भर्खरै

त्रिपाल नपाएपछि अस्थायी टहरा बनाउन जुटे पीडित

बनेपा, जेठ ४ गते । वर्षाको समय नजिकिँदै जाँदा भूकम्पपीडित भएका परिवारले त्रिपाल नपाएपछि व्यक्तिगत लगानीमा अस्थायी टहरा बनाउन थालेका छन् । काभ्रेपलाञ्चोकको कोसीपारिका दुर्गम गाविसका रुपमा मानिने सानो बाङ्थली गाविसमा करिब रु १२ हजारको लागतमा केही दिनयतादेखि पाँचवटा अस्थायी टहरा निर्माण गरिएको स्थानीयवासी दीपक उप्रेतीले जानकारी दिनुभयो ।

उहाँले अस्थायी टहरा बनाउने अभियान जारी रहेको र सानो बाङ्थली–५ मा नै टहरा निर्माण गर्न एउटा समूहमा पाँचजना रहने गरी पाँच समूह निर्माण भएको जानकारी दिँदै जिल्लामा परिचालन भएको प्राविधिक टोलीले पनि घरभित्र पस्न नमानेर हचुवाको भरमा काम गरेको आरोप लगाउनुभयो ।

पुरानो जस्ता र केही बाँसको प्रयोग गरेर त्यस्ता टहरा बनाएको उल्लेख गर्दै उप्रेतीले ४१० घरधुरी भएको आफ्नो गाविसमा अहिलेसम्म राहतका नाममा ६५ वटा मात्रै त्रिपाल आएको बताउनुभयो । सो गाविसमा मात्रै ३७९ घर पूर्ण रुपमा क्षति भएको छ भने बाँकी रहेका सबै घर आशिंक रुपमा क्षति भएको छ । भूकम्पमा परी सो गाविसमा दुईको मृत्यु भएको थियो । यातायात, शिक्षा र चेतनास्तरका दृष्टिकोणले दुर्गम गाविस मानिने सो गाविसमा पुग्न चौबासबाट मात्रै झन्डै पाँच घन्टा पैदल हिँड्नुपर्छ ।

“पानी दिनहुँजसो परिरहेको छ, अस्थायी टहरा बनाउनुको कुनै विकल्प छैन, त्यसैले हामी आफैँले व्यक्तिगत पहलमा अस्थायी टहराको निर्माण थालेका हौँ”–उहाँले भन्नुभयो ।

काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले अस्थायी टहराका बारेमा औपचारिक जानकारी नभए पनि केही सङ्घसंस्थाको सहयोगमा त्यस्ता टहरा बनेको मौखिक जानकारी आएको बताउनुभयो ।

राहत नै पर्याप्त नभएको अवस्थामा अहिलेसम्म त्यस्ता टहरा बनाउने नीति तय भइसकेको छैन उहाँले भन्नुभयो । जिल्लाको कोसीपारि क्षेत्रमा १७ वटा गाविस छन् । तीमध्ये भूकम्पबाट सबैभन्दा बढी भुम्लुटार, विर्ता देउराली, फँलाटे गाविसमा झन्डै २८ को मृत्यु भएको थियो । रासस

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.