भर्खरै

गगन थापा मार्फत प्रचण्डलाई गंगामायाको संदेश : कि माग पूरा गर कि मर्न देऊ

१६ भदौ, काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले आमरण अनसनरत गंगामाया अधिकारीलाई भेटेका छन् ।

बिहीबार मुलुककै जेठो अस्पताल वीर अस्पतालको निरीक्षणमा गएका मन्त्री थापाले पुरानो आइसीयु कक्षमा १८ दिनदेखि आमरण अनसनमा रहेकी अधिकारीलाई भेटेका हुन् ।

गंगामायाले प्रधानमन्त्री समक्ष पुर्‍याइदिन भन्दै मन्त्री थापालाई आफ्नो सन्देश सुनाइन् । उनले भनेकी छन्, ‘यदि प्रधानमन्त्री एउटा पार्टीको प्रधानमन्त्री हो भने मेरो भन्नु केही छैन । राष्ट्रको प्रधानमन्त्री हो भने मैले कुनै राज्यको कोषबाट केही माग्न अनशन बसेको हैन । छोराको हत्यारालाई कारवाही गरेर न्याय पाउनुपर्छ भन्ने मेरो माग हो, त्यो पुर्‍याइदिनुस् ।’

उनले अघि भने, हैन भने मेरो मर्न पाउने अधिकार हो, मैले यही मर्न पाउनु पर्छ, यो सन्देश प्रधानमन्त्री समक्ष पुर्‍याइदिनुस् ।’

जवाफमा स्वास्थ्यमन्त्री थापाले बिहीबार नै मन्त्रिपरिषद् बैठक रहेको भन्दै सन्देश प्रधानमन्त्रीसमक्ष पुर्‍याइदिने बताए ।

आफ्ना छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गंगामाया अनसनरत छिन् । अनसनकै क्रममा उनका पति नन्दप्रसादको केही वर्ष पहिले निधन भएको थियो ।

सरकारले अनुसन्धान प्रक्रिया अघि बढाएपछि गंगामायाले आमरण अनसन तोडेर झोल कुरा मात्र खान थालेकी थिइन् । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि उनले फेरि अनसन थालेकी छन् ।