भर्खरै

डुम समुदायलाई पच्छ्याइरहेको छ बालविवाहले

लहान, २७ माघ । दिउँसोको २ बज्दै थियो, सप्तरीको महदेवा गाविस–१ स्थित डुमबस्तीकी एउटी ९/१० वर्षकी बालिका खुरुक्क घरबाट निस्किन् ।

उनको सिउँदोभरि सिन्दूर देख्दा जो कोहीलाई पनि केहीबेर अचम्मित तुल्याउँथ्यो । त्यही ठाउँमा बाँसको काम गरिरहेकी अरहुलियाँ मरिकलाई सोध्दा उनले जवाफ दिइन् – “यी हमर बेटी पुनिता छियै सर” (यो मेरी छोरी पुनिता हो सर) ।

उनको यस्तो जवाफ सुनेपछि अझै कुरा गर्न इच्छा जागृत भई “पुनिताको विवाह गर्नुभयो ?” भनेर सोध्दा डराउँदै भनिन् – “हँ हजुर, दुई वरिस अगाडिए बिहा करिदेलियै (हो हजुर, दुई वर्षअघि नै विवाह गरिदिएँ) ।

विवाह कहाँ गर्नुभयो ? भन्ने प्रश्नमा उनको उत्तर थियो – “अपने जिल्लाके, सखडा रम्पुराके हलेश्वरके बेटा सन्तोष जरे (आफ्नै जिल्लाको सखडाको रम्पुरा टोलका हलेश्वरको छोरा सन्तोषसँग) ।”

यति सानै उमेरमा किन विवाह गरिदिनु भयो त ? सामान्य लेखपढ गर्नसमेत नजानेकी अरहुलियाले उत्तर दिइन्् “कि करबै, हमरौर जाइतमे एहेने संस्कार छै, हमरो छोटेमे मैया बाबु बियाह करिदेलकै (के गर्नु, हाम्रो जातमा यस्तै संस्कार छ, मेरो पनि विवाह सानै उमेरमा बुबा आमाले गरिदिनुभयो) ।

पहिला छोराछोरीलाई पढ्न दिनुपर्छ, अनि उमेर पुगेपछि पो विवाह गर्नुपर्छ भने थाहा छैन ? भन्ने जिज्ञासामा उनको भनाइ थियो – “गाउँके बडका जाइतके बच्चासबके स्कुल जाइत देखैछियै त अपनो बेटाबेटीके स्कुल पठाबिसे त मन लागैछै, लेकिन कि करब (गाउँघरका अन्य जातका बालबालिकालाई स्कुल गएको देख्दा आफ्नो छोराछोरीलाई पनि विद्यालय पठाउन मन लाग्छ, तर के गर्र्नु !)

अरहुलियाँले आफूहरूले पढाइको मर्म नै नबुझेको, बच्चालाई विद्यालय पठाए पनि शिक्षकदेखि अन्य जातका केटाकेटीले हेला गरेको, बालबच्चा पढाउन पैसाको अभाव रहेको लगायतका कारणले बालबालिकालाई विद्यालय नपठाउने गरेको समेत कुराकानीका क्रममा खुलासा गरिन् ।

विद्यालयमा पढाइका लागि पैसा लाग्दैन, अनि दलित विद्यार्थीलाई छात्रवृत्ति पनि दिन्छ नि ? भन्ने जिज्ञासामा उनले बिना हिच्किचाहट भनिन् – “यि बात हमरौर के नै थाह छैं, आ नै कोई अखैन तक कहैले एलछै (त्यो कुरा हामीलाई थाहा छैन, न कसैले अहिलेसम्म भन्न आएको छ ।)

अरहुलियाँसँग कुराकानी चल्दै गर्दा छेउमै रहेकी पुनितासँग पनि बहिनी तिम्रो विवाह भयो ? भनेर सोध्दा थोरथोरै नेपाली भाषासमेत बोल्न जानेकी उनले लजाउँदै भनिन् – “हँ, सन्तोषसँग विवाह भएको छ ।” किन विवाह गरेको त यति सानै उमेरमा ? भन्ने प्रश्नमा उनको जवाफ थियो – “मलाई थाहा छैन, बुबाआमाले गरिदिएपछि गरँे ।”

पुनितासँग मैले थप प्रश्न गर्नै लाग्दा अरहुलियाँले ‘सर हमरा और काम छै, हम जाइछी (मलाई अरू काम छ, म लाग्छु) भन्दै घरतिर लागेपछि पुनिता पनि केटाकेटीहरूसँग खेल्न गाउँतिर कुदिन् ।

अरहुलिया र पुनिता त दुई उदाहरणमात्रै हुन् । सप्तरीको डुम बस्तीमा अहिले पनि बालविवाहको परम्पराले यसरी नै जरो गाडिरहेको छ ।

अति विपन्न गरिब एवम् दलित डुम समुदायमा अझै बाल विवाह कायम छ । बाहविवाहलाई कानुनी रूपमा निषेध गरिए पनि डुम समुदायले बालविवाह अपराध हो भन्ने कुराको महसुस गर्न नसक्दा ती समुदायमा यो कुप्रथाले प्रश्रय पाउँदै आएको हो । बालविवाह गरेपछि यी बाल दम्पतीको दैनिकी सुँगुर चराउने र अभिभावकसँगै बाँसको सामग्री बनाउनेमा बित्ने गरेको छ ।

संस्कारको नाममा भविष्यका कर्णाधार बालबालिकालाई सानै उमेरमा विवाह गरिदिँदा उनीहरूको भविष्य समाप्त हुनाको साथै सामाजिक अशान्ति र द्वन्द्वसमेत हुने गरेको सामाजिक विश्लेषकहरू बताउँछन् ।

सानै उमेरमा विवाह हुँदा बालबालिकालाई केही कुरा थाहा हुँदैन, ठूलो भएपछि उनीहरूको बीचमा मतमतान्तर भई सम्बन्ध बिच्छेदका घटनासम्म हुन पुग्छ, डुम उत्थान समाजका अध्यक्ष युक्ति मरिक भन्नुहुन्छ – “सानै उमेरमा विवाह गर्ने संस्कारले बालिकाको स्वास्थ्यमै जोखिमसमेत बढ्दै गएको छ ।”

सामाजिक, शैक्षिक, आर्थिकलगायत सबै क्षेत्रमा पछाडि पारिएका डुम समुदायमा चेतनाको अभावका कारण बालविवाह बढेको हो र यसलाई नियन्त्रण गर्न जति प्रयास गर्दा पनि सफलता पाउन नसकेको मरिकको भनाइ छ ।

सप्तरीमा दुई हजार ५०० जनसङ्ख्या रहेको डुम समुदायमा ६÷७ जनामात्र एसएलसी उत्तीर्ण छन् । डुम समुदायको कुल जनसङ्ख्यामध्ये करिब ८० प्रतिशतको विवाह उमेर नपुगी हुने गरेका छन् ।

बालबिवाह व्यापक रूपमा हुँदै आए पनि यसका विरुद्ध उजुरी बिरलै पर्ने गरेको भन्दै कानुन व्यवसायी प्रमोद चौधरी भन्नुहुन्छ – “बालविवाहलाई रोक्न कानुनी कारबाहीभन्दा पनि सामाजिकस्तरमा पहलको खाँचो छ ।” यस्तै भनाइ अर्का कानुन व्यवसायी धीरेन्द्र यादवको पनि छ । “कानुनी कारबाहीले मात्र खासै फरक पर्दैन,” उहाँ भन्नुहुन्छ – “जबसम्म बालविवाहको दुष्प्रभावबारे डुम समुदायका अभिभावकले बुझ्दैनन् तबसम्म यो विकृतिलाई न्यून गर्न गाह्रो छ ।” रासस

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.