भर्खरै

रातो मच्छिन्द्रनाथको जात्राका लागि तयारी सुरु

ललितपुर, २४ मङ्सिर । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको जात्राका लागि तयारी सुरु भएको छ ।

गुठी संस्थान शाखा कार्यालय ललितपुरकाअनुसार आगामी वर्ष रातो मच्छिन्द्रनाथको १२ वर्षमा लाग्ने मेला परेको र जात्राको तयारीका लागि धेरै काम गर्नुपर्ने भएकाले अहिलेबाट नै जात्राका लागि तयारी गरिएको हो ।जात्राको तयारीस्वरुप पहिलो चरणको काम सुरु भएको छ । तयारी कै लागि भोलि रथको पाङ्ग्रा बनाउनका लागि मकवानपुर जान लागिएको संस्थानका प्रमुख रुद्रनाथ अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठ काट्नका लागि नेवार समुदायको ‘बाराहीे जाति’का मानिसलाई लगिने र चारवटा पाङ्ग्रा बनाउनका लागि सानदान रुखबाट बनाइन्छ । रथको पाङ्ग्रा बनाउन प्रत्येक रुख काट्नका लागि एक रुख बराबर भाले भेडाबाख्रा भोग दिने प्रचलन रहेकाले भोग पनि दिइनेछ ।

यो जात्रा हरेक वर्ष हुने गरेको भए पनि हरेक १२ वर्षमा यस जात्रालाई विशेष महत्वको साथ हेरिने गरिएको छ ।बाह्र वर्षमा लाग्ने मेला भएकाले यस वर्षका लागि रथ सबै नयाँ सामग्रीबाट निर्माण गरिनुपर्ने र ललितपुरको बुङ्मतिमा नै रथ निर्माण गर्ने र सोही स्थानबाट नै रथ तान्ने प्रचलन रहिआएको प्रमुख अधिकारीले बताउनुभयो । अन्य समयमा पुल्चोकमा रथ निर्माण गरिने र त्यहीँबाट नै रथ तानिने चलन रहेको थियो ।

आगामी वर्षका लागि वैशाखको पहिलो साताबाट जात्रा सुरु हुनेछ । यस वर्ष रातो मच्छिन्द्रनाथको जात्रा वैशाख १७ गते रथारोहण गरी सुरु भएको थियो । विगतका वर्षमा जात्राका लागि पुरानै सामग्रीले काम चलाइन्थ्यो भने यसपटक भने १२ वर्षमा विशेष गरिने भएकाले निर्माणका लागि सबै नयाँ सामान जुटाउनुपर्ने भएकाले अहिलेबाटै तयारी गरिएको हो । रासस

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.