भर्खरै

बोक्सी आरोपमा आमाको हत्या प्रयास : आमासहित भाउजुलाई ६ महिनादेखि यातना

  • रामहरी गजुरेल

नुवाकोट  –कथित बोक्सीको आरोपमा समाजमा परिवारभन्दा बाहिरका अन्यत्र व्यक्तिहरुमाथि थुप्रै अमानविय घटनाहरु हुँदै आएको त देखिरहेकै छौँ । तर, नुवाकोटमा भने एक छोराले आफूलाई जन्म दिने आमालाईसमेत छोडेनन् र बोक्सीको आरोप लगाउँदै हत्या गर्ने प्रयास गरेका छन् ।boksi aarop ma hatya prayas (2)

चारघरे गाविस वडा नं.–१ चैनपुरका ३८ वर्षिय साईंला भनिने सोेम बहादुर मिजारले आफ्नी ६२ वर्षीया आमा सावित्री मिजारको हत्या गर्ने प्रयास गरेका हुन् । आमा सावित्रीलाई बोक्सी, मसान र विर भन्दै छाती र पिठ्युँमा निर्धात् कुटेर करिब २५ मिटर कान्लाबाट खसालिदिएका थिए ।

कुटपिटपश्चात् कान्लाबाट खसालिएकी उनको अवस्था चिन्ताजनक भएपछि एक सातादेखि सदरमुकाम विदुरको सिटी अस्पतालमा उपचार भइरहेको छ । असार १४ गते साँझ छोरा साईंलाको आक्रमणबाट दुईदिनसम्म बेहोस् हुनपुगेकी थिइन् । साथै बायाँ हातको पाता नचल्ने र छातीमासमेत गम्भिर चोट लाग्न पुगेको अस्पतालले जनाएको छ ।

चिकित्सकका अनुसार लामो उपचारपछि सावित्रीको स्वास्थ्यमा सुधार त आएको छ । तर, स्वास्थ्यमा सुधार आएतापनि घटनापछि मानसिक रुपमा भने समस्या देखिएको परिवारले जनाएको छ । ‘बेला–बेलामा बर्बराउने, कराउने र एकोहोरो टोलाउने गर्नुहुन्छ, जेठा छोरा कृष्ण बहादुरले भने, ‘आफैँले जन्माएको छोराले बोक्सी भन्दै यसरी मार्न खोज्यो । तर आमा त बाँच्नुभयो । यसकै कारण होला, उहाँमा शारिरिक चोटसँगै मानसिक चोट थपिएको छ ।’

उनले त्यसबेला आमासँगै आफ्नी जेठी भाउजु ३५ वर्षीया फुलमायाँमाथि समेत आक्रमण गरेका थिए । ‘म त्यस दिन गाउँमा गएको थिएँ, मेरी श्रीमती बलिई थिई भाग्न भ्याईछ, उपचारका लागि आमालाई बोकेर अस्पतालमा आएका कृष्णबहादुरले घटनाको बेलिविस्तार लगाउँदै भने, ‘आमा उमेरले पनि बुढी मान्छे, असक्त हुनुहुन्थ्यो । कुट्दाकुट्दै आमा बेहोस् भएपछि मरीसकी भनेर उसले कान्लाबाट घचेटिदिएछ ।’

कृष्ण बहादुरकी श्रीमती अर्थात् सावीत्रीकी जेठी बुहारी फुलमायाँले बताएअनुसार असार १४ गतेको साँझमा उनी खाना खाइवरी भाँडा माझ्दै थिइन् । घरमा दाजुहरु कोही नभएको मौका पाएपछि साईंलाले भाउजु फुलमायाँलाई अश्लिल गाली गर्दै कुटपिट गर्न थाले । त्यो देखेर आमा सावित्रीले किन पिटेको भन्दै छेक्न पुगेकी थिइन् ।

‘मलाई हातपात गरेको देखेर आमा छेक्न आउनुभएको आमालाई कुट्न आइलाग्यो, फुलमायाँले भनिन्, ‘तँ बोक्सी विर भएर हामीलाई खान खोज्न उसलाईचाहिँ बचाउन आएकी भन्दै छाती र हातको पातामा लगातार मुट्कीले हानिरह्यो ।’ आफू भागेर ज्यान जोगाएको बताउँदै उनले घटनाबारे थप कुरा भनिन्, ‘कुट्दाकुट्दै पछि म आइपुग्दा त आमा बेहोस् भइसक्नुभएछ । मरीसकी होला भन्ठानेर उसले कान्लाबाट घचेटेर फालिदिएपछि हामीले आमालाई उठाएर अस्पताल ल्यायौँ ।’

गाउँलेहरुका अनुसार यसअघि पनि सोेम बहादुरले आमा र भाउजुलाई अश्लिल गाली गर्दै शारिरिक र मानसिक रुपमा ६ महिनाअघिदेखि नै यातना दिँदै आएका थिए । एकमहिनाअघि भाउजु फुलमायाँलाई उनले कुटपिट गरिसकेका थिए ।

‘म मेरा सबै छोराछोरी सन्ताल लिएर धर्म भाक्न सक्छु, उसले के–के सम्म गरिसकेको छ भनेर’, फुलमायाँले आँशु झार्दै भनिन् । स्थानिय छिमेकीहरु पनि भन्छन्, ‘सोमबहादुर पहिलेदेखि नै उच्छृङ्खल गतिविधी गर्दै आइरहेको मान्छे हो, प्रहरीले पक्रेर लैजाँदासमेत ऊ सुध्रेन ।’

तीन महिनाअघि पनि आमा र भाउजु दुवैलाई कुटपिट गरेपछि तीन दाजुभाईहरु कृष्ण बहादुर, हेम बहादुरलगायतले प्रहरी चौकी देविघाटमा जीउज्यानको सुरक्षाको माग गर्दै उजुरी गरेका थिए । प्रहरीले पनि आइन्दा कुटपिट र गालीगलौज नगर्ने लिखित सर्तमा छोेडेका थिए । अहिलेको घटनापछि पुनः कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दिएको परिवारले जानकारी दिएको छ ।

साभार : रातोपाटी