भर्खरै

न्यूनतम पारिश्रमिक लागू गराउन सरकारलाई दबाब दिइने

काठमाडौँ, असोज ११ । नेपाल प्रेस युनियन काठमाडौँले पत्रकारको न्यून पारिश्रमिक लागू गराउन सरकारलाई दबाब दिने भएको छ । शाखाका अध्यक्ष नकुल अर्यालका अध्यक्षतामा आज बसेको बैठकले कतिपय सञ्चारमाध्यममा अझै पनि न्यूनतम पारिश्रमिक लागू नगरेको जनाउँदै सरकारलाई दबाब दिन लागिएको हो । बैठकले राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायत स्थानमा समाचार सङ्कलनमा जाँदा सञ्चारकर्मीले झेल्नुपरेको समस्याप्रति आपत्ति जनाउँदै उक्त स्थानमा समाचार सङ्कलनलाई सहज बनाउन माग गरेको छ ।

बैठकले दसैँतिहारको शुभकामना आदानप्रदान गर्नका लागि कार्यक्रम गर्ने, युनियनका सदस्यलाई यथाशक्य छिटो परिचयपत्रको व्यवस्था गर्ने र नियुक्तिपत्र नदिने सञ्चारमाध्यमलाई नियुक्तिपत्र दिन दबाब दिने निर्णय गरेको शाखाका सचिव महेश्वर गौतमले जानकारी दिनुभयो ।