खेल

अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौँ, असार ३१ गते । अभ्यास खेलका लागि बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले इन्डियन जिमखाना क्रिकेट क्लबलाई २० रनले हराएको छ ।

बेलायतको लण्डनस्थित जिमखाना क्रिकेट मैदानमा गएराति भएको खेलमा घरेलु टोली जिमखानालाई हराएपछि नेपालले लगातार दोस्रो जित हात पारेको हो ।नेपालका लागि सागर पुनले अर्धशतकीय पारी खेल्दै ५६ रन बनाए भने उपकप्तान ज्ञानेन्द्र मल्लले ३८ तथा राजु रिजालले अविजित २४ रन जोडे ।

टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको घरेलु टोली जिमखानाले पूरै ओभरमा सबै विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो ।

जिमखानालाई लक्ष्यमा पुग्न नदिन नेपालका लागि सागर, शक्ति गौचन, करण केसी र विक्रम सोबले समान दुई तथा कप्तान पारस खड्काले एक विकेट लिए ।

आगामी महिना नेदरल्यान्डसँग उसकै घरेलु मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाल अहिले अभ्यास खेलका लागि बेलायतमा छ । नेपाल मेरोलेबोन क्लबको निम्तोमा यसै साता लन्डन गएको हो ।

बुधबार भएको पहिलो खेलमा पनि नेपाली टोलीले फ्रि–फोरेस्टर क्लबलाई १२९ रनको विशाल अन्तरले हराएको थियो ।