नागरिकलाई प्रदान गर्ने सबै सेवा र संबिद्यानत प्राप्त अधिकारको उपयोग गर्ने सहज वातावरण निर्माण राज्यले बनाईदिनु पर्ने देखिन्छ । चरम गरिबिको फन्दा रहेका उनिहरुलाई शिक्षा , स्वास्थ्य , बिजुली ,सफा पिउने पानी साथै स्वरोजगारका लागी आवश्यक योजना राज्यले ल्याउनु पर्दछ ।केहि बस्तीमा केहि गैरसरकारी संस्थाको पहलमा उनिहरुलाई आधारकार्ड , शिक्षा सहितका सुबिधा उपलब्ध गराईएको छ यद्यपि अझैपनि राज्य नै अग्रसर भएर उनिहरु प्रति सक्रिय रुपमा काम गर्न सकेको छैन ।

  •  मुसहर बालिका अझै पनि शिक्षाबाट बन्चित छन् , उनिहरु सरकारी बिद्यालय टाढा र बालिका माथि हुने हिंसाका डरले बिद्यालय जाँदैनन् । शिक्षाका लागी पायक पर्ने ठाउँमा कम्तिमा पनि प्राथमिक तह सम्मको निशुल्क पढाईहुने व्यबस्था गर्न सके उचित हुने थियो । जसबाट बाल बिबाहमा पनि केहि कमि आउने थियो ।।
  •  मुसहर बस्तीमा सफा खाने पनिको अभाव रहेको छ । मुसहर जातिले उपयोग गर्न मिल्ने गरि ट्युबेल धारा बस्ती मै राखेमा उनिहरुले सफा पानि पिउने अवसर प्राप्त गर्ने थिए ।
  •  बालबिबाह यो समुदायमा देखिएको प्रमुख समस्या यसका लागि सरकारी तवरबाटै कदम चाल्नु पर्ने देखिन्छ । बालबालिका पाल्न गाह्रो हुने , काम गर्ने ठाउँमा बालिकालाई मालिक अनि कामदारले दुव्र्यवहार गर्ने यस्तै कारणले बालबिवाह गर्ने गर्दछन् । यसको रोकथामका लागि सरकारको अग्रसरता बिना सम्भव देखिदैन । बालबिबाह भएपछि सजाय दिने भन्दा बालबिबाह गर्न बाध्य हुने कारण पत्ता लगाई त्यसलाई रोक्दै बालबिबाह न्युनिकरण गर्न सरकारले पहल गर्नु पर्दछ ।
  •  गरिबि अन्त्यका लागि मजदुरले काम बापतको पारिश्रमिक सहज रुपमा प्राप्त गर्ने वातावरण निर्माण गरिनुपर्दछ । उनिहरुलाई स्वरोजगार बन्नका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुले बिभिन्न तालिम दिई आवश्यक सामाग्री उपलब्ध गराई स्वरोजगारका लागि उत्प्रेरित गर्न सकिन्छ ।
  • सबैभन्दा महत्वपूर्ण उनिहरुले सामान्य नागरिक सरह नै समाजमा जीवन जिउन पाउने वाताबरण सिर्जना गराईदिनुपर्दछ । स्वतन्त्रपूर्ब बाँच्न पाउने गरि उनिहरुलाई सुरक्षाको पूर्णप्रत्याभुति दिलाउन राज्यले भुमिका खेल्नु पर्दछ ।

अन्त्यमा भारतमा रहेका मुसहरबारे नजिक बाट बुझेपछि नेपालमा रहेका मुसहरबारे जिज्ञासा र प्रश्नहरु मेरो मनमा उब्जिएका छन् । मुहसरको अबस्था जस्तो भारतमा छ त्यहि अवस्था नेपालमा पनि होला ? नेपालमा मुसहरहरुले पनि जातिय बिभेदको पिडा सहिरहेका त छैनन् ? राज्यले कस्तो सेवा उपलब्ध गराएको होला ? स्थानिय निकायको निर्वाचन नजिकिदै जाँदा नेपालका मुसहरहरुले मताधिकारको उपयोग गर्न पाएका छन् या छैनन् ? यि सबै कुराहरुलाई नजिक बाट बुझ्न नेपालमा रहेका मुसहरको बस्ती सम्म पुग्ने मन छ ।

 

(घिमिरे अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) संग आवद्ध छन् । हाल एफके फेलो अन्र्तगत भारतको उत्तरप्रदेश स्थित बनारसमा मानवअधिकार जननिगरानी समिति (PVCHR)मा रहि काम गरिरहेका छन् )

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.