भर्खरै

प्रहरी चौकीमै थुनेर ५ प्रहरी जलाउने प्रयास , ४ वटा मोटरसाइकलमा आगजनी

२६,मङ्सिर । ट्याक्सी चालकको शंकास्पद मृत्युका कारण उत्पन्न विवादमा गोकर्णेश्वर-१३ नयाँ बस्तीमा एक समूहद्वारा प्रहरी चौकीका सईसहित ५ जनालाई पेट्रोल छर्केर आगो लगाउने प्रयास गरिएको प्रहरीले जनाएको छ।

दोलखा चरिकोट घर भई नयाँबस्ती बस्दै आएका ३६ वर्षीय राजकुमार लामाको शंकास्पद मृत्युपछि आक्रोशित स्थानीयले आइतबारबिहानै प्रहरी चौकी आक्रमण गरेका थिए।

प्रहरीले हिरासतमा लिएर कुटपिट गर्दा लामाको मृत्यु भएको स्थानीयको आरोप छ।गौशालाका डिएसपी नवराज कार्कीले भने उपचार क्रममा मेडिकल कलेज अत्तरखेलमा उनको मृत्यु भएको दाबी गरे।ट्याक्सी चालक लामा बेहोस अवस्थामा सडकमा फेला परेको र उनलाई स्थानीयले नै अस्पताल लगेको पनि कार्कीले जानकारी दिए।

‘उनले चलाउने बा२झ २२३ नम्बरको ट्याक्सी उनी लडेको भन्दा केही पर ठोक्किएको अवस्थामा समेत फेला परेको थियो,’ उनले भने, ‘यो केसमा प्रहरी कहीँकतैबाट पनि जोडिँदैन तै पनि हामीमाथि आक्रोश पोखेर स्थानीयले चौकी तोडफोड गर्नु दुखद कुरा हो।’स्थानीय भने प्रहरीको भनाइसँग असहमत छन्।

उनलाई मापसेकै निहुँमा नियन्त्रणमा लिइएको एक स्थानीयले बताए। प्रहरी हिरासतमै उनलाई कुटपिट गर्दा घाइते भएको र अस्पताललगिएको पनि स्थानीयको आरोप छ। मृतकका आफन्तले पनि लामालाई प्रहरीले नियन्त्रण लिएको र उनको हिरासतमै मृत्यु भएको आरोप लगाएका छन्।

आक्रोशित भीडले प्रहरी चौकी बाहिर रहेका सुरक्षाकर्मीलाई कुटपिट गर्दै चौकीभित्र रहेका सई संजीव नापित र ५ जनालाई बाहिरबाट घेरेर पेट्रोल छर्केको डिएसपी कार्कीले दाबी गरे। उनका अनुसार आक्रमणकारीले चौकी अगाडि रहेका ४ वटा मोटरसाइकलमा आगो लगाएका छन्। प्रहरीले चौकीबाट निस्केर दर्जनौं हवाइ फायर गरेको थियो।

चौकी वरपर रहेका स्थानीयले खबर गरेपछि बौद्ध र गौशालाबाट गएको थप टोलीले चौकी आक्रमण गर्न पुगेकालाई तितरवितर गरेको थियो।आक्रमण गर्नेले प्रहरी चौकीका सिसा, झ्याल ढोका, गमला, टिभी, कुर्सी तोडफोड गरेका छन्।प्रहरीले केही मानिसलाई नियन्त्रणमा समेत लिएको छ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.