भर्खरै

एचआइभी सङ्क्रमितहरुलाई प्रेरणा स्वरुप सगरमाथा आरोहण

‘समयले मानिसलाई कहाँ कहाँ पु¥याउँछ’ भन्ने गीत पोखराका गोपाल श्रेष्ठको जीवनमा ठ्याक्कै लागू हुन्छ । कहाँको नेपालको नामी फुटबल खेलाडी हुन्छु भन्ने सपना, कहाँको एचआइभी सङ्क्रमणसहित बाँचेको जिन्दगी !

समयको कालखण्डलाई फर्केर हेर्दा उहाँ विस्मृत हुनुहुन्छ अनि सम्हालिनुहुन्छ र हिजोको गल्तीबाट पाठ सिक्दै अर्काको प्रेरणा स्रोत बन्ने प्रतिबद्धता व्यक्त गर्न पुग्नुहुन्छ ।

उहाँले पोखराको अब्बल मानिने गण्डकी बोर्डिङ स्कुल पढ्नुभयो । सानैदेखि राम्रो फुटबल खेल्ने । टोलीका अन्तिम रक्षक । पछि गण्डकी बोर्डिङ छाडेपछि उहाँले यहाँको अमरसिंह विद्यालयबाट पनि फुटबल नै खेल्नुभयो । खेल असाध्यै राम्रो । एकाउन्न वर्षीय श्रेष्ठले अतित सम्झँदै भन्नुभयो – “त्यसपछि नेपाली सेनाको सिंहनाथ गणले नै मलाई फुटबल खेल्न बोलायो, मैले त्यहाँ पाँच वर्ष रक्षककै रुपमा खेलेँ ।”

चालीसको दशक, नेपालमा लागुऔषध सेवनको चलन उत्कर्षमा पुगेको बेला थियो त्यो । गाजा त विद्यार्थी जीवनमै चलेको थियो । लागुऔषधले जीवनको गन्तव्य पुग्न सकिन्न भन्ने उहाँलाई थाहै थिएन रे ! खेलमा ‘डोपिङ परीक्षण’ को चलन नै थिएन । लागुऔषध सेवन गरेपछि जोस बढ्ने र खेल पनि राम्रो खेलिने भएकाले खेल्नु अगाडि नै उहाँले लागुऔषध सेवन गर्न थाल्नुभयो । त्यसले लत झन बढ्यो ।

पछि सिंहनाथ गण छाडेर फ्रेन्डस् क्लबबाट फुटबल खेल्दासम्म उहाँमा लागुऔषधको लत छुटाउनै नसक्ने गरी झाँगिएको थियो । खायो, खेल्यो । कतिपय बेला त उहाँहरु पुलिसकै अगाडि पनि लागुऔषध सेवन गर्नुहुन्थ्यो । “पुलिसलाई त्यो बेला हामीले प्रयोग गर्ने ‘ह्वाइट सुगर’ के हो भन्ने थाहै थिएन” – उहाँले सुनाउनुभयो ।

लामो समय लागुऔषध सेवन गर्नुभएका गोपाल श्रेष्ठलाई अतितका घटनाक्रम त याद छन् तर तिथि मिति भने ठ्याक्कै सम्झनामा छैनन् । एक दिन जागिरे दाइले घर आएको बेला सिरानीमा राखेको सेतो पदार्थ भेटेपछि मात्र गोपाल लागुऔषधमा फसेको परिवारले थाहा पाए । “दाजुले लेकसाइडमा लगेर देखाउँदा ड्रग हो भनेपछि पोल खुल्यो,” उहाँले भन्नुभयो – “त्यसपछि कोठामा थुनेर राखियो, लागुऔषध छुटाउन गरिएको परिवारको प्रयास भने सफल भएन ।”

यतिसम्म त ठीकै थियो । लागुपदार्थको दलदलमा उम्कनै नसक्ने गरी फसेको बेला थिएन त्यो । केही गरौँ भन्ने भावना थियो नै । त्यसले २०४२ सालमा उहाँ धन कमाउन साउदी अरबतिर लाग्नुभयो । साउदीमा लागुपदार्थ वर्जित थियो । बानी सुध्रियो ।

फुटबलले त्यहाँ पनि करामत देखायो । पहिलो तलबले फुटबल बुट किन्नुभएका उहाँ दिनहुँ त्यहाँको अलराका भन्ने ठाउँमा फुटबल खेल्न पुग्नुहुन्थ्यो । त्यही बेला उहाँ अल्गोसावी भन्ने कम्पनीको ब्राइन भन्ने प्रवन्धकको आँखामा पर्नुभयो । फुटबल खेल्न गरेको आग्रह स्वीकारेपछि उहाँ कम्पनी टुर्नामेन्टको सदस्य बन्नुभयो । खेल्ने र पैसा कमाउने दुवै काममा जमेपछि उहाँलाई प्रवन्धकले नै ओमान जाने प्रस्ताव राखे । ओमान जाने सुरले नेपाल फर्कनुभएका उहाँलाई आमाले त्यता जान दिनुभएन । नेपालमा उही साथीभाइ । फेरि नसाको जीवन सुरु भइहाल्यो ।

विसं २०४८ सालमा उहाँको मीनाकुमारी श्रेष्ठसँग बिहे भयो । छोरा पनि जन्मियो । घरजम गरेपछि पैसाको जोहो गर्न उहाँ ताइवान र जापान पनि पुग्नुभयो । जहाँ गए पनि लागुपदार्थले छाडेन । उहाँले सर्पलाई टोकाउनेबाहेक लागुपदार्थ अम्मलीले गर्ने सबै व्यवहार गर्नुभयो ।

बिहेपछिको चौथो वर्षको एक दिन उहाँको जीवनमा आँधी बनेर आयो । फेरि विदेश जाने सुरमा रहनुभएका उहाँको रगतमा ‘एचआइभी पोजेटिभ’ भेटियो । राजधानीको शिक्षण अस्पतालमा गरिएको परीक्षणपछिको क्षण सम्झँदै उहाँले भन्नुभयो – “डाक्टर सा’वले धेरै बाँच्दैनौँ अब भनेपछि जीवन सकिएको अनुभूति भयो ।”

त्यो बेला लागुपदार्थ प्रयोग गर्नेहरुले एउटै सिरिञ्ज प्रयोग गर्थे । श्रेष्ठका अनुसार त्यो बेला रगत साटे माया बढ्छ भन्ने मान्यता थियो उहाँहरुमा । “मलाई एचआइभी सङ्क्रमित भएको पनि त्यही सिरिञ्ज साटेर नै हो भन्ने लाग्छ” – उहाँले सुनाउनुभयो ।

त्यसपछिको उहाँको जीवन साँच्चै कहालिलाग्दो बन्यो । मृत्युलाई सजिलो बनाउनुपर्छ भन्ने मानसिकतामा रहनुभएका उहाँले त्यो क्रममा झन् बढी लागुपदार्थ सेवन गर्नुभयो । त्यसपछिको ८–९ वर्ष नसाको तालमै बित्यो । कमाइ नभएर घरका सामान चोर्ने अनि लागुऔषधको जोहो गर्ने ती दिनहरु सम्झँदै उहाँले भन्नुभयो – “लागुपदार्थ लिँदा कहिले बढी खुसी र कहिले बढी निरास हुने । अनि नसामै डुबिरहन मन लाग्थ्यो ।”

लोग्ने लागुपदार्थको अम्मली र एचआइभी सङ्क्रमित । सङ्क्रमितलाई विदेश जाने छुट नहुने । कमाउने सुरमा श्रीमती मीनाकुमारी हङ्कङ जानुभयो । तर, घरको यादले काम गर्न मनै लागेन रे ! घर फर्केपछि लोग्नेसँग बसउठ त हुने नै भयो । नसाको तालमा रहने श्रीमान्सँगको असुरक्षित सहवास कति घातक भयो भने श्रीमतीमा पनि सङ्क्रमण सर्न पुग्यो । “ज्ञानको अभावले उनमा पनि ६÷७ वर्षपछि एचआइभी पोजेटिभ देखियो, चोटमाथि चोट आइलाग्यो तर समयले नै त्यसमा पनि मल्हम लगायो” – उहाँले सुनाउनुभयो ।

विसं २०५७ तिर पोखरामा नौलो घुम्ती नामक संस्थाले लागुपदार्थ दुव्र्यसन हटाउने अभियानसँगै एचआइभी सङ्क्रमितहरुको पनि पहिचान ग¥यो । सङ्क्रमित एवम् लागुपदार्थबाट मुक्ति पाएर सार्थक जीवन बिताउन खोज्ने आनन्द आले उहाँलाई खोज्दै आइपुगे । अब लागुपदार्थ नछाडे ज्यान धरापमा पर्छ भन्ने ज्ञान उहाँले त्यहीँ पाउनुभयो । फ्रेन्डस् अफ होप नामक संस्था नै खोली आफू सङ्क्रमित भएको तर जीवनप्रति झन् बढी आशा बढेको उहाँले सार्वजनिक गर्नुभयो ।

जीवन फेरियो । जीवनप्रतिको मोह बढ्यो । खानपान र आनीबानी सुधारले शरीर राम्रो भयो । एचआइभीले छिट्टै ज्यान नलिने पनि देखियो । त्यसपछि भने उहाँ लागुपदार्थको विरुद्ध र एचआइभी सङ्क्रमितको सेवामा सक्रिय रहँदै आउनुभएको छ ।

अहिले एन्ट्री रेट्रोभाइरल निःशुल्क खाने सुविधा छ सङ्क्रमितहरुलाई । “एचआइभी सङ्क्रमण भनेको जीवनको समाप्ति हैन” भन्ने मान्यता विकास भएपछि सक्रिय जीवनमा फर्कनुभएका गोपाललाई केही नौलो गरौँ भन्ने लाग्यो ।

दुई वर्ष अगाडि प्रसिद्ध अन्नपूर्ण चक्रीय पदयात्रा मार्गमा पर्ने पाँच हजार ४१६ मिटर अग्लो थोरङ्ला घाँटी पार गरेपछि आफूमा केही गरेर देखाउने साहस बढेको उहाँले सुनाउनुभयो । त्यसको लगत्तै उहाँले अघिल्लो वर्ष माघतिर खुम्बु क्षेत्रमा पर्ने छ हजार १८९ मिटर अग्लो आइसल्यान्ड हिमालको आरोहण गरेपछि भने सगरमाथा नै चढेर नयाँ कीर्तिमान कायम गर्ने अठोट पलायो । सेभेन समिट नामक आरोहण कम्पनीबाट उहाँले यही आउँदो वसन्तमा सगरमाथा आरोहण गर्ने निश्चित तालिका बन्यो । एचआइभी एड्स सङ्क्रमितले पनि केही गर्न सक्छ भन्ने देखाउनकै लागि आफूले यो अभियान थालेको श्रेष्ठले बताउनुभयो ।

उहाँको अठोटलाई व्यवहारमा उतार्न सहयोग गर्न ‘एचआइभी सङ्क्रमित गोपाल श्रेष्ठ’ सगरमाथा आरोहण समिति नै गठन भयो । सगरमाथा आरोहणका लागि आवश्यक पर्ने रकम सङ्कलन गर्न जुटेको सो समितिमा अहिलेसम्म रु १० लाख जति जम्मा भइसकेको समितिका सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पर्यटन मन्त्रालयले आरोहणमा लाग्ने शुल्क मिनाहाको मौखिक आश्वासन दिएको छ ।

सभासद् रवीन्द्र अधिकारीका अनुसार गोपालको सगरमाथा आरोहणले सङ्क्रमितहरुमा नयाँ सन्देश दिने भएकाले यो अभियानलाई सबैले सघाउनुपर्ने धारणा राख्नुभयो । उहाँले गोपालको अभियानलाई आफूले सक्दो सहयोग गर्ने बचन दिनुभयो ।

स्वास्थ्य मन्त्री खगराज अधिकारी, सभासद् अधिकारी तथा पर्यटन सचिव सुरेशमान श्रेष्ठको पहलमा एचआइभी एड्सको क्षेत्रमा काम गर्ने विभिन्न दातृ निकायहरुसँग सहयोग जुटाउने अभियान पनि यही क्रममा थालिएको एचआइभी सङ्क्रमित गोपाल श्रेष्ठ सगरमाथा आरोहण समितिका संयोजक विश्वमोहन गौचनले जानकारी दिनुभयो । रासस

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.