खेल

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई तीन पदक

काठमाडौँ, १५ वैशाख । फिलिपिन्सको सान्तोरोसामा भएको तेस्रो निसिमुरा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले तीन पदक हात पारेको छ । प्रतियोगितामा नेपालले एक रजत र दुई कास्य गरी तीन पदक जितेको नेपाल कराते महासङ्घका महासचिव एवम् बादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसीले जानकारी दिनुभयो ।

पुरुष खुला तौल समूहमा सिमोन खत्रीले नेपाललाई रजत पदक दिलाए । त्यसैगरी पुरुषकै ४५–५० केजीमा विकबहादुर थामी र ५०–५५ केजी तौल समूहमा मोहन तामाङले कास्य पदक हात पारे ।

पदक जितेर आज फर्किएका नेपाली टोलीलाई काठमाडौँ जिल्ला बादोरियो कराते डो सङ्घ र नेपाल बादोरियो कराते ब्ल्याक वेल्ट कमिटीले एक कार्यक्रम गरी बधाई ज्ञापन गरेको हो ।

सिमोन भने फिलिपिन्सबाटै जर्मनीको एकर्नफोर्डतर्फ प्रस्थान गरेका छन् । उनी अप्रिल ३० मा हुने बादो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुँदैछन् ।