खेल

बार्सिलोनाले डेम्बेलेलाई ५ वर्षको लागि क्लबमा भित्रायो

बार्सिलोनाले बोरुसिया डर्टमन्डबाट फ्रान्सेली फरवार्ड ओसुमाने डेम्बेलेसँग ५ वर्षको अनुबन्ध सम्झौता गरेको छ। डेम्बेले र बार्सिलोनाले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बार्सिलोनाले डेम्बेलेलाई पाँचवर्षका लागि लागि क्लबमा भित्र्याएको हो । जम्मा १ सय ३५ मिलियन पाउण्डमा सम्झौता गरेको बार्सिलोनाले तत्काल ९६.८ मिलियन पाउण्ड तिर्ने र बाँकी रकम पछि थप्ने जनाएको छ।

बार्सिलोनाले ट्वीटरमार्फत् डेम्बेलेलाई बार्सिलोनाको जर्सीमा प्रस्तुत गर्दै उनी बार्सिलोना भित्रिएको जनाएको हो। बार्सिलोनाद्वारा जारी विज्ञप्तिमा डेम्बेले युरोपकै उत्कृष्ट युवा खेलाडी भएको उल्लेख गरिएको छ।

डेम्बेले बार्सिलोनाको पूर्व खेलाडी नेयमारपछि दोस्रो महँगा खेलाडी हुन् । नेयमार यसै सिजन बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरीस सेन्ट जर्मेन जाँदा कीर्तिमानी २ सय मिलियन पाउण्डमा आबद्द भएका थिए ।

बार्सिलोनासँग अनुबन्धित भएपछि २० बर्षिय फ्रान्सेली फरवार्ड डेम्बेले आफ्नो सपना पूरा भएको बताए । सम्झौतापछि उनले भने, “क्लबमा अनुबन्धित हुँदा निकै खुशी छु, बार्सिलोनामा आउनु मेरो सपना थियो, त्यो पूरा भएको छ । बार्सिलोना विश्वको उत्कृष्ट खेलाडी रहेको विश्वको उत्कृष्ट क्लब हो ।“

डेम्बेलेले बार्सिलोनामा ११ नम्बरको जर्सी लगाउने छन् । जुन जर्सी नम्बर यसअघि नेयमारले लगाउने गर्थे । डेम्बेले गत सिजन १५ मिलियन युरोमा डर्टमण्ड आएका थिए ।

डेम्बेलेले गत सिजन डर्टमण्डबाट बुन्डेस लिगामा ३२ खेल खेल्दै ६ गोल १२ गोलको लागि पास उपलब्ध गराएका थिए । यस्तै उनले सबैखाले प्रतियोगितामा १० गोल गर्दा २१ गोलको लागि पास उपलब्ध गराएका थिए । डेम्बेलेले फ्रान्सको राष्ट्रिय टोलीबाट ७ खेल खेलिसकेका छन् ।
जर्मनीको व्यवसायिक फुटबल प्रतियोगिता बुन्डेसलिगामा डर्टमुण्डलाई तेस्रो स्थानसम्म पुर्‍याउन र जर्मन कपको विजेता बनाउन गत सिजनमा डेम्बेलेले १० गोल गर्नुका साथै २१ गोलमा सहायकको भूमिका निभाएका थिए। १९९७ मा जन्मिएका डेम्बेले २० वर्षको उमेरमा बार्सिलोना प्रवेश गरेका हुन्। फ्रान्सेली क्लब रेनेसबाट उनले औपचारिक रुपमा खेल जीवन सुरु गरेका थिए। २०१५–१६ को लिग वानको सिजनमा युवा खेलाडीका रुपमा प्लेयर अफ द इअरमा मनोनित भएपछि डेम्बेलेसँग डर्टमुन्डले मे २०१६ मा पाँच वर्षे सम्झौता गरेको थियो। लिग वानमा उनले १२ गोल गर्नुका साथै पाँच गोलमा सहायकको भूमिका निभाएका थिए।

फ्रान्सेली राष्ट्रिय टोलीबाट डेम्बेलेले सन् २०१६ डेब्यु गरेयता एक गोल गरेका छन् भने सातवटा क्याप जितिसकेका छन्। गत जुनमा भएको इंग्लाण्ड विरुद्धको खेलमा उनले गोल गरेका थिए। डेम्बेले रेन्नेसबाट मे २०१६ मा मात्र १३.८ मिलियन पाउण्डमा डर्टमुन्ड आएका थिए। एकै वर्षमा उनको मूल्यमा यो वृद्धि फुटबल विश्वमा अस्वभाविक ठानिएको छ। तर आफ्नो मूल्य र बार्सिलोनाले देखाएको विश्वासप्रति न्याय गर्ने क्षमता भएका खेलाडी हुन् डेम्बेले।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.