भर्खरै

त्रिभुवन विश्वविद्यालयको ४० औँ दीक्षान्त समारोह सम्पन्न

काठमाडौँ, १४ पुस । मुलुककै जेठो तथा ठूलो त्रिभुवन विश्वविद्यालयको ४० औँ दीक्षान्त समारोहबाट आज सात हजार ९३८ जना विद्यार्थी दीक्षित भएका छन् ।

विभिन्न विषयमा विद्यावारिधि, एमफिल, स्नातकोत्तर तथा स्नातक तह उत्तिर्ण गरेका विद्यार्थीलाई कुलपतिका रूपमा प्रधानमन्त्री सुशील कोइरालाले उपाधि प्रदान गर्नुभएको हो ।समारोहमा विश्वविद्यालयको ५२ औँ ग्रेट लिस्टअनुसार २०७० आसार १ देखि २०७१ जेठ १६ गतेसम्ममा ट्रान्सक्रिप्ट प्राप्त गरेका शिक्षा शास्त्र, मानविकी, विज्ञान, कृषि, चिकित्सा शास्त्र, व्यवस्थापन, कानुन, वन र इन्जिनियरिङ सङ्कायअन्तर्गतका विद्यार्थीलाई उपाधि प्रदान गरिएको थियो ।

विश्वविद्यालयका ६० आङ्गिक तथा एक हजार ५३ सम्बन्धन प्राप्त क्याम्पसबाट ५३ हजार १७८ जना विद्यार्थी दीक्षित हुने भए पनि विश्वविद्यालयको सूचनाअनुसार जम्मा सात हजार ९३८ जना मात्र यसपटकको दीक्षान्तमा सहभागी भएको विश्वविद्यालयका उपकुलपति प्रा डा हीराबहादुर महर्जनले जानकारी गराउनुभयो ।बर्सेनि ठूलो सङ्ख्यामा विद्यार्थीले विभिन्न तहका उपाधि लिने गरेको भए पनि उपाधिपश्चात् उनीहरूलाई राज्यले सम्बोधन गर्न नसकेको विषय यतिखेर सबैको चासो र चर्चा बनेको छ ।

उपाधि मात्र नभएर उत्कृष्टता हासिल गर्नेहरू पनि राज्यले आफूहरूले प्राप्त गरेको ज्ञान सिपलाई सहजरूपमा उपयोग गराउने वातावरण तयार गर्नुपर्ने धारणा राख्छन् ।विज्ञान विषयतर्फ तथ्याङ्क शास्त्रमा आज स्नातकोत्तर तहको उपाधि प्राप्त गरेका बसन्तराज बञ्जारा विश्वविद्यालयबाट उपाधि प्रदान साथसाथै राज्यले उनीहरूलाई योग्यता तथा दक्षताअनुसार अवसर प्रदान गर्नुपर्ने बताउनुहुन्छ ।

स्नातकोत्तरका परीक्षामा उत्कृष्टता हासिल गरी विश्वविद्यालयले प्रदान गरेका तीन÷तीनवटा स्वर्ण पदक प्राप्त गर्न सफल गणित केन्द्रीय विभाग, विश्वविद्यालय क्याम्पस कीर्तिपुरका विद्यार्थी असलाम अलीले राज्यले उपाधि प्राप्त गर्ने अवसर मात्र नभएर त्यसलाई सम्पत्तिका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो ।बढ्दो बेरोजगारीको क्रमले नै युवाहरू विदेशिएको वास्तविकतालाई दृष्टिगत गरी त्यहीअनुरूपको प्राविधिक एवम् व्यावहारिक शिक्षालाई उच्च प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।

बर्सेनि हजारौँ युवा विभिन्न उपाधिबाट दीक्षित भए पनि उनीहरूले उपाधि लिएको भोलिपल्टबाटै आफ्नो भविष्यको गन्तव्यको खोजीमा भौंतारिनुपर्ने अवस्था जर्जररूपमा देखिएको अर्की स्वर्ण पदक प्राप्त विद्यार्थी मीना कुसी बताउनुहुन्छ ।

“प्रमाणपत्र तथा उपाधि प्राप्त गर्नु नै प्रमुख कुरो होइन । त्यसको उपयोग हुने अवस्था महत्वपूर्ण हुन्छ ।” कुसीले भन्नुभयो ।एमए नेपाली विषयमा उत्कृष्टता हासिल गरी स्वर्ण पदक प्राप्त गरेका अर्का नेपाली केन्द्रिय विभागका विद्यार्थी गोकुल पोखरेल उपाधिसँगै आफूमा जिम्मेवारी पनि बढेको महसुस भएको बताउनुभयो ।नेपालमा सिकाइका लागि प्रयोग भएको विषयवस्तुको सैद्धान्तिक पक्ष राम्रो भए पनि त्यसको व्यावहारिक एवम् प्रयोगात्मक पक्ष कमजोर हुनु अवसरका लागि प्रमुख बाधक बनेको आजै अर्थशास्त्र विषयमा विद्यावारिधि उपाधि हासिल गरेका डा खोमराज खरेलको विचार छ ।

“युवाहरू विदेशिने प्रमुख कारण नै नेपालमा सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक एवम् व्यावहारिक रूपमा मानव जीवनसँग जोड्न नसक्नु हो” – डा खरेलले बताउनुभयो ।उहाँले भन्नुभयो – “देशमा योग्यताअनुसार अवसर प्रदान गर्न नसक्नु ‘ब्रेनडेन’को प्रमुख समस्या हो । युवाहरूलाई स्वदेशमा नै आकर्षित गर्न वर्तमान खुला बजार अर्थ नीतिमा राज्यले मात्र नभएर निजी क्षेत्रले पनि सकारात्मक भूमिका निर्वाह गर्न सक्छ ।”

नेपाली युवामा उद्यमशीलताको अभिवृद्धि गर्नु अपरिहार्य देखिएको बताउने व्यवस्थापन सङ्कायअन्तर्गत एमफिल तहमा सर्वोत्कृष्ट अङ्क प्राप्त गरेका विद्यार्थी लालबहादुर पुन विद्यमान जनशक्ति तथा साधन स्रोतलाई अधिकतम् उपयोग गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता हो भन्नुभयो एमएस्सी रसायनशास्त्र विषयमा सर्वप्रथम बनेका केशव श्रेष्ठले विश्वव्यापी रूपमा बढेको प्रतिस्पर्धामा उत्रने किसिमको जनशक्ति वर्तमानको आवश्यकता भएको र विद्यमान प्रविधिको अधिकतम् उपयोग गर्ने किसिमको शिक्षालाई राज्यले आफ्नो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । रासस

0 Comments

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.