खेल

नेपाल र नेदरल्यान्डबीचको खेल आगामी साउनमा

काठमाडौँ, १४ वैशाख । विश्व क्रिकेट लिग च्याम्यिनसीप प्रतियोगिता अन्तर्गत चौथो चरणमा हुने नेपाल र नेदरल्यान्डबीचको खेल आगामी साउन २९ र ३१ गते हुने भएको छ ।

विश्व क्रिकेट परिषद् (आइसीसी) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेदरल्यान्डसँग उसकै घरेलु मैदानमा आगामी साउन २९ र ३१ गते खेल्न लागेको हो । यदि नेपाल क्रिकेट सङ्घ (क्यान)मा चरम विवाद नभएको भए नेपालले एक खेल आफ्नै घरेलु मैदानमा खेल्न पाउने थियो ।

त्यसपछि आगामी चरणका खेल नेपालले हङकङ, केन्या र यूएईसँग होम एन्ड अवेको आधारमा दुई÷दुई खेल खेल्नेछ ।

यही वैशाख ४ र ६ गते घरेलु मैदानमा नामिबियाविरुद्धका दुई खेल जित्दै नेपाल अङ्कतालिकाको पुछारबाट पाँचौ स्थानमा उक्लिएको थियो । नेपालको अङ्कतालिकामा अहिले चार अङ्क छ ।

घरेलु मैदानको फाइदा उठाउँदै नेपालले नामिबियालाई वैशाख ४ गते शनिबार पाँच विकेट र वैशाख ६ गते सोमबार तीन विकेटले हराएर विश्व क्रिकेट लिग च्याम्पियनसीपको शीर्ष चारभित्र रहने सम्भावना जीवितै राखेको थियो ।

नेपाल यसअघि पहिलो र दोस्रो चरणमा स्कटल्यान्ड र पपुवान्युगिनीसँग लगातार चार खेलमा पराजित भएको थियो ।

विश्व क्रिकेट लिगको अङ्क तालिकामा शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्ससँग १० अङ्क छ । उसले अहिलेसम्म खेलेका छ मध्ये चारमा जित हात पारेको छ भने दुई खेलमा अङ्क बाँडेको छ । त्यस्तै नौ अङ्क भएको हङकङ दोस्रो, सात अङ्क भएको स्कटल्यान्ड तेस्रो तथा छ अङ्क भएको केन्या चौथो स्थानमा छ । नेपालकै जति समान चार अङ्क भएको पपुवा न्युगिनी रनरेटको आधारमा पाँचौ स्थानमा छ । २-२ अङ्क भएका नामिबिया र युएई क्रमशः सातौं र आठौँ स्थानमा छन् ।

सन् २०१५ देखि २०१७ सम्म चल्ने प्रतियोगितामा नेपाललगायत ८ एसोसियट मुलुकका टोलीबीच होम एन्ड अवेको अवधारणामा प्रत्येकले १४ खेल खेल्नेछन् । त्यसमध्येका शीर्ष चार टोलीले सन् २०१९ मा इङल्यान्डमा हुने एकदिवशीय विश्वकपको छनौट चरण खेल्न पाउनेछन् ।