भर्खरै

विद्यार्थीले बनाएको हेलिकप्टरको सफल परीक्षण

इलाम, १५ पुस । इलाम सदरमुकामस्थित ग्रिनभ्याली एकेडेमीमा अध्ययनरत विद्यार्थीले हेलिकप्टर बनाएर परीक्षण उडान गरेका छन् ।

GL_Ilam_Helicopter Udaudai Student

कक्षा ७ मा अध्ययनरत रेहान्स झा, आदित्य ताम्राकार र नवीन तामाङले मिलेर हेलिकप्टर बनाएका हुन् । हेलिकप्टरको विद्यार्थीले विद्यालय परिसरमा परीक्षण उडान गरेका थिए । “दुई हप्तादेखि निरन्तरको प्रयासपछि हेलिकप्टरको सफल परीक्षण गरियो,” हेलिकप्टरका मुख्य निर्माता रेहान्स झाले भन्नुभयो “यसलाई थप विकास गर्दै लैजाने सोचमा छौँ ।” सानैदेखि विभिन्न खालका विद्युतीय सामग्री निर्माणमा तीष्ण रहेका रेहान्सले यसअघि पनि पेरिस्कोप, क्विज कम्प्युटरलगायतका विद्युतीय सामग्री निर्माण गरिसकेका छन् । उनीहरूले निर्माण गरेका सामग्री सदरमुकाममा हुने शैक्षिक सामग्री प्रदर्शनीमा समेत राखिँदै आएको छ ।

हेलिकोप्टर बनाउनुभन्दा पहिला उनीहरूले रिमोट कन्ट्रोल बनाएका थिए । उनीहरुले बजारमा पाइने खेलौनाको रिमोट कन्ट्रोल, मोटर, घिर्नीको प्रयोग गरी सानो र छरितो खालको हेलिकप्टर बनाएका हुन् । सो विद्यालयका विज्ञान शिक्षक नवीन ढकालले भन्नुभयो – “विद्यार्थीले प्रशंसनीय कार्य गरेका छन् । यसलाई विद्यालयले समेत सहयोग गर्छ । करिब २० मिटर परसम्म उडाउन सकिने हेलिकप्टरलाई पानीमा चल्ने खालको डुङ्गा बनाउने उनीहरूको योजना छ ।

“रिमोट कन्ट्रोलमा लाग्ने छवटा ब्याट्री र सुपरग्लुमा विद्यालयले सहयोग गर्‍यो तर अरू खर्च आफैँले जुटायौँ,” आदित्यले भन्नुभयो । केही थप खर्च लागेमा विद्यालयले व्यहोर्ने बताएपछि विद्यार्थी थप हौसिएका हुन् । उनीहरूले बनाएको क्विज कम्प्युटरले तत्कालै सोधेको प्रश्नको उत्तर दिन सकिन्छ ।

विगतदेखिनै विद्युतीय सामग्रीबाट विभिन्न उपकरण निर्माण गर्दै आएका यी तीन जनाले हेलिकप्टरलाई ठूलो बनाएर बिक्री गर्ने बताएका छन् । रासस

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.