भर्खरै

पैसा कमाउन विदेश जानु पर्दैन

काठमाडौँ, २ फागुन । पैसा कमाउनको लागि विदेशिनु नै पर्छ भन्ने छैन, गाउँमै बसेर पनि राम्रै आम्दानी गर्न सकिन्छ । बैतडी जिल्लाको सिद्धेश्वर–४ का गणेश विष्ट (३५ वर्ष)ले गाउँमै बसेर सुधारिएको चुलो निर्माण गरी मनग्य आम्दानी गर्न थालेपछि अन्य युवाहरू पनि अहिले चुलो प्रवद्र्धक बन्न थालेका छन् ।

गाउँमा आम्दानीको कुनै बाटो नदेखेपछि साथीहरूको लहैलहैमा लागेर उनी पनि भारत हानिए । झन्डै पाँच वर्ष पञ्जावमा मजदुरी गर्दा पनि खासै प्रगति नभएपछि उनी एक वर्षअघि गाउँ फर्किए । पञ्जावमा उनको महिनामा तीन/चार हजारभन्दा बढी बचत हुँदैनथ्यो ।

गाउँ फर्किएलगत्तै खोड्पे बजारमा सञ्चालित सुधारिएको चुलो तालिम लिएपछि उनी गाउँघरमा चुलो बनाउन सक्रिय हुन थाले । एक वर्षमा उनले ५०० भन्दा बढी घरमा चुलो निर्माण गरेर झन्डै रु एक लाख कमाइ भएपछि झन उत्साहित बनायो ।

बिरानो ठाउँमा चौकीदारी गरेर वर्षमा मुस्किलले रु ३५ हजार बचाउन सकेका उनले घरमै बसेर लाख रुपैयाँ कमाउँदा निकै खुसी छन् । आफूलाई कमाइ पनि हुने, दाउरा र धुवाँको समस्याबाट आजित बनेका गाउँलेलाई स्वच्छ भान्छाको सुविधा दिन सकिने भएकाले आफ्नो पेशाप्रति सन्तुष्ट रहेको उनी बताउँछन् ।

तीन छोराछोरीसहित पाँच जनाको उनको परिवारलाई अब घरखर्च कसरी पु¥याउने भन्ने समस्या छैन । पहिला राम्ररी पढ्न नपाउँदा अनेक हण्डर खाएका उनी छोराछोरीको शिक्षाप्रति अत्यन्त सम्वेदनशील छन् ।

गाउँमा सुधारिएको रकेट चुलोको व्यापक माग रहेको बताउँदै माग गरेजति चुलो व्यवस्था हुन सकेमा आफूले वर्षमा पन्ध्र सय चुलो सजिलै जडान गर्नसक्ने उनको भनाइ छ । ‘‘सदरमुकामलगायत बजार क्षेत्र र कतिपय गाउँमा पनि दाउराको अभाव रहेकाले मानिसहरू जति पनि पैसा तिर्न तयार छन्’’ उनी भन्छन् ।

उनीसँगै सिद्धेश्वर–२ कोटगाढाका ३० वर्षीय जयबहादुर महरा (३० वर्ष)ले पनि चुलो जडान गरेर राम्रो आम्दानी गर्न सकेका छन् । उनले हालसम्म ४०० भन्दा बढी चुलो निर्माण गरिसकेका छन् ।

पहिले गाउँमै फर्निचर उद्योगमा काम गर्दै आएका उनी त्यसमा भन्दा चुलो निर्माणमा बढी आम्दानी भएकाले यतातर्फ आकर्षित भएको बताउँछन् । यसबाट उनलाई मासिक १५÷१६ हजार रुपैयाँ आम्दानी हुने गर्दछ ।

विदेशमै जानुभन्दा गाउँमै श्रम गर्ने सोचले गर्दा उनी विदेश जाने चक्करमा कहिल्यै परेनन् । ठूलो सपना देख्दै घर खेत बचेर विदेश हानिएका कतिपय युवायुवतीहरू कमाउन नसकेर त्यतिकै फर्किएको, कोही अङ्गभङ्ग बनेका, कोही अकालमै मरेको देख्दा उनी आफूले गाउँमै बसेर काम गर्ने निर्णय गरेर बुद्धि पु¥याएको ठान्दछन् ।

उनी भन्छन्–“मैले भाग्यमा होइन, कर्ममा विश्वास गरेकाले आज समाजमा राम्रो पहिचान राख्न सकेको छु ।” बिना लगानी अर्काको घरमा आफूले जानेको सीपअनुसार सुधारिएको चुलो बनाएर लिएको पारिश्रमिकले घरखर्च राम्रै पुगेको छ ।

“आफूलाई पनि आम्दानी हुने र समाज सेवा पनि हुने भएकाले सुधारिएको चुलो निर्माणलाई व्यवसायको रूपमा सञ्चालन गरेको” उनी बताउँछन् । अहिले उनलाई गाउँलेको मागअनुसार चुलो बनाइदिन एक क्षण पनि फुर्सद छैन । उनलाई अन्य गाविसबाट समेत चुलो बनाइदिन बोलावट आउने गर्दछ ।

सिकरपुर–८ का दानसिंह साउद (५३ वर्ष) २०६० सालदेखि चुलो बनाउने काममा संलग्न हुँदै आएका छन् । पहिला चिम्नी भएको माटोको सुधारिएको चुलो जडान गर्ने प्रवद्र्धक बनेका उनले झण्डै ७०० वटा चुलो निर्माण गरेका थिए । अहिले रकेट चुलो पनि ४०० वटा जडान गरेका छन् ।

चिम्नी भएको चुलो बनाउनुभन्दा रकेट चुलो निकै सजिलो र छिटो पनि काम सम्पन्न गर्न सकिने उनी बताउँछन् । चिम्नीवाला एउटा चुलो बनाउन दुई दिन लाग्ने गरेकामा रकेट चुलो एक दिनमै सजिलै जडान गर्न सकिने उनको भनाइ छ ।

तीन छोरा, एक बुहारी र श्रीमती गरी छ जनाको उनको परिवारको खर्च उनले चुलो बनाएको कमाइले पुग्दछ । उनले छिमेकी जिल्ला बझाङका विभिन्न गाविसमा पनि गएर चुलो बनाएका छन् । चुलो बनाउन घरघरमा जाने क्रममा धेरै मानिससँग चिनजान हुने मौका मिलेको छ ।

चुलो निर्माणमा लागेका स्थानीय युवाहरूले हालै सुदूरपश्चिमेली व्यावसायिक चुलो प्रवद्र्धन समूहको पनि गठन गरेका छन् । चारजनाको उनीहरूको समूहका हरेक सदस्यले अलगअलग जिम्मेवारी सम्हालेका छन् ।

कसैले गाउँमा गएर माग सङ्कलन गर्ने, कोही सामान ढुवानी गर्नेे, कोही इँटा बनाउने र कोही चुलो निर्माण गर्ने काममा व्यस्त छन् । यस समूहलाई दर्ता गरेर चुलोसँगै अन्य आयमूलक काम गर्ने सोचाइ भएको समुहका अध्यक्ष जयसिंह महरा बताउँछन् ।

“सुरुमा चुलो बनाउँदै हिंड्दा कतिपय गाउँलेहरूले हेय दृष्टिले हेर्ने, पैसा उठाएर खाइदिन्छ कि भन्ने शङ्का गर्दथे” उनी भन्छन्, ‘‘सुरुसुरुमा सुधारिएको चुलो राख्न आग्रह गर्दा नाक खुम्च्याउनेहरू अहिले आफ्नो घरमा पनि बनाइदिन आग्रह गर्दछन् ।” अहिले गाउँलेहरू आधुनिक रकेट चुलोबाट सहज हुने देखेपछि चुलो बनाउन उत्साहित भएकाले उनीहरूलाई भ्याइनभ्याइ छ ।

चुलो प्रवद्र्धनमा केही सामाजिक अन्धविश्वासले पनि समस्या भएको उनको अनुभव छ । कतिपयले एकमुखे चुलो जोगीको घरमा मात्र हुन्छ भन्ने धारणा अहिले पनि कतिपय गाउँलेमा पाइन्छ भने दैनिक चुलो लिप्नु पर्छ भन्ने मान्यताले गर्दा फलामे रकेट चुलोको प्रवद्र्धनमा केही कठिनाइ आउने गरेको जयबहादुर बताउँछन् ।

परम्परागत चुलोमा एक छाक खाना पकाउन एक अङ्गालो दाउरा प्रयोग गर्ने गाउँलेहरू अहिले एक मुठ्ठी छेस्का दाउराले खाना पाक्छ भन्दा सहजै विश्वास गर्दैनन् । उनी भन्छन्, ‘‘सुरुमा चुलोको विरोध मानिसहरू पछि अर्काको घरमा चुलोले राम्रो सुविधा दिएको देखेपछि आफ्नो घरमा पनि बनाइदिन घरमै आएर बोलाउने गर्दछन् ।’’

परम्परागत चुलोभन्दा सुधारिएको चुलोमा दाउरा कम लाग्ने धुवाँसमेत नहुने भान्छा कोठा सफा हुने, खाना पकाउन सकिने, गृहिणीको स्वास्थ्यमा समेत सुधार हुने र घरको इज्जतसंँग समेत गाँसिएको हुनाले यहाँका ग्रामीण क्षेत्रका बासिन्दामा आधुनिक चुलोप्रतिको लोकप्रियता बढेको पाइन्छ । हालसम्म यस जिल्लामा १० हजारभन्दा बढी घरमा सुधारिएको रकेट चुलो जडान भइसकेको ग्रामीण प्रविधि केन्द्रले जनाएको छ । रासस

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.