भर्खरै

स्वास्थ्यमन्त्री गगन थापाले दिए सयदिने कार्ययोजना पेस गर्न निर्देशन

gagan thapa

काठमाडौं, भदौ १५  । स्वास्थ्यमन्त्री गगनकुमार थापाले एक हप्ताभित्र कार्यतालिकासहितको सयदिने कार्ययोजना पेस गर्न मन्त्रालय मातहतका महाशाखाका प्रमुखलाई निर्देशन दिएका छन् ।

मंगलबार स्वास्थ्य सेवा विभाग टेकुमा विभिन्न महाशाखाका प्रमुखसँग भेट गरी उनले छोटो समयमा स्वास्थ्य क्षेत्रमा उपलब्धिमूलक काम गर्नुपर्ने भएकाले कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् ।

विभागका महानिर्देशक डा. पुष्पा चौधरीले विभागको गतिविधिकाबारेमा मन्त्री थापालाई जानकारी गराएकी थिइन् ।जानकारीपछि मन्त्री थापाले आपूर्ति महाशाखा, स्टोर र बिमा कार्यक्रमको कार्यलयको निरीक्षण पनि गरेका थिए ।

सोमबारदेखि मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखसँग काम–कारबाहीबारे ‘ब्रिफिङ’ सुरु गरेका थापाले सोमबार अनुगमन, चिकित्सक र योजना महाशाखाका प्रमुखसँगको ब्रिफिङ सुनेपछि सोही निर्देशन दिएका थिए ।