भर्खरै

हरिस निरौलादेखि कक्रोचसम्म

  • सुजन पन्त

harish niraulaदेशमा जनआन्दोलनको आगो दन्किरहेको थियो,पञ्चायती शासकहरु जनताको आन्दोलनमाथी बर्बर दमनमा उत्रिएका थिए । कुरा २०४६ सालको हो, त्यही साल पुर्वी सोलुखुम्वुको नेचा बतासेमा ‘कक्रोच’ उदाए हरि निरौलाको नाममा ।
आम विद्यार्थीले सोच्लान् ‘हामी पढ्नकै लागी जन्मेका रहेछौं’ तर हरिले त्यस्तो कहिल्यै सोचेनन् । ‘गाउने बजाउने र नाच्नेमा ध्यान दिँदा दिँदै मैले एसएलसीको फलामे ढोका ढकढक्याएको पत्तै भएन्,’ हरिले कुराकानीलाई क्वाईन गरे । सामान्य परिवारमा जन्मेका निरौलाका परिवारले स्कुले जीवनभर सँधै एउटै कुरा भनिरह्यो, ‘पढाईमा ध्यान दिनुपर्छ है ।’ हरिले परिवारको त्यस्तो आग्रहलाई कहिल्यै सिरीयसली लिएनन् त्यसैले त आज उनको पढाई भन्दा बढ्ता कलाकारिताको चर्चा हुन्छ ।

देशमा अर्को आन्दोलनको आँधिबेरी आउला–आउला जस्तो भएको थियो, ठीक त्यही साल कक्रोचको परिवारले सोलुखुम्वु छाड्यो । कुरा ०६२ को हो । उनले काठमाडौं टेकेको साल देशमा फेरी आन्दोलनको आगो सल्कियो । यसरी दोस्रो जनआन्दोलनलाई नजिकबाट नियालेका कक्रोचले नेपाली कलाकारीको सागरमै डुबुल्की मार्ने अठोट गरे ।

कलाकारीताको सागरमा हामफल्दा कसले हात दियो ? पंक्तिकारको प्रश्न काँचको टेवुलमा पुग्न नपाउँदै कक्रोचले भने ‘सीताराम कट्टेल ‘धुर्मुस’ मेरो सानुममीको छोरा हो, उहाँले धेरै सहयोग गर्नुभो ।’ त्यतिवेला थापागाउँमा डेरा लिएर बस्ने धुर्मुसले हरि निरौलाको डान्सीङ रुचि देखेर ‘कृष्ण फिल्मस्’को डान्स क्लासमा भर्ना गरिदिएका थिए ।

अनामनगरमा धुर्मुस सँगै बस्नुभो ? पंतिकारको सवाल र ‘मिल्क टि’ को सेतो कप एकैपटक कक्रोच सामुन्ने काँचको टेवलमा बजारीए । ‘हो, सीताराम दाईसँगै बस्थेँ, तर मेरो परिवारका अरु सदस्यको बसोवास भने गौशालामा थियो ।’ उनले मिल्क टि को पहिलो चुस्की लिए ।

सीताराम कट्टेलले शुल्क तिरीदिने भएपछि कक्रोचले करिब डेढ बर्ष कृष्ण फिल्मस्मा डान्स सिके । त्यहि डान्सकै एउटा रुप ‘स्लो मोसन’ आज उनी भद्रगोलमा प्रयोग गरिरहेका छन् । ‘त्यतिवेला धुर्मुस दाईको सहोदर भाई ‘जिग्री’ पनि सँगै बस्थ्यो ।’ कक्रोजले मिल्क टि को दोस्रो चुस्कीका साथ जिग्रीलाई संझिए । एसएलसीपछि काठमाडौं छिरेका कलाकार हरि निरौलाले उच्च शिक्षाका लागी राजधानीको रत्न राज्यलक्ष्मी क्याम्पसको ढोक ढक्ढक्याए । अहिले सोहि कलेजमा बिए तेस्रो बर्षमा अध्ययनरत निरौलाले भने ‘बीचमा पढाई बे्रक भयो,नत्र यतिवेला मास्टर सकिसकेको हुन्थेँ ।’

स्कुले जिवनमा कक्रोचको चाख पढाईमा भन्दा बढी नाचगानमा थियो । त्यसैले त उनका वुवाले भन्थे, ‘यो भोलि नाच गान गरिहिँड्छ कि क्या हो !’ त्यहि राम्रो नाच देखाउन सक्ने हुनाले देउसी भैलो र गाउँका पिकनीकमा कक्रोच सितीमिती छुट्दैनथे । ‘तर पढाई पनि कमजोर चैं थिएन है,’ आफ्नो बचाउ गर्दै कक्रोचले स्लो मोशनमा चियाको तेस्रो चुस्की लिए ।

स्रोत र साधनको पहुँचवाट निकै टाढाको जिल्ला सोलुखुम्वुमा कक्रोचले बाल्यकालमा घाँस दाउरा सँग लुकामारी खेले । पिता टिकाराम निरौला पहिलेदेखि नै काठमाडौं बस्ने हुनाले सोलुमा गोबर सोहोर्ने र हलो जोत्ने काम पनि कक्रोचमा भागमा पर्थे । ‘तर म परिवारको कान्छो भएकोले होला, धन्न दाइ जत्तिकै घरधन्दामा जोत्तिनुपरेन,’ कक्रोचले भने ।

अनि शुरु भयो कलाकारीता

हाँस्य टेलीश्रृङ्खला भद्रगोलमा स्लो मोशन हिँडाइ हिँड्ने कक्रोचको कलाकारिता राजधानी आएर डान्स सिक्न थालेपछी शुरु भयो । ‘डान्स सिक्दा सिक्दै मलाई कृष्ण फिल्मस्को शंकर सरले सोध्नुभो, ‘तिमी म्युजिक भिडियोमा साइड डान्स गर्छौ ?’ त्यसपछी पकेट मनिको आशमा म साईड डान्स गर्न थालेँ,’ कक्रोचले भने ।

त्यसपछी लोक,आधुनिक र फिल्मी गीतमा कोरस डान्स थालेका कक्रोचले हरेक गितको २५० लिएर करिब चार बर्ष डान्स गरे । ‘एउटा गीतको तीन सय पाउनुपर्ने हो तर ग्रुप लिडरले पचास रुपैयाँ कटाएर दिन्थ्यो,’ कक्रोच हाँसे । त्यत्तिका बर्ष कोरसमा डान्स गर्नुपर्ने बाध्यात्मक अवस्थामा पनि थिएनन् हरि निरौला किनकी उनको सानीआमाको छोरा सीताराम कट्टेल ‘धुर्मुस’ मेरी बास्सैको हर्ताकर्ता थिए । ‘डाईरेक्ट एक्टिङ गर्छु अनि क्लिक भैहाल्छु भन्ने वातावरण थियो तर मैले त्यो कुरा सीताराम दाईलाई भन्नै सकिँन्,’ कक्रोचले बितेका पल संझिए । मेरी बास्सैमा सामान्य भुमिकामा झुल्किएर भएपनि प्लेटफर्म तयार गरेर चिनीने भित्री मनको ईच्छा भएपनी मुख फोर्न नसक्दा उनको जिन्दगीको रथ कोरियोग्राफीतिर मोडियो । ‘अनि मैले म्युजिक भीडियोहरु डाईरेक्सन गर्न थालेँ,’ चियाको सिप लिँदै उनले आफुले निर्देशन गरेका केही म्युजिक भीडियोहरुको नाम लिन भ्याईसेकेका थिए । जिन्दगी यात्रा न हो, कहिले दाँया मोडिन्छ कहिले बाँया । म्युजिक भीडियो निर्देशन पछि कक्रोचको जीवन रथ डान्स शिक्षकको रुपमा मोडियो । ‘एकेडेमी खोलेर मैले केही विद्यालयहरुमा डान्स सिकाउन थालेँ,’ कक्रोच बोले ।harish

कान्छाले बनाएको चिया मिठो

धुर्मुस र सुन्तलीको विहावारी भएसँगै कक्रोच र धुर्मुसको भान्सा पनि अलग्गियो । ‘चार बर्षपछि म सीताराम दाईसँग अलग्गिएर परिवारसँगै गौशालामा बस्न थालेँ,’ कक्रोचले दायाँ हातले कोरीबाटी गरेको लामो कपाल सुम्सुम्याए । त्यतिवेला उनकी आमा रुपाले गौशालामा एउटा होटल चलाएकी थिइन् । ‘त्यो होटलमा म चिया–नास्ता बनाउने काममा भिडेँ ।’ कक्रोचले उम्लिरहेको चियाको कल्पना गर्दा उनको सामुन्नेको चियावाट भने बाफ आउन छाडिसकेको थियो । कक्रोच थप्दै थिए ‘मैले मरिच हालेर बनाएको चिया खाएर मुख मिठ्याउनेहरु धेरै निस्किए, भन्थे– ‘यो कान्छाको हातले बनाएको चिया मिठो हुन्छ ।’

 

कक्रोचले केही समय गौशाला चोकतिर चिया पु¥याउने र गिलास उठाउने काम गरे,तर त्यो काम पनि दिगो भएन् । ‘ममीको पाठेघरको समस्या थियो,विरामी भै राख्नु हुन्थ्यो त्यसैले हामीले होटल छाड्यौं,’ भावुक मुद्रामा कक्रोचले भने । होटल छाडेपछी कक्रोचको परिवारलाई निकै ठूलो आर्थिक संकटले पिरोल्यो । बस काउन्टरमा टिकेटीङको काम गर्ने कक्रोचका पिता टिकारामले जेनतेन परिवारलाई दुई छाक खुवाए । ‘काठमाडौंमा पाँच जनाको परिवार पाल्न निकै गाह्रो थियो,तैपनी जेनतेन पाल्नुभयो, जसरी पनि पाल्नेपर्ने वुवाको दायित्व पनि थियो ।’ यत्ति बोलिसक्दा कक्रोचको गला अवरुद्ध भैसकेको थियो ।

जिग्रीलाई जण्डिश

कुमार कट्टेल अर्थात भद्रगोलका ‘जिग्री’ का ठुलीआमाको छोरा हुनाले कक्रोच र जिग्री बिच दाजुभाईको साइनो पर्छ । होटल बेचीसकेपछि चिया उमाल्ने कामबाट छुटकारा पाएका बेला जण्डिस भएर उनको डेरामा जिग्री पुगे । ‘हामी बस्ने ठाउँमा मुलको पानी थियो, जण्डिस भको बेलमा लगातार नुहाउन र मुलको पानी खान भन्दै धुर्मुस दाईले कुमारलाई हाम्रोमा पठाईदिनुभएछ,’ कक्रोचले भने । त्यतिवेला गौशलामा लामो समय सँगै विताएका जिग्री र कक्रोचले मिलेर कलाकारीता क्षेत्रमा लाग्ने अठोट गरे । केही समय युके बसेर फर्केका कुमार कटुवाल र कक्रोच सँगै बसेर एकदिन टेलिभिजन हेरीरहेका थिए, ‘सिस्नुपानी झ्याम्मै’ भन्ने सिरीयल भर्खर शुरु भएको थियो । सिरीयल हेर्दाहेर्दै जिग्री र कक्रोचले सिस्नुपानी झ्याम्मै चलाउने मान्छेलाई भेटेर मिसिने सल्लाह गरेछन् । ‘धुर्मुस दाईले पनि सपोर्ट गर्छु भन्नुभो, हामी केही हदसम्म स्क्रिप्ट लेख्न सक्ने भैसकेका थियौं त्यसैले कलाकारीतामै हामफाल्ने निर्णय लियौं,’ कक्रोचले भने ।

पाँडे सोल्टिसँग भेट

आजभोलिका पाँडे सोल्टी अर्थात अर्जुन घिमिरेले चलाएका थिए ‘सिस्नुपानी झ्याम्मै’ । ‘पछि हामीलाई एकजना पत्रकारले उहाँसँग भेट गराउनु भयो,’ कक्रोचले भने । कक्रोच थप्दै थिए, ‘अर्जुन दाईसँग कुमार र मैले सल्लाह ग¥यौं त्यसपछि सिस्नुपानी झ्याम्मैको लेखन निर्देशन गर्ने गरी काम अगाडि बढ्यो ।’

जिग्री, कक्रोच र धतुरेजस्ता क्यारेक्टरको प्रवेशपछि सिस्नुपानी झ्याम्मै राम्रो भयो भनेर रेस्पोन्स आउन थालिसकेको थियो । तर विडवना ! आन्तरीक समस्याका कारण अठारौं भागमा पुगेपछि सिरीयल बन्द भयो । त्यतिवेलासम्म कक्रोचले चार भागमा स्लो मोशन रोल गर्न भ्याएका थिए । ‘हामीलाई त्यतिवेलासम्म कलाकारीताको नशा चढिसकेको थियो, त्यसैले मिडिया हवका सोम धितालसँग कुरा गरेर हाम्रै स्टाईलको ‘भद्रगोल’ प्रोजेक्ट शुरु गर्ने निर्णयमा पुग्यौं,’ आशावादी भावमा कक्रोच बोले ।

प्राविधीक कारणले सिस्नुपानी झ्याम्मै बन्द भएको एक बर्ष पछि शुरु भएको भद्रगोल अहिले रोकिएको छ । ‘वल्र्ड भिजन भन्ने एजेन्सी र टेलिभीजनबीच कुरा नमिल्दा यस्तो भएको हो,आशा गरौं चाँडै सुचारु हुन्छ होला ।’ कक्रोचले अर्को आशावादी भाव ब्यक्त गरे ।

ज्योतिषलाई हेराउँदा नाम जु¥यो भद्रगोल

भद्रगाोल टेलिश्रृङखलाको नाम बारे पंतिकारको जिज्ञासासँगै मुस्कुराए कक्रोच ‘यसको फेरी छुट्टै कथा छ ।’ उनले भने–‘सिपी पुडासैनी‘धतुरे’ लगायतका केही साथिहरु गएर ज्योतिषलाई हेराउँदा ‘भ’ बाट नाम राख्दा राम्रो हुने कुरो भएछ । भताभुंग,भद्रगोल जस्ता धेरै नाम रचियो लास्टमा ‘भद्रगोल’ नै उपयुक्त लाग्यो ।’harish n

अनि कक्रोचको न्वारान चाँही कसले ग¥यो ? भारतीय टिभी च्यानल जिटीभीमा आउने डान्सर राघवको टाइटल हो यो ‘कक्रोच’ । सटिक जवाफ सँगै कक्रोचले चिसो भैसकेको मिल्क टिको लास्ट सिप लिए । राघवले युनिक डान्स गर्थे,सोही डान्सको एक फर्म आजभोली नेपाली कक्रोचले पछ्याएका छन् ‘स्लो मोशन ।’

आजभोली नेपाली समाजमा कक्रोचको स्लो मोशन देखि ‘कपाल चैं हो क्या’ सम्म चर्चा हुन्छ । ‘बाटोमा हिँड्दा मान्छेले सजिलै चिनेर बोलाउँछन् ‘साङ्लो ब्रो !’ कसैले कपाल चैं हो क्या भन्छन्,निकै खुसी लाग्छ ।’ कक्रोचले पंतिकारसँग खुसी साटे ।

बलेलाई सोल्मारीमा भेटीयो

‘बले’सँग कसरी भेट भयो ? पंतिकारको प्रश्न खस्न नपाउँदै कक्रोच बोले ‘सोल्मारीमा ।’ जिग्री र मेरो पार्टनरसिप थियो,हामी सोल्मारी गैराख्थ्यौं । ‘सोल्मारी जाने टुच्च डबका हान्ने’ क्रममा अर्को टेवुलमा नयाँ मान्ेछको चिनजान हुन्छ त्यो ‘बले’ थियो । उसले हामीलाई सोधिहाल्यो ‘केछ बोरो हरु ?’

क्यारेक्टरको हिसावले एउटै ग्याङका जिग्री,बले र कक्रोच सार्वजनिक कार्यक्रममा पनी सँगै पुग्छन् । ‘आयोजक हरुले भद्रगोलको पुरै टिमलाई बोलाउँछन् तर अनेक जटिलताले त्यो संभव हुँदैन त्यसैले हामी तिन र पाँडे सोल्टी मिलेर प्रहसन गरिरहेका छौं,’ उनले भने ।

बाहिर देखावटी मात्र हैन कक्रोचका अनुसार भद्रगोलको टिम स्पिरीट पनी निकै मिलेको छ । ‘अन्य सिरीयलमा एक जनाले स्क्रिप्ट लेख्छन् तर हामी तीन जना मिलेर लेख्छौं,’ कक्रोचले भने । कक्रोच थप्दै थिए ‘तीन जनाको दिमाग एकैपटक चलाएपछी केही न केही नयाँ कुरा फुर्छ भन्दै हामी रातभर अफिसमै बस्थ्यौं ।’

कथालाई सिरीयलको मेरुदण्ड बनाएर काम गर्र्दै आएका कक्रोच र उनका टिमले आजभोलि निकै हैरानी खेप्नुपरेको छ । ‘फेसवुकमा मेसेज र फोन गरेर सवैले एउटै कुरा सोध्छन, अब कहिलेदेखि चल्छ भद्रगोल ?’उनले भने । कक्रोच थप्दै थिए ‘ब्रेक हुँदा हामीलाई नराम्रो लाग्नु स्वभाविक हो तर दर्शक छटपटाईसके, त्यसैले चाँडै चलोस् भद्रगोल,’ उनले कुनै अदृश्य शक्ति पुकारे ।

र,अन्तमा…

अन्तमा केही भन्नु छ ? पंक्तिकारको सवालमा कक्रोजले यस्तो जवाफ दिए ‘भद्रगोल अहिलेको अवस्थामा आईपुग्नुमा हामीले त मेहनत ग¥यौ–ग¥यौं,सुटिङस्पटका जनताको पनि यत्ति ठुलो सपोर्ट नगरेको भए हामी यहाँसम्म आउने थिएनौं । मैले करियरको पहिलो खुड्कीलोमा पैताला राखेको छु, संघर्षका धेरै खुड्किला पार गर्नुका लागी अझै मेहनत गर्नेछु । जसको नतिजा भद्रगोलम देखा पर्नेछ ।’ कक्रोचले अन्तिमपटक कपाल सुम्सुम्याए । यस्तोमा सँगै रहेका बले बोलिहाले ‘साङ्लो बोरोको कपाल चैं हो क्या !’

(रातोपाटीबाट साभार )

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.