भर्खरै

धार्मिक सद्भावको नमूनाः अर्घाखाँचीको मन्दिरलाई बजेट दिन मुस्लिम अगुवाको आग्रह

अर्घाखाँचीको पाली गाविसमा बस्दै आएका अमिर हाम्जा मुस्लिम समुदायका अगुवा नेताका रूपमा चिनिनु हुन्छ । उहाँले कार्यकर्ता भेटघाटका लागि पाली पुग्नु भएका नेपाली काँग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसाललाई दुर्गा देवीको मन्दिर निर्माणका लागि बजेटको व्यवस्था गर्न माग गर्नुभयो । बोलीमा मात्र हैन हाम्जाले मन्दिर रहेको पाली–२ थाममा लगी मन्दिरको अवलोकन गराउँदै दसैँको त्रयोदशी र तीजको पञ्चमीमा विशेष मेला लाग्ने जानकारी गराउँदै मन्दिरको स्तरीकरण गर्न र चौपारी निर्माणका लागि बजेट व्यवस्था गर्नका लागि समेत माग गर्नुभयो ।

अमिर मात्र हैन मन्दिर निर्माणका लागि आग्रह गर्दै मन्दिरको अवस्था देखाउन स्थानीय बाबुराम प्राविका प्रधानाध्यापक खबरमहमद अन्सारीसँगै केही मुस्लिम समुदायका व्यक्तिहरू र शिक्षक चिरञ्जीवी पौडेल पनि साथमा हुनुहुन्थ्यो । उहाँहरूको आग्रहअनुसार मन्दिरका लागि बजेट व्यवस्थापनमा सहयोग गर्ने काँग्रेस सभापति भुसालले प्रतिबद्धता व्यक्त गर्नुभयो । लुम्बिनी अञ्चलको पहाडी जिल्ला भएर पनि यहाँ हिन्दु धर्म र मुस्लिम धर्म मान्ने मानिसबीच आपसी मेलमिलाप र सद्भाव छ भन्न खोजिएको यो एक उदाहरण मात्र हो । पाली गाविसमा हिन्दु र मुस्लिम धर्म मान्ने मानिसको जनसङ्ख्या लगभग बराबरी छ । दुवै धर्म मान्ने मानिसबीच आपसी सद्भाव, एकता र मेलमिलाप रहेको छ ।

दुवै समुदायका बासिन्दाबीच मेलमिलाप रहेको बताउँदै तीजको गीतमा मुस्लिमले नाच्ने गाउने र बजाउने गर्दछन् । मुस्लिमको पर्व कहरममा हिन्दुले पनि पाइजा र चिनी चढाउने गर्दै आएका स्थानीय कमला माविका प्रधानाध्यापक गोविन्दराज पन्थीले बताउनुभयो । उहाँले महरम पर्वमा पाइजा र चिनी मात्र नचढाई नाच्ने र गाउने पनि गरेको बताउनु भएको छ । हिन्दुका भोजभतेरमा पनि मुस्लिमलाई बोलाउने र उनीहरूको पर्व बकरइदमा गएर आफूहरू पनि भोज खाने गरेको पालीका समाजसेवी अगुवा राजेन्द्र पौडेलले बताउनुभयो । आपसी भाइचाराको सम्बन्ध दुवै समुदायमा रहेको बताउँदै उहाँले कहिले पनि यो धर्म र त्यो धर्म भनेर केही कुरामा विवाद नरहेको बताउनुभयो । आफूले पनि स्थानीय मदरसामा पढाइ हुने उर्दू भाषा सिक्ने कोसिस गरिरहेको बताउनुभयो ।

चार हजार २१९ जनसङ्ख्या रहेको पालीमा ५७३ मुस्लिम धर्म मान्ने मानिस बस्दछन् । यहाँ धेरै वर्षदेखि स्थानीय स्तरमा हुने विकास निर्माणका काममा मात्र हैन ऐँचोपैँचो, सरसापट, बिहे र भोजभतेरमा समेत एकले अर्कोलाई बोलाउने गरेको स्थानीय बाबुराम प्राविका प्रधानाध्यापक खबर महमद अन्सारीले बताउनुभयो । एक लाख ९७ हजार ६३२ जम्मा जनसङ्ख्या रहेको अर्घाखाँची जिल्लाका पाली, चिदीका, बल्कोट, वाङ्गला, सन्धिखर्कलगायत गाविसमा गरी एक हजार ७७३ मुस्लिमको जनसङ्ख्या रहेको छ ।

विश्वका केही देशमा धर्मका नाममा चर्को विवाद रहँदै आएको छ । तर अर्घाखाँचीका कुनै स्थानमा अहिलेसम्म धर्मका नाममा झैझगडा भएको छैन । आपसी सद्भाव र एकताबाट नै बस्दै आइरहेका छन् । पहाडी जिल्ला अर्घाखाँचीमा देखिएको भाइचाराको सम्बन्ध प्रगाढ र बलियो छ । यस्तै सम्बन्ध जहाँतहीँ कायम हुनुपर्नेमा विमति देखिँदैन । रासस

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.