भर्खरै

४८ वर्षदेखि मुग्लिनमा भात बेच्ने आमा

मुग्लिनबजार, १८ असोज – होटलै होटलले भरिएको ब्यस्त मुग्लिनबजार । बजारको बीच भागमा एउटा सफा सुग्घर थकाली होटल । होटलमा छोरा, बुहारी साथमा लिएर होटल चलाइरहेकी ७२ बर्षीया एक सक्रिय महिला पदमकुमारी थकाली ।
२०२६ साल, जतिबेला मुग्लिनमा एक, दुई होटल मात्र थिए, त्यही बेलादेखि भात बेच्दै आएकी उनीसंग मुग्लिन बजारको इतिहास छ । दुख गरेर कमाएको सुखमा अहिले रमाइरहेकी छन् , अन्नपूर्ण पोस्टमा खबर छ ।

‘बिहानदेखिको भात पकाउनेले पका’को पकाकै, दिनेले दिएको दिएकै, भाँडा माझ्नेले माझेको माझेकै । चुल्है खालि हुन्नथ्यो, हातै खालि हुन्नथ्यो । बेलुका पाँच छ बजेतिर मात्र बल्ल हाम्रो भात खाने पालो आउथ्यो ।’ होटल बजार भनेर चिनिने मुग्लिन बजार भर्खर स्थापना भएदेखि भात बेच्दै आएकी ७२ बर्षीया पदमकुमारी थकालीको सम्झना हो यो । उनी जब ती दिन सम्झन्छिन् अनि बुढ्यौली मुहारमा फेरि जवानी फर्किन्छ । तेजिली देखिन्छिन् ।

उत्साहित बन्छिन् र भन्छिन् ‘त्यो बेलाको जस्तो ब्यापार र अहिलेको जस्तो पैसा भइदिएको भए !’ अरुलाई खुवाएरै अघाउने उनको अनुभव सुनाउँदै भन्छिन् ‘बिहानको चियामा मात्रै तीन पाथी चिनी सकिन्थ्यो तर आफूलाई एक कप चिया खाने फुर्सद हुन्थेन । तर के गर्ने सादा भातको दुई रुप्पेँ, मासु भातको तीन रुप्पेँ । एक कप चियाको पाँचपैसा पनि थिएन ।’

त्यतिबेला प्यासेन्जरसंग दुई रुपियाँ लिए ड्राइभरसंग तीन मोहर लिन्थे । तर अहिले ड्राइभरसंग पैसा लिनु त परको कुरा उल्टै एक पटकको हजार रुपियाँ टिप्स दिनु पर्ने ब्यबस्था छ । ‘त्यो एक हजार कसरी आउँछ ? खानाको क्वालिटी घटाउने त हो नि, कि पैसा बढि लिनु पर्‌यो । मर्का प्यासेन्जरलाई त हो नि’ उनी भन्छिन् ‘तिनीहरु (बस लाग्ने होटलहरु) धोती न टोपी हुन्छन्’ आफूले कहिल्यै ड्राइभरलाई टिप्स नदिएको भन्दै उनले अहिले आफ्नो होटलमा बस लाग्न छाडेको सुनाउँछिन् ‘अहिले हाम्रो होटलमा बस लाग्दैन । आए नि आओस्, नआए नि नआओस् हामी त प्यासेन्जरलाई ठगेर ड्राइभरलाई पैसा दिन्नौं । पुराना ग्राहकहरु चाहिँ खोज्दै खोज्दै आउँछन् । खुशी लाग्छ ।’

मुग्लिनबाट नारायणगढ बाटो खुलेको थिएन । पोखरा जाने सडकमा त्रिशुलीमाथि मोटरेबल पुल थिएन । काठमाडौंबाट आएको बस मुग्लिनमा रोकिन्थ्यो । पोखराबाट आएको बस पारि नै रोकिन्थ्यो । मान्छेहरु डुङ्गा तरेर वारिपारि गर्थे अनि बस चढ्थे ।
२०२६ सालतिर हो उनी मुस्ताङबाट मुग्लिनमा आएको । घर सल्लाह गरेर उनको पति पत्नी चितवन आएका थिए । त्यतिबेला उनी २२ बर्षकी थिइन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.