संविधानको विषयमा विभिन्न क्षेत्रबाट चासो

भर्खरै

काठमाडौँ, पुस १४ गते । राजनीतिक दलहरूको प्रतिबद्धताअनुसार संविधान जारी गर्ने मिति नजिकिदै जाँदा प्रमुख राजनीतिक दलहरूबीच सहमति हुन नसकेको भन्दै विभिन्न पेशा तथा व्यवसायसँग आवद्ध सङघ–संस्थाले गम्भीर चिन्ता र चासो व्यक्त गरेका छन् ।

sambidhanshava bhawan

प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा निर्धारित समयमै संविधान जारी गर्न संविधानसभाका सभाध्यक्ष सुवास नेम्वाङ तथा राजनीतिक दलहरूलाई आग्रह गर्ने निर्णय गरेको छ ।

समाजका अध्यक्ष डा.केदारनरसिंह केसीको अध्यक्षतामा भएको सो छलफलमा डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, नेपाल शिक्षक सङ्घका अध्यक्ष केशव निरौला, अधिकारकर्मी चरण प्रसाईं, अधिवक्ता शेरबहादुर केसी, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष कुलचन्द्र वाग्ले, प्रजातान्त्रिक विचार समाजका महासचिव सुरेश भट्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, इन्जिनियर किशोर शाक्यलगायतले प्रक्रियामा गएर भए पनि निर्धारित समयमा संविधान जारी गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

लामो समयसम्म जारी राजनीतिक गतिरोधको निकास संविधान निर्माणसँगै अन्त्य हुने भएकाले सबै दलले त्यसलाई मुख्य प्राथमिकतामा राख्नुपर्नेमा उहाँहरूले जोड दिनुभएको थियो ।संविधान निर्माणमा थप दबाब दिन डेमोक्रेटिक लयर्स एसोसिएसन, नेपाल प्रेस युनियन, नेपाल शिक्षक सङ्घ, मानव अधिकार सङ्घ, नेपाल इन्जिनियर्स एसोसिएसन र प्रजातान्त्रिक चिकित्सक सङ्घ लगायतका छ वटा संस्थाले सोमवार नै एक संयुक्त विज्ञप्ति जारी गरी संविधान निर्माणलाई मुख्य प्राथमिकतामा राखिनुपर्नेमा जोड दिएका छन् ।

यसैबीच, नेपाल नागरिक समाजको एक प्रतिनिधिमण्डलले आजै संविधानसभाका अध्यक्ष नेम्वाङसँग भेट गरी संविधानसभाबाट संविधान निर्माण गर्ने कार्यको नेतृत्व गर्न माग गरेको छ । संविधानसभाका अध्यक्ष नेम्वाङले मुख्य दलहरूले संविधान निर्माणलाई निष्कर्षमा पुर्‍याउन केही दिनभित्र सहमति गर्न नसके आफू हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताउनुभएको समाजका महासचिव डीपी अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

Post Comment