भर्खरै

बिरामी जाँच गर्नी चिकित्सक देखि घरका गृहिणीसम्म जग्गाको दलाली

फाेटाे

चितवन, भदौ ५ – व्यापार व्यवसायमा लगानी गर्नुपर्ने पुँजी जग्गाको कारोबारमा केन्द्रीत हुन थालेपछि व्यापार व्यवसायमा नकारात्मक प्रभाव पर्ने देखिएको छ । नयाँ उद्योग चलाउने, व्यापार गर्ने व्यवसायी जग्गा प्लटिङमा केन्द्रीत छन् भने श्रम गर्ने श्रमिक जग्गा देखाएकै भरमा कमिसन पाउने भएपछि श्रम छाडेर जग्गा व्यापारको दलालीमा लागेका छन् ।

यसबाट यहाँको अर्थतन्त्रमा दीर्घकालीन नकारात्मक प्रभाव पर्ने निश्चित छ । सबै पेसा तथा व्यवसायका व्यक्तिको अहिलेको प्रमुख व्यवसाय जग्गा किनबेच बनेको छ । व्यापारीले साहुलाई उधारो तिर्न बाँकी राखेर जग्गा किन्ने गरेका छन् ।

जग्गाको मूल्य खस्किए वा कारोवार घटेमा व्यापार व्यवसाय चौपट हुने देखिन्छ । अधिकांश व्यापारी जग्गामा केन्द्रीत हुँदा उद्योग र व्यापार खस्किएको छ भने व्यापारको आर्थिक सन्तुलन बिग्रिएको छ ।

बिरामी जाँच्ने चिकित्सकदेखि घरका गृहिणीसम्मको पेसा जग्गाको कारोबार बनेको छ । डाक्टरले व्यापारी परिचालन गरेर आफ्नो पैसा जग्गामा लगानी गरिरहेका छन् भने गृहिणी जग्गा देखाएर कमिसन लिइरहेका छन् ।

उद्योग परिसङ्घका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी सरकारले तत्काल नीति ल्याएर जग्गा खण्डिकरण रोक्न नसके समग्र अर्थतन्त्र धरासायी हुने बताए ।

जमिनमा भएको लगानी न्यूनीकरण नगरेसम्म नयाँ उद्योग नखुल्ने र व्यवसाय नहुने हुँदा परनिर्भरता बढ्ने अधिकारीको भनाइ छ । “सरकारको नीति आउनु प¥यो, खेतीयोग्य आवास र औद्योगिक क्षेत्र छुट्टिनु परयो,”  अधिकारीले बताए ।

सहज आम्दानी जहाँ छ त्यहाँ लगानी गर्नु स्वभाविक भए पनि सरकारले नियन्त्रण गर्न नसक्दा समस्या आएको छ ।

उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष राजन गौतम जग्गाको कारोबारले उद्योगधन्दा, कलकारखाना र व्यवसाय प्रभावित बनेको बताए । ठूला लगानीकर्ताले जग्गामा मात्र लगानी सुरक्षित देख्न थालेपछि उद्योग खोल्ने, विस्तार गर्ने र व्यापार गर्न छाडेका छन् ।

व्यापार व्यवसायमा प्रशासनिक झन्झटका कारणले पनि लगानीकर्ताले छिटो प्रतिफल आउने हुँदा जग्गाको व्यवसाय रोजेको गौतमले बताए ।

जग्गा देखाउँदैमा पैसा पाउने भएपछि श्रम बजार अस्तव्यस्त बनेको बताउँदै गौतमले भने “वर्षमा एउटा जग्गा देखाए वर्षभरिको तलब आउँछ भने कसले काम गर्ने रु”
जग्गाको कारोबार हुनुहुँदैन भन्ने आफ्नो भनाइ नरहेको भन्दै गौतमले सरकारको प्रष्ट नीति हुनुपर्छ, जसले यो व्यवसायलाई पनि व्यवस्थित गरोस् र पुँजी बजार दुर्घटनामा नपरोस् ।

यस क्षेत्रको रकम अन्यत्र सर्दा यसले नकारात्मक असर पार्ने भन्दै गौतमले उधारोलाई पनि पुँजी मानेर बजार चलाएमान अवस्थामा छ, यसले अरु व्यवसायलाई नराम्रो धक्का पु¥याउँछ भने ।

पोल्ट्री व्यवसायी गुणचन्द्र विष्ट राज्यको नीति नहुँदा लगानीकर्ताले उद्योग व्यवसायभन्दा जग्गाको कारोबार रोजेको बताउनुहुन्छ ।

दीर्घकालीन रुपमा यो हानिकारक भए पनि यस विषयमा सरकारले सोच्न नसकेको विष्टको तर्क छ ।

“जुन अनुपातमा मूल्य बढ्नुपर्ने हो त्यो भएको छैन, यसले दीर्घकालीन प्रभाव पार्छ,” विष्टले भने।

सरकारले उद्योग, कलकारखानाका लागि ठाउँ छुट्याउनु पर्ने हो, त्यसो हुन नसकेको भन्दै विष्टले नेपालमा उद्योग कलकारखानाप्रति सरकार, समाज र दल कोही पनि सकारात्मक नरहेको बताए ।

चार्टर्ड एकाउन्टेन्ट किशोर बास्कोटा जग्गा सम्बन्धी नीति सरकारले ल्याउन नसक्दा समग्र यसले प्रभाव पारेको बताए ।

“जनताले सोचेर हुँदैन, यो सरकारले सोच्ने कुरा हो,” उहाँले भन्नुभयो । उद्योग चलाउने र खेती गर्ने ठाउँ अहिले प्लटिङ भइरहेको भन्दै उहाँले यसले दीर्घकालीन प्रभाव पार्ने बताए ।

व्यावसायिक र कृषि भूमिको रुपमा जग्गालाई छुट्याउन नसक्दा दीर्घकालीन रुपमा उद्योग कलकारखाना गर्ने ठाउँको अभाव हुने बास्कोटाको भनाइ छ ।

वीरेन्द्र बहुमुखी क्याम्पसका अर्थशास्त्रका सहप्राध्यापक सूर्यनारायण पौडेल सरकार सबै क्षेत्रलाई नगरपालिका बनाएर घर बनाउन चाहन्छ, जनताले प्लटिङ नगरे के गर्ने रु भन्ने प्रश्न गरे । पौडेलले भने“सरकारको नीति प्रष्ट छैन । जसका कारण दीर्घकालीन असर हुन्छ ।”