भर्खरै

दुई सय परिवार रहेको ‘बडुवाल’मा एकजना पनि एसएलसी उत्तीर्ण छैन

भीमदत्तनगर, १८ माघ । आफ्ना छोराछोरीलाई राम्रो विद्यालयमा पढाउने र भविष्यमा उनीहरू ठूलो मान्ने बनेको देख्ने सपना प्रायः सबै अभिभावकमा हुन्छ ।

नेपाली समाजमा पाका पुस्ताले सन्ततिलाई इन्जिनियर, डाक्टर, पाइलट बन्नु भनेर आशीर्वादसमेत दिने चलन छ ।

नेपाली समाजमा यस्ता सपना बोकेका धेरै अभिभावक र धेरै आशीर्वाद दिनेहरू छन् । तर अभिभावकको सपना र पाका पुस्ताको आशीर्वाद लिएर पनि ठूलो मान्छे बन्ने सपना चकनाचुर भएका सीमावर्ती गाउँका बालबालिका तथा युवा यतिखेर भारतको बजारमा मजदुरी गरेर गुजारा गरिरहेका छन् ।

महाकाली नदीपारिको दोधारा–चाँदनी नगरपालिका–३ बडुवाल टोलका बालबालिकाको भविष्य तिनका अभिभावकले सोचेजस्तो नहँुदा पढ्ने लेख्ने उमेरमै पलायन हुनुपर्ने अवस्था छ ।

विसं २०४९ मा बडुवाल टोलमा प्राथमिक तहको विद्यालय स्थापना गर्दाको सङ्घर्ष सम्झेर बडुवाल टोलका महावीर क्षेत्री भन्नुहुन्छ – “स्कुल खोलेपछि पहाड नै उठाएजस्तो लाग्थ्यो तर उपलब्धि गाउँमा केही पनि भएन । बालबालिकालाई एसएलसीसम्म पनि पु¥याउन सकेनौँ ।”

भारतको सीमासँग जोडिएको बडुवाल टोलमा २०२२ सालमा बस्ती बसेको महावीर क्षेत्री बताउनुहुन्छ । हाल उक्त टोलमा २०० भन्दा बढी परिवार बस्दै आएका छन् । ७५ प्रतिशत दलित परिवार रहेको बडुवाल टोलमा सरकारी उपस्थितिका नाउँमा गणेश प्राविमात्रै छ । न त्यहाँ बिजुली छ, न त स्वास्थ्य क्लिनिक नै । एउटा प्राथमिक तहको विद्यालयबाहेक अरू कुनै सरकारी निकाय टोलमा नरहेको समाजसेवी पुष्करदत्त जोशी बताउनुहुन्छ ।

“सरकारको उपस्थिति भनेको एउटा अधुरो विद्यायल मात्रै हो,” उहाँले भन्नुभयो – “त्यो विद्यालयको अपुरो शिक्षा हासिल गरेर हाम्रा छोराछोरी भारतमा मजदुरी गर्न बाध्य छन् ।”

विद्यालय स्थापना भएको सालदेखि नै गाउँका बालबालिकाले प्राथमिक तहसम्मको शिक्षा हासिल गर्ने गरेको भए पनि निम्न माध्यमिक र त्यसभन्दा माथिको शिक्षा हासिल नै गर्न पाउँदैनन् । गाउँका ५०० भन्दा बढी बालबालिकाले प्रावि तहसम्मको अध्ययन गरेको भए पनि गाउँमा माथिल्लो तहसम्मको अध्यापन हुने विद्यालय नहँुदा र जोगबुढा नदीमा पुल नभएकै कारण विद्यार्थीको पढाइ अधुरो रहँदै आएको छ । त्यहाँका विद्यार्थीले पढ्न पाउनुपर्ने अधिकारबाट वञ्चित भएको दशकौँ बितिसक्यो ।

“माथिल्लो शिक्षा हासिल गर्न जोगबुढा वारिका विद्यालयहरूमा आउनुपर्छ,” समाजसेवी जोशीले भन्नुभयो – “जोगबुढामा पुल नहुँदा विद्यार्थी पढ्न जान पाउँदैनन् ।” जोगबुढा नदीमा वर्षात्का तीन÷चार महिना आवतजावत गर्न सक्ने अवस्था समेत नरहेपछि बडुवाल टोलका विद्यार्थी पढाइ छोड्न बाध्य हुने गरेको अभिभावकहरूको गुनासो छ । “वर्षात्का चार महिना त जोगबुढा वारि आउनै पाउँदैनौँ ।” स्थानीय जनता भन्छन् – “जोगबुढाकै डरले बालबालिकाहरू स्कुल जान मान्दैनन् ।”

“जोगबुढा नदीमा पुल भएमात्रै विद्यार्थीहरू वारिका विद्यालयमा माथिल्लो तहको पढाइ गर्न सक्थे,” टोलमा रहेको गणेश प्रावि व्यवस्थापन समितिका अध्यक्ष मोहन नेपालीले भन्नुभयो – “पुलका लागि नेतादेखि प्रशासनिक निकायसम्म धायौँ, आश्वासन धेरै पायौँ तर सुनुवाइ भएन । नदीमा पुल भइदिए बडुवाल टोलका बालबालिकाको पढ्ने चाहना पूरा हुने थियो ।”

“गाउँबाट अहिलेसम्म एकजनाले पनि एसएलसी उत्तीर्ण गरेको छैन,” अध्यक्ष नेपालीले भन्नुभयो – “गाउँमा माध्यमिक विद्यालय छैन, पारि जान जोगबुढा नदी बाधक बन्छ ।” उहाँले मावि तहसम्मको विद्यालय सञ्चालन गर्न पहल गरे पनि सम्बन्धित निकायले वास्ता नगरेको गुनासो गर्नुभयो ।

“गाउँमा अहिलेसम्म एकजना पनि एसएलसी उत्तीर्ण छैन भन्दा लाज लाग्छ,” स्थानीय महावीर क्षेत्रीले भन्नुभयो – “बच्चाहरू बडो मुस्किलले ९ कक्षासम्म पढेको उदाहरण मात्रै छन् ।” बालिबालिका पढ्ने रहर मारेर भारतका विभिन्न सहरहरूमा मजदुरी गरिरहेका उहाँले बताउनुभयो ।

“विद्यालयमा डेढ सय विद्यार्थी अहिले अध्ययन गरिरहेको भए पनि उनीहरूलाई प्राविपछि पढाइ छाड्नुको विकल्प हुँदैन,” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेपालीले भन्नुभयो – “गाउँमा प्रायः सबै स्थानीयवासीको आर्थिक अवस्था कमजोर भएकाले पनि राम्रो ठाउँमा पढाउन सक्ने अवस्था छैन । मेरै छोरो पढाइ छाडेर अहिले भारतको गुजरात होटलमा काम गर्दैछ ।”

उहाँले भन्नुभयो– “यहाँ बसेर के गथ्र्यो ? न स्कुल छ, न त रोजगारीका अवसर नै ।”

उहाँले सरकारले देशका नागरिकलाई साक्षर बनाउन अरबौँ रुपैयाँ शिक्षामा लगानी गरेको भएपनि आफूहरूको गाउँमा त्यस्तो लगानी नआएको बताउनुभयो । उहाँले भन्नुभयो – “सरकार १२ कक्षासम्मको अध्ययन निःशुल्क गराउने भन्दैछ । यहाँ हाम्रा छोराछोरी स्कुल नहुँदा कलिलै उमेरमा विदेशी भूमिमा मजदुरी गर्न जान बाध्य छन् ।”

त्यसैगरी, समाजसेवी जोशीले नागरिकता भएकै कारण आफूहरूले ‘नेपाली हुँ’ भन्नुपरेको बताउनुभयो । “एक किलो नुन लिनसमेत सीमावर्ती भारतीय बजार जानुपर्छ,” उहाँले भन्नुभयो –“प्रशासनिक कामबाहेक अन्य सबै भारतकै भरमा छौँ ।”

आर्थिक अवस्था निकै कमजोर भएका गाउँलेहरू भारतीय सीमावर्ती बजारमा मजदुरी गरेर, दाउरा बेचेर जीविकोपार्जन गर्दै आएका छन् । यातायात र महाकाली नदीमा पक्की पुल नहुँदा दोधारा–चाँदनीवासीलाई सदरमुकाम महेन्द्रनगरसँग सम्बन्ध राख्न पनि निकै कठिन हुने गरेको छ । दोधारा–चाँदनीको पनि जोगबुढा पारिका सीमावर्ती गाउँहरू अझ बढी मारमा छन् ।

महाकाली नदीमा झोलुङ्गे पुल बन्नुअघि दोधारा चाँदनीवासी किस्ती, डुङ्गाको भरमा महाकाली नदी ओहोरदोहोर गर्ने गर्दथे । झोलुङ्गे पुल बनेपछि उनीहरूलाई पैदल यात्रा गर्न र दुई पाङ्ग्रे सवारी सञ्चालन गर्न सहज भए पनि ठूला सवारी महाकाली नदीमा वारपार गराउन अझै समस्या छ । रासस

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.